४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

पोखराको ‘ल्याण्डफिल साइट’ पस्मराङमा सारिने

स्थानिय विरोधमा

पोखरा महानगरपालिकाले हालको ल्याण्डफिल साइट महानगरपालिकाको उत्तरपूर्वी क्षेत्र पस्मराङमा सार्ने भएको छ। महानगरपालिकाको हालै बसेको कार्यपालिका बैठकले हाल पोखरा–१४ बाच्छेबुडुवामा रहेको ल्याण्डफिल साइट पोखरा–१६ र २० को बीचमा पर्ने पस्मराङमा सार्ने निर्णय गरेको हो।

हालको ल्याण्डफिल साइट अन्तर्राष्ट्रिय उडान रुटमा पर्ने भएपछि त्यसलाई सार्न महानगरले अध्ययन समिति बनाएको थियो। पोखरा–१६ का अध्यक्ष जीवन आचार्यको संयोजकत्वमा ११ का अध्यक्ष मोहन बाँस्तोला र प्राविधिक सम्मिलित अध्ययन समितिको सिफारिसका आधारमा पस्मराङलाई उपयुक्त ठहर्‍याईएको हो।  अध्ययन समितिको सिफारिसमा महानगरपालिकाको कार्यपालिका बैठकले ल्याण्डफिल साइट सार्ने निर्णय गरेको महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए।

ल्याण्डफिल साइट बनाउने भनिएको ठाउँ निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल भन्दा झण्डै १७ किलोमिटर टाढा पर्छ। वडा १६ र २० को बिचमा पर्ने यो ठाउँ अर्मलाकोटबाट दक्षिणतर्फ देखिने ठूलो भीर हो। जसको वरीपरी डाँडा र बिचमा समथर खोँच छ। मानव बस्ती नभएको ठाउँ भएकाले पनि ल्याण्डफिल साइटका लागि उपयुक्त ठहर गरिएको महानगरपालिकाका प्रवक्ता नेपालीले बताए। ‘हाल बस्ती नि छैन, भोलि सहरीकरण हुने खालको ठाउँ पनि होइन, त्यसैले यसलाई उपयुक्त ठहर गर्‍यौं,’ उनले भने। निर्माणाधीन पोखरा एयरपोर्टबाट कम्तिमा १० किलोमिटर टाढा हुनुपर्ने मापदण्ड समेतलाई ध्यानमा राख्दा उपयुक्त लागेको उनको भनाई छ।

पोखराको उत्तरपूर्वी क्षेत्रमा रहेको र उचाईमा पनि भएकाले पछि फोहोरको थुप्रो बढ्दै जाँदा त्यसको दुर्गन्ध पोखरासम्म आईपुग्छ कि भन्ने आशंका गरिएको छ। अर्कोतर्फ यो ठाउँ लेक भएकाले वर्षा धेरै भएको अवस्थामा बगेर आउनसक्ने समस्या पनि देखिनसक्ने प्राविधिकहरु बताउँछन्। स्थानियले भने आफूहरुको पानी खाने मूल सोहि क्षेत्रमा भएकाले ल्याण्डफिल साइट सार्न नदिने बताएका छन्। 

पोखरा २० का वडाध्यक्ष सीम गुरुङले त्यहाँ पोखरा २० का जनताले पानी खाने ५/६ वटा मूल भएको र ल्याण्डफिल साइट त्यहाँ राख्दा उक्त मूल मासिनुका साथै दुषित हुने बताए। जसका कारण आफ्ना वडाबासी काकाकुल बन्नसक्ने उनको भनाई छ। वडाध्यक्ष गुरुङले स्थानीयको सहमति बिना ल्याण्डफिल साइट सार्न नदिने बताए। आफूसँग अध्ययन समितिले कुनै छलफल पनि नगरेको भन्दै उनले भने, ‘वडाध्यक्ष र जनताको सहमति नलिई गरिएको सिफारिस मान्य छैन। यो प्रस्तावमा मेरो असहमति छ। विकासका काममा आफ्नो सहमति भए पनि बिना जानकारी ल्याण्डफिल सार्दा त्यसले पार्न सक्ने प्रभावबारे महानगरले नसोंचेको उनको टिप्पणी छ।

‘हामी पनि विकास विरोधी होइनौं, पोखरामा जहाज आउनुपर्छ भन्ने पक्षमै छौं। तर वडाबासीलाई काकाकुल बनाएर ल्याण्डफिल साइट बनाउन दिदैनौं,’ उनले भने। उनले जबरजस्ती ल्याण्डफिल साइट सार्न खोजे त्यसको विरोधको नेतृत्व आफू गर्न तयार रहेको उनले चेतावनी दिए। स्थानियलाई खुशी पारेर काम अघि बढाउन भने सकिने उनको भनाई छ।

पोखरा महानगरपालिकाका प्रवक्ता नेपालीले उच्च प्रविधिको प्रयोग गरेर ल्याण्डफिल साइट बनाइने भएकाले चुहिने, दुर्गन्ध फैलिने सम्भावना नरहने दाबी गरे। उनले भने, ‘प्रविधिको प्रयोग गरेर बनाइने यो पूर्ण रुपमा सुरक्षित हुन्छ, दुर्गन्ध फैलिने, चुहिने भन्ने त कुरै हुँदैन।’

 यसअघी ल्याण्डफिल साइट सार्ने भनिएको पस्मराङमा महानगरले छाडा चौपाया लगेर राखेको थियो। छाडा चौपाया लैजान स्थानियले विरोध गरेपछि महानगरले बाटो बनाईदिने, मलमूत्रको ब्यबस्था गर्ने लगायतका प्रतिबद्धता जनाएको थियो। तर सो ब्यबस्थापन नगर्दा स्थानियले मलमूत्र मिसिएको पानी खान बाध्य भएकाले पनि यसपटक ल्याण्डफिल साइटको विरोध गरेको बताइन्छ। वडाध्यक्ष गुरुङले भने, ‘अगुल्टोले हानेको कुकुर बिजुली चम्किदा तर्सिन्छ’ भनेजस्तै अहिले स्थानीयलाई त्यस्तै भएको छ।’

कार्यपालिका बैठकमा ल्याण्डफिल साइटबारे निर्णय गर्ने प्रस्ताव आएपछि वडाध्यक्ष गुरुङले विरोध गरेका थिए। त्यसपछि नेपाली कांग्रेस र नेकपा एमालेका सचेतकहरु र प्रमुख प्रशासकीय अधिकृतले स्थानीयसँग अन्तरक्रिया गरेर प्रभावित क्षेत्रका नागरिकलाई खुसी पार्ने जिम्मा लिएका थिए। महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बराल स्थानियको सहमतिबाटै ल्याण्डफिल साइटको काम अघि बढ्ने बताउँछन्। स्थानियसँग सहमतिका लागि चाँडै छलफल गरिने उनले बताए।

प्रकाशित: ७ कार्तिक २०७८ १०:१७ आइतबार

पोखरा महानगरपालिका ल्याण्डफिल साइट