५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सिरहाका सिमानाकामा फस्टाउँदै तस्करीः घुमुवा प्रहरी मिलाउँछन् सेटिङ

पछिल्लो समय सिरहामा घुमुवा प्रहरीसँगको सेटिङमा तस्करी बढेको छ। सादा पोसाकमा खटिने घुमुवा प्रहरीसँग सेटिङ मिलाएर तस्करले सीमाबाट मालसामान वारपार गर्ने क्रम फस्टाउँदो छ।

सीमाका सुरक्षाकर्मी र जिल्लाभर परिचालित घुमुवा प्रहरीसँगको सेटिङमा भित्र्याइँदै गरेको ठूलो परिमाणको औषधि शनिबार बिहान लहान प्रहरी प्रमुख डिएसपी तपन दाहालले बरामद गरे। लहान–भगवानपुर–ठाढी सडक खण्डअन्तर्गत लहान नगरपालिका–१९ कटहा चोकबाट लु १ स ८००७ नम्बरको मेक्सी भ्यानमा राखी भारतबाट भित्र्याइएको ७५ लाख ५६ हजार ८ सय रूपैयाँबराबरको औषधि बरामद गरेको दाहालले बताए।

रिकल–केटु–सेभेन नामको औषधि ३५ लाख ९३ हजार ९ सय २० रूपैयाँ, ओइथोकल ट्याबलेट २९ लाख ७२ हजार १ सय ६० रूपैयाँ र केयरकल ट्याब्लेट ९ लाख ९० हजार ७ सय २० रूपैयाँबराबरको बरामद भएको दाहालले जानकारी दिए। कागजी प्रमाणबिना भारतबाट ठाढी नाका हुँदै भित्र्याइएका यी औषधि कहाँ लागिँदै थियो भन्नेबारे डिएसपी दाहालले खुलाएनन्। औषधि बोकेको गाडी कसको हो भन्ने पनि उनले बताएनन्। उनले भने, ‘म सवार प्रहरी भ्यान देख्नासाथ औषधि बोकेको गाडी रोकेर मानिसहरू फारार भए ।’

ठाढी नाकामा मूल भन्सार छ। सँगसँगै सशस्त्र प्रहरीका इन्सपेक्टरको कमान्डमा बोर्डर आउटपोस्ट (बिओपी) र सईको कमान्डमा नेपाल प्रहरीका पोस्ट छन् । ठाढीबाट चार किलोमिटर उत्तरमा असईको कमान्डमा भगवानपुर प्रहरी चौकी छ। भगवानपुरबाट चार किलोमिटर उत्तरमा सईको कमान्डमा इलाका प्रहरी कार्यालय महेशबारी छ।  

पाँच किलोमिटर उत्तर लहानको अस्पताल चोकनजिकको पार्कमा सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोली बस्छ ।‘बोर्डरबाट तीनवटा प्रहरी पोस्ट र एउटा बिओपी पार गरेर अवैध औषधि बोकेको गाडी लहानसम्म कसरी पुग्यो ?’ ठाढीका एक स्थानीयले भने, ‘औषधि बरामद हुनु तर मानिस फेला नपर्नुमा मिलेमतोको शंका छ।’

‘यस नाकाबाट के तस्करी हुन्छ भन्दा पनि के तस्करी हुँदैन त्यो सोध्नुस्’, उनले थपे, ‘कोरोनाको आडमा सीमामा तस्करको राज चलेको छ। पारिबाट कपडा, मोटरपार्टस, सुर्ती, राजनिवास गुटखा, रजनिगन्धा, कस्मेटिक्स सामान, तेल, चिनी, लागुऔषध, औषधि, हुन्डी रकमलगायत सबै तस्करी हुन्छ। 

वारिबाट मटर, चाइनिज स्याउ, मदिरा पारि पुन्छ ।’ सीमावर्ती नाका झाझपट्टी, औरही, इटाटार, ठाढी, माडर, कल्याणपुर सबै ठाउँमा सुरक्षाकर्मीका पोस्ट छन्। सुरक्षाकर्मीको बाक्लो उपस्थिति भएको सीमानाकाबाट ठूलो परिमाणममा तस्करीको सामान छिराउन बिनासेटिङ सम्भव नभएको सीमावर्ती गाउँका स्थानीय बताउँछन्। ठाढी भन्सार कार्यालयको पछाडि सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बिओपी) का साथै नेपाल प्रहरीको समेत उपस्थिति छ। पारि भारततर्फ नजिकै लौकाहा र करिब ७ किलोमिटर अगाडि खुटौना बजार पर्छन्।

