१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सप्तकोसी फुटेपछि उदयपुर र सप्तरी उच्च जोखिममा

कोसी कटानबारे स्थलगत अवलोकन गर्न पुगेको सरोकारावालहरुको टोली। तस्बिर: महेश्वर/नागरिक

लगातारको वर्षापछि आएको बाढीले सप्तकोसी फुटेर उदयपुरतर्फ छुटेको भँगालोले स्थानीयलाई त्रसित बनाएको छ। उदयपुर र सुनसरीको सीमा भएर बग्ने सप्तकोसी बेलका नगरपालिका ८ लाहुरे खोलानेर आईतबार बिहान फुटेर धार परिवर्तन गर्दै पश्चितर्फ आउन थालेपछि उदयपुर र सप्तरीमा जनधनको क्षति हुने उच्च जोखिम बढेको हो।

नदीले लाहुरे खोलास्थित जमिन फटाएर भँगालो गाउँ पस्न थालेपछि बेलकाका २, ३, ८ र ९ नंं वडाबासी कटान र डुबानको उच्च जोखिममा पुगेको नगरपालिकाले जनाएको छ। कोसी फुटेर गाउँ पस्न थालेको खवरले स्थानीयबासीमा त्रास फैलाएको बेलका ३ रातापानीका जनक राईले बताए। उनका अनुसार तत्काल बचाउका लागि नगर, प्रदेश र संघीय सरकारसँग स्थानीयले हारगुहार मागिरहेका छन्। तत्काल बाँध बाँध्ने र सुरक्षित स्थानतर्फ स्थानान्तरण नगर्ने हो भने भँगालोले अकल्पनीय क्षति गर्ने अनुमान गरिएको राईले बताए।  

बेलकासँगै सप्तरीका केही स्थानीयतहबासीलाई पनि भँगालोले प्रत्यक्ष असर गर्ने स्थानीय बताउँछन् । बेलका ९ का ललित राईका अनुसार लगातार ३ दिनको वर्षाले आएको अहिलेसम्मकै ठूलो बाढीले पश्चिमतर्फ जमिन फटाएर गाउँ पसेकाले धेरैलाई त्रसित बनाएको छ। कोसीले धार परिवर्तन गर्दै गाउँ पसेकाले बेलका नगरपालिकाका ठूलो जनसंख्यालाई विस्थापित गर्ने खतरा बढेको भन्दै जिल्ला विपद व्यवस्थापन समितिसमक्ष बचाउका लागि आग्रह गरिएको छ। तत्काल बाँध बाँधेर रोकथाम नगरे कोसीको बाढीले ठूलो जनधनको क्षति गर्ने संभावनप्रति अहिले नै सजग हुन र आवश्यक सुरक्षा व्यवस्था मिलाउन गाउँलेले प्रशासन र नगरपालिका गुहारेको राईले बताए।  

स्थानीयको माग बमोजिम आईतबारै स्थलगत अवलोकनसहित बेलकामै बसेको जिल्ला बिपत व्यवस्थापन समितिको बैठकले संभावित क्षति रोक्न आवश्यक कदम चाल्ने निर्णय गरेको छ। भँगालो रोकथामका लागि नेपाली सेना, प्रहरी र सशस्त्र तथा स्थानीलाई परिचालन गरी अस्थायी बाँध ३ सय मिटर तत्काल बाँध्ने निर्णय भएको छ। सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले बिपत व्यवस्थापन समितिको बैठक बेलकामै राखेर रोकथामको आवश्यक चाँजोपाँजो मिलाउने निर्णय गरेको बताए।  

जिल्ला सुरक्षा निकाय प्रमुखहरु, जनप्रतिनिधि र सरोकारवाला निकायका प्रमुख र प्रतिनिधिको सहभागितामा बसेको बैठकले सम्भावित क्षति हुन नदिन आवश्यक सुरक्षा सतर्कता अपनाउदै तत्काल कटान रोक्ने उपायको खोजी गर्ने निर्णय भएको छ। कोसी फुटेको ठाउँमा तत्काल बालुवा भरिएको बोराको अस्थायी बाँध बाँध्न डिभिजन सिंचाई कार्यालयबाट ५० थान तारजाली र ८ हजार थान बोरा उपलब्ध गराउने, सेना, प्रहरी र सशस्त्र तथा स्थानीयले श्रम गर्ने, कटान रोक्न उपलब्ध स्रोतसाधनको प्रयोग गर्ने निर्णय भएको छ। त्योसँगै बढी जोखिममा रहेका स्थानीयलाई सुरक्षित ठाउँमा स्थानान्तरण गराउने, सकेसम्म जनधनको क्षति हुन नदिने सबैखाले उपायको खोजी गर्ने निर्णय भएको बेलका नगर उपप्रमुख राजकुमारी चौधरीले बताईन्।

बैठकले कटानको अवस्था र संभावित खतराबाट बँच्न आवश्यक सहयोगका लागि प्रदेश मुख्यमन्त्री, प्रदेश आन्तरिक मामिला मन्त्रालय, संघीय सरकारको गृह मन्त्रालय र विपद व्यवस्थापन महाशाखालाई जानकारी गराउँदै आवश्यक सहयोग तत्काल उपलब्ध गराउन माग गरिएको उपमेयर चौधरीले बताईन्। त्यसैगरी कटान र कोसीको अवस्थाबारे तत्काल सबैलाई जानकारी गराउन सबैखाले सञ्चारमाध्यामको प्रयोग गर्ने निर्णय पनि भएको छ। बिपदमा परेका स्थानीयबासीलाई आवश्यक उद्धार गर्दै खाद्यान्न, बसोबास र सुरक्षित उद्धारलगायत राहत व्यवस्था गर्न पनि सरोकारवाला निकायसमक्ष आग्रह गरिएको छ।  

प्रकाशित: १४ भाद्र २०७८ ०७:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App