१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कर्मचारीलाई स्थायी र बढुवा गर्ने सहमति कार्यान्वयन नभएकोमा कांग्रेसको आपत्ति

पोखरा महानगरपालिकाका पुराना कर्मचारीलाई स्थायी र स्थानिय तहमा कार्यरत कर्मचारीलाई एकतह बढुवा गर्ने सहमति कार्यान्वयन नभएको प्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।  पोखरा महानगरपालिका नेपाली कांग्रेस संसदीय दलकका नेता तथा सचेतक रामराज लामिछानेले विहीवार विज्ञप्ति प्रकाशित गर्दै सो निर्णय कार्यान्वयन नभएको प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

विज्ञप्तीमा उनले महानगरको नगरसभाको दिन विहान पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको कार्यकक्षमा प्रमुख जिसीसहित प्रमुख प्रशासकीय अधिकृत, दुबै दलका नेता तथा सचेतक, प्रवक्ता, नेपाली कांग्रेसका संसदीय दलका उप–नेता र महाशाखा प्रमुखहरुको बैठकमा बिगत २०–२२ वर्षदेखि अस्थायी, करारमा रहेर काम गरिरहेका सबै कर्मचारीहरुलाई योग्यताका आधारमा तत्काल स्थायी गर्न र स्थानीय तहका कर्मचारीहरुलाई एकतह बढुवा गरी समायोजन गर्ने सहमति भएको दाबी गरेका छन् ।

 त्यस्तै, स्थायी पदमा कार्यरत कर्मचारीहरुले पाउने अवकास सुविधा साविकको स्थानीय निकायले प्रदान गरेको भन्दा कम नहुने गरी संशोधन गर्न र अस्थायी, करार, सेवा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीहरुले पाउने अवकास सुविधा ज्यादै न्युन भएकाले एकमुष्ट उचित रकम दिने व्यवस्था गर्ने सहमति भएको पनि लामिछानेले दाबी गरेका छन् ।

तर उक्त सहमति अहिले आएर तोडमोड गरी कार्यान्वयन नगर्ने नियत देखाएको भन्दै उनले विरोध गरेका छन् । सहमति कार्यान्वयन गर्न महानगरका प्रमुख प्रशासकीय अधिकृतले नै चासो नदेखाएको उनको आरोप छ ।  लामिछानेले कर्मचारीको हितका लागि विगतमा गरिएका सहमति कार्यान्वयन गर्न माग गरेका छन् । विज्ञप्तिमा आफुहरु सदैव कर्मचारीको हितको पक्षमा रहेको भन्दै उनले कर्मचारीको मनोबल उच्च बनाउन सहमति कार्यान्वयन गर्नुको विकल्प नरहेको उल्लेख गरेका छन् ।

प्रकाशित: २८ श्रावण २०७८ ११:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App