२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

ज्येष्ठ नागरिक सम्मानित

राजसती सहकारी संस्थाको साधारणसभामा ज्येष्ठ नागरिकलाई सम्मान गर्दै प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी। तस्बिर: चुमन बस्नेत/नागरिक

मोरङको बुढीगंगास्थित राजसती महिला बहुउद्देश्यीय सहकारी संस्थाले ७१ जना ज्येष्ठ नागरिकसहित ९१ जनालाई सम्मान गरेको छ। 

संस्थाले आफ्नो २१ औं वार्षिक साधारण सभामा शेयर सदस्य परिवारका ७५ वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकहरू, ६५ वर्ष नाघेका शेयर सदस्य र एकल महिला शेयर सदस्य गरी ९१ जनालाई सम्मान गरेको हो। उनीहरूलाई प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले दोसल्ला ओढाएर सम्मानित गरेका थिए।  

साधारणसभा उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रदेश प्रमुख प्यासीले सहकारीले मुलुकको अर्थनीतिमा प्रत्यक्ष प्रभाव पारेको बताए। सहकारीकी अध्यक्ष तारादेवी राईले सहकारीमा हाल ९ सय २ जना महिला सदस्य आबद्ध रहेको बताइन्। उनले विभिन्न ४३ वटा समूहमार्फत बचत तथा ऋण परिचालन भइरहेको जानकारी दिइन्। 

प्रतिव्यक्ति पाँच सयका दरले रकम संकलन गरी २१ वर्षअघि बुढीगंगामा स्थापना भएको यस सहकारी संस्थाले हाल एक करोड १२ लाख रूपैयाँ पुँजी पुर्‍याएको छ। २०५७ सालमा स्थानीय ४४ जना महिला संगठित भई महिला क्षेत्रमा मात्र काम गर्नेगरी २२ हजार रूपैयाँ लगानी गरी उक्त सहकारीको स्थापना गरेका थिए। 

सहकारीले गत आर्थिक वर्षमा १३ करोड रूपैयाँको कारोबार गरेको संस्थाकी अध्यक्ष तारा राईले जानकारी दिइन्। उनले संस्थाले विपन्न परिवारको आर्थिक अवस्था सुधारका लागि बाख्राका पाठी वितरण गरिहेको बताइन्। सहकारीले वितरण गरेका पाठी हुर्केर ब्याएपछि सहकारीलाई एउटा पाठी फिर्ता गर्ने सर्तमा संस्थाका सदस्यहरूलाई पाठी उपलक्ब्ध गराइरहेको बताइन्।  

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका पूर्वअध्यक्ष रमेश पोखरेल, नेकपा एमाले प्रदेश १ का सचिव विनोद ढकाल, जिल्ला सहकारी संघ

मोरङका अध्यक्ष डिल्ली पोखरेल, बुढीगंगा–१ का वडाध्यक्ष युवराज पौडेल र वडा नम्बर ३ का अध्यक्ष तिलकनाथ माझीलगायतले सहकारीको माध्ययमबाट गरिबी अन्त्य गर्न सकिने धारणा राखेका थिए।

प्रकाशित: २ आश्विन २०७८ ०५:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App