२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

राउटे समुदायलाई चामल

इलामको श्रीअन्तुबाट मुगुको रारातालसम्म साइकल यात्रामा निस्केको विश्व साइकलयात्री पुष्कर शाह नेतृत्वको टोलीले जंगलमा फिरन्ते जीवन बिताउने लोपोन्मुख राउटे समुदायलाई खाद्यान्न सहयोग गरेको छ। साइकल यात्रासँगै राउटेलाई राहत उपलब्ध गराउन ‘एक किलोमिटर एक किलो चामल’ अभियान सञ्चालन गरेको टोलीले सल्यानको सल्लीबजारनजिकै बस्दै आएका राउटे समुदायलाई खाद्यान्न उपलब्ध गराएको हो।

‘काठका भाँडावर्तन बनाएर गुजारा चलाउने राउटे समुदाय दसैंको मुखमा खाद्यान्न जोगो गर्न नसकेर समस्यामा रहेको जानकारी पाएपछि इलामबाटै एक किलोमिटर एक किलो चामल अभियान सुरु गरेका थियौं,’ विश्व साइकल यात्री शाहले भने, ‘सुर्खेत पुग्दासम्म करिब ५० हजार रूपैयाँ जम्मा भएको थियो, त्यसैमार्फत खाद्यान्न खरिद गरेर राउटे समुदायलाई हस्तान्तरण गरेका हौं।’ 

पुष्करसँगै साइकल यात्रामा ७० जनाको टोली छ। वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीको रोहबरमा नेपाल साइकल यात्राको टोलीले राउटे मुखिया दिलबहादुर शाहीलाई अभियानबाट संकलन भएको रकममार्फत खाद्यान्न खरिद गरेर हस्तान्तरण गरेको थियो। ‘बाटोमा धेरैले राउटे समुदायका लागि सहयोग गर्न खोज्नुभएको थियो, वाचा गरेको जति सहयोग हामीले ल्याउन सकेनौं,’ शाहले भने।

कोरोना कहरका कारण राउटे समुदाय आफ्नो पेसाबाट विमुख हुँदै गएको छ। काठबाट कोसी, मधुसलगायत सामग्री बनाउने र त्यसैलाई बिक्री गरेर गुजारा चलाउने यो समुदाय जंगलमा काठ काट्न नपाउँदा र सहर घुम्न नपाउँदा समस्यामा छ। राउटे मुखिया दिलबहादुर शाही दसैंका लागि खाद्यान्न पाउँदा खुसी छन्।

प्रकाशित: १५ आश्विन २०७८ ०३:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App