coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

झण्डै शताब्दी अवस्था हेरेर बनाईएको ताप्लेजुङ कारागारको कथा

कैदीबन्दी कोचाकोच, एउटा कोठमा ३५ जनासम्म

जानकारहरुका अनुसार बिक्रम सम्वत् १९९२ सालमा ताप्लेजुङ कारागार निर्माण गर्दा उतिबेलाको प्रशासनलाई यो कारागारमा २५ जना भन्दा बढी कैदीबन्दी नहुने अनुमान थियो। करिब शताब्दी अघिको सोच र त्यहिँ आधारमा बनाईएका संरचना २०७८ सालसम्म आईपुग्दा धेरै साँघुरो र कमजोर बनेपनि अर्को बिकल्प नहुँदा यहाँका कैदी/बन्दीलाई कोचाकोच गरेर राख्नु परेको छ।  

अहिले कारागारमा १ सय ४९ जना कैदीबन्दी छन्। कारागार शाखाका प्रमुख कूलेन्द्र खवासका अनुसार कारागारमा १ सय ७ कैदी र ४२ थुनुवा गरी १ सय ४९ जना रहेका छन्। यो क्षमताभन्दा करिव ६ गुणा बढी हो। ३ रोपनी क्षेत्रफलमा फैलिएको कारागार भित्र साना ठूला गरी ८ वटा घर छन्। कोठाको अवस्था हेरी एउटामा ३५ जना सम्मलाइ राखिएको खवासले जानकारी दिए। सबैभन्दा सानो कोठामा पनि कम्तिमा १५ जना सम्म राखिएको छ।  

जग्गाको कुल क्षेत्रफलभरीमा खेल मैदान,शौचालय,आवास कक्ष,भोजनालय देखि कैदीबन्दीले चलाउने ढाकातान सहितका सबै संरचना अटाउनु परेको छ। कारागार सुरक्षा प्रशासन बस्ने कक्ष समेत यहि क्षेत्रफल भित्रको संरचना हो। कारागार शाखाका प्रमुख खवास अर्को बिकल्प नहुँदा पुरानो र जीर्ण बनेको शताब्दी पुरानो संरचनालाई टालटुल र मर्मतसम्भार सहित सञ्चालन गरिरहेको बताउँछन्।  

कैदीबन्दीका लागि छुट्याएका ८ वटा कोठामा भित्र ४ र बाहिर ३ गरी ७ वटा शौचालय छन्। बजारकोबीच भागमा रहेको कारागारमा संख्या अत्यधिक बढी भएकोले सेफ्टी ट्याङ्की र ढल निकासको अर्को जोखिम आइ लाग्न थालेको खवासले बताए। बीच बजारमा रहेको कारागारको सेफ्टी ट्याङ्की सफाइ गर्न समेत नमिल्ने अवस्थाको रहेको उनले सुनाए। कैदीबन्दी घट्ने भन्दा थपिने बढी भएपछि पुरानो संरचनामा थपपाथ गर्दै कैदीबन्दीलाई व्यवस्थापन गर्नु कारागार प्रशासनको नियति बन्दै आईरहेको छ।‘ जे छ त्यसलाई सकेसम्म सुधार गरेर आवश्यकता टार्नु बाहेक अर्को बिकल्प नै छैन’कारागार शाखाका प्रमुख खवासले भने।  

कारागारमा अहिले ७३ बर्ष सम्मका बृद्ध पनि रहेका छन्। सिरिजंगा गाउँपालिकाका उनी केहि समय अघि मात्र पुर्पक्षका लागि कारागार चलान भएका हुन्। संख्या धेरै भएको र प्रत्येक दिन कैदीबन्दीमा बिभिन्न स्वास्थ्य समस्या आइरहने गरेकोले यो व्यवस्थापनमा समेत कारागार प्रशासनलाइ समस्या आइरहन्छ। बस्ने क्षेत्र साँघुरो भएकोले एक किसिम कैदीबन्दीको बसाइ कोचाकोच अवस्थाकै रहेको खवासले जानकारी दिए।  

एकाध पूर्वाधार थपिनु बाहेक भित्रको संरचना पनि पुरानै रहेको अवस्थामा मर्मतसम्भार गरेर झण्डै सवासताब्दी पुरानो कारागारले धानिरहेको छ। अवस्था हेर्दा यो भवनले कहिलेसम्म साथ दिन्छ ? त्यो पनि भन्न सकिने अवस्था छैन। जिल्ला कारागारका नाममा फुङ्लिङ नगरपालिका वडा नं ४ (शिक्षा विका तथा समन्वय इकाइ आसपास) मा ७ रोपनी जग्गा पनि रहेको छ। तर भवन बन्ने कुरोकन्थो नै छैन। प्रायः नेपालका कारागार भित्र क्षमता भन्दा बढी कैदीबन्दी हुनु सामान्य कुरा भएपनि जीर्ण र पुरानो भवन,साँघुरो क्षेत्र र क्षमताका आधारमा ज्यादै कम क्षमताको संरचनाले ताप्लेजुङका कैदीबन्दीले भने सास्ती नै खेप्नु परिरहेको छ।  

प्रकाशित: १ भाद्र २०७८ ०७:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App