१६ चैत्र २०८० शुक्रबार
समाज

फोहोरलाई मोहर बनाउँदै नगरपालिका

बढ्दो शहरीकरणसँगै दिसाजन्य फोहोर व्यवस्थापनमा सास्ती भोग्दै आएको वीरेन्द्रनगर नगरपालिकाले त्यहीँ फोहोरबाट मोहर बनाउन थालेको छ। वीरेन्द्रनगर बजारदेखि तीन किलोमिटर टाढाको तारेभीरमा सञ्चालन आएको प्रशोधन केन्द्रमार्फत नगरपालिकाले दिसाजन्य फोहाेरलाई मल बनाएर बिक्री गर्न थालेको हो। एक करोड ९७ लाख रूपैयाँमा बनेको दिसाजन्य फोहाेर प्रशोधन केन्द्रको प्रशोधन क्षमता प्रतिदिन १० घनमिटर छ।  

दैनिक ५० घनमिटर दिसाजन्य लेदो र २.५ मेट्रिकटन ठोस फोहोर प्रशोधन हुने गरी प्रशोधन केन्द्र निर्माण गरिएको छ। नेदरल्याण्ड विकास सहयोग एसएनभीले निर्माण गरेको प्रशोधन केन्द्र वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण गरिएको छ।

एसएनभीका सरसफाई विभाग निर्देशक सुनेत्रा ललाले दिसाजन्य लेदो व्यवस्थापन गर्न प्रशोधन केन्द्रले सघाउ पुर्‍याउने बताइन्। ‘शहरी क्षेत्रका लागि दिसाजन्य लेदो व्यवस्थापन प्रमुख चुनौति हो,’ उनले भनिन्, ‘अब प्रशोधन केन्द्रमार्फत दिसाजन्य फोहाेरको व्यवस्थापन मात्रै नभएर यसबाट नगरपालिकाले आम्दानी पनि गर्नेछ।’

वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले दिसाजन्य लेदो व्यवस्थापन नगरपालिकाको महत्वाकांक्षी योजना रहेको बताए  ‘प्रशोधन केन्द्र नहुँदा राजधानी शहरको दिसाजन्य लेदोको व्यवस्थापन नगरपालिकाका लागि चुनौतिपूर्ण बनेको थियो,’ उनले भने, ‘अब भने यसलाई नगरपालिकाको दीर्घकालिन आन्दानीको स्रोत बनाउन सफल भएका छौं।’

शहरबाट निस्कने दिसाजन्य लेदो ट्याङ्करमार्फत सिधै प्रशोधन केन्द्रमा पुग्छ। प्रशोधनपछि झोल पदार्थलाई सुकाउनका लागि दुई वटा बगैंचा निर्माण गरिएका छन्। ‘बगैँचामा सुकेको लेदोलाई मल बनाएर बिक्री गर्ने तयारीमा हामी छौं,’ उनले भने, ‘यसले फोहाेर व्यवस्थापन मात्रै भएको छैन, मल बिक्री गरेर आम्दानी पनि हुनेछ।’ उनले दिसाजन्य फोहाेर व्यवस्थापन गरेजस्तै ठोस फोहोर व्यवस्थापनका लागि पनि काम भइरहेको बताए।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले प्रशोधन केन्द्रको दीर्घकालीन सञ्चालनका लागि काम भइराखेको बताए। ‘अहिले दिसाजन्य फोहाेर व्यवस्थापन गर्नका लागि तीन जना जनशक्ति तयार गरेर काममा लगाएका छौं,’ उनले भने, ‘फोहाेर पनि व्यवस्थापन हुने र आम्दानी पनि हुने भएकाले ठोस फोहाेरको पनि प्रशोधन तयारीमा लागेका छौं।’

नगरपालिकाका प्रशासन अधिकृत तथा सरसफाई फोकल पर्सन प्रकाश पौडेलले प्रशोधन केन्द्रमा तयार गरिएको कम्पोष्ट मल बिक्री–वितरणको तयारी भइरहेको बताए। ‘मासिक कति मात्रामा मल उत्पादन गर्न सकिन्छ त्यसको तथ्याङ्क संकलन गर्छौं,’ उनले भने, ‘त्यहीँ अनुसार जनशक्ति र बजारिकरणको रणनीति बनाउँछौं।’

प्रकाशित: १६ आश्विन २०७८ ११:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App