लौकाहा बजारमा सप्तरीको केही भाग र लहान क्षेत्रका उपभोक्ता दैनिक उपभोग्य सामान खरिद गर्न जाने गर्छन्। तर कोरोना महामारीका कारण खुद्रा उपभोक्ता पातलिएका छन। एकताका तेस्रो मुलुकको सुपारी तस्करी हुने मुख्य नाकाको रूपमा चम्किएको ठाढीमा अहिले फेरि तस्करी फस्टाएको छ। पारिबाट सामान लिएर आउने सामान्य उपभोक्तामात्र भन्सार कार्यालय छिर्छन्। तस्करका सामान भन्सार कार्यालय छिर्दैनन्। उनीहरूको सामान सीमा पार गरेपछि पश्चिमको बाटो हुँदै बसपार्क पुग्छ। बसपार्कमा बस र अन्य सवारीसाधनमा लोड भएर त्यो सामान लहानलगायतका बजारमा पुर्‍याइन्छ।  

एक भन्सार कर्मचारीसँग जिज्ञासा राख्दा उनले भने, ‘हामी कार्यालयबाहिर गएर सामान पक्राउ गर्ने अवस्थामा छैनौं। तस्करहरू संगठित छन्। हामीकहाँ आएजतिलाई भन्सार महसुल तिराएर पठाउँछौं। तस्करका सामान हामीकहाँ छिर्दैनन् ।’

तस्करीका लागि चम्केको अर्को नाका हो बरियारपट्टी। यहाँ भन्सार कार्यालयसँगै सशस्त्र प्रहरीको बिओपी र अगाडि नेपाल प्रहरीका चौकी छन्। पारि लदनिया बजार छ। यो बजारबाट दैनिक उपभोग्य सामानसँगै सुर्ती तस्करी बढेको एक स्थानीयले बताए। यो नाकाबाट तस्करी हुने मालसामान सुखिपुर, गोलबजार पुग्ने गरेको स्रोतले बतायो। वारिबाट इन्धन, चाइनिज स्याउ, मटर र मदिरा पारि तस्करी हुने गरेको स्थानीयले बताए ।

माडर नाकामा भन्सार कार्यालय परिसरभित्रै सशस्त्र प्रहरीको बिओपी छ। तर यो नाका क्षेत्रबाट पनि तस्करी रोकिएको छैन। दैनिक उपभोग्य वस्तुदेखि चाँदीका तयारी गहनासम्म तस्करी हुने गर्छ। तस्करले यो नाकाबाट लत्ताकपडा, मोटरपार्टस्, खाद्य सामान सेटिङमा भित्र्याउने गरेको स्थानीय बताउँछन् ।

‘प्रहरी मिलेपछि जे पनि सम्भव छ,’ सिरहाको दक्षिणवर्ती झाझपट्टी गाउँमा अचेल यो भनाइ चर्चित छ। भारतीय सीमा नाकाबाट बेरोकटोक तस्करले सामान भित्र्याइरहँदा सुरक्षाकर्मी चुपचाप बसेको पाइएपछि सर्वसाधारणले यस्तो धारणा व्यक्त गरेका हुन् ।

तस्करलाई घुमुवा प्रहरीले नै बाटो देखाउँछन्। तस्करले खाद्य सामग्री, कपडा, मोटर पार्ट्स र कस्मेटिक सामग्री प्रहरी र सशस्त्र प्रहरीलाई लाइन मिलाएर (मासिक रकम दिएर) ल्याइरहेका छन्। नरगी, कुसन्डी, इटाटारबाट तस्करले सामान भित्र्याइरहेको स्थानीय व्यापारी बताउँछन्। यी सबै नाकामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको उपस्थिति छ ।

भारततर्फको बजारबाट ल्याएका सामान नरगी, कुसन्डी, बरियारपट्टी, ठाढी र माडरमा भण्डारण गरिन्छ। यहाँबाट मोटरसाइकलको पछाडि बाँधेर, बस, टेम्पो, अटोमा राखेर सिरहाका विभिन्न व्यापारीको गोदामसम्म पु¥याइन्छ। बोर्डरवारिका व्यापारीको गोदामसम्म तस्करीका सामान बोकेको मोटरसाइकल आइपुग्न न्यूनतम चार र अधिकतम सातवटा सुरक्षा पोस्ट पार गर्नुपर्छ।

चोरी तस्करीजन्य गतिविधि नियन्त्रणका लागि इलाका, जिल्ला र प्रदेशबाट सादा पोसाकका प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएका छन्। प्रदेश प्रहरी कार्यालय जनकपुरधामका घुमुवा प्रहरी लहानमा डेरा नै जमाएर बसेका छन्। तर उनीहरूको भूमिका तस्करी नियन्त्रणभन्दा तस्करी बढावातर्फ रहेको लहानका स्थानीय बताउँछन्।

प्रकाशित: २२ भाद्र २०७८ ०३:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App