१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सशस्त्र प्रहरीको भरोसामा सीमा क्षेत्रका नागरिक

केही समय पहिले बाँकेको नरैनापुर गाउँपालिका–६ मा बिओपी स्थापना गरिँदै । तस्बिर: नागरिक

बाँकेको डुडुवा गाउँपालिका–६, उधुमगन्जका पृथ्वीराज मुराउको घर २०७४ सालमा चोरी भयो। रातिमा सुतेको मौका छोपेर ६ जनाले घरमा पसेर पैसासँगै भाडाकुँडा चोरी गरे। सुन, चाँदी, भएको थोरै पैसा चोरी भएपछि ठूलै समस्या खेपेका उनलाई उक्त घटनाले पिरोलि रह्यो। उनी मात्र होइन भारतीय सीमासँग जोडिएको उधुमगन्जवासी भारतीय नागरिक र एसएसबीको दमनमा परे।

पछिल्लो समय नेपाल–भारतको सीमास्थित बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएपछि शान्तिसुरक्षामा धेरै सहज भएको पृथ्वीराज मात्रै होइन सीमा क्षेत्रका नागरिकको भनाइ छ। खुला सिमानाका कारण अनाधिकृत रूपमा नेपाल–भारत ओहोरदोहोर गर्ने मानिसको पुरानो बानीमा पनि परिवर्तन आएको स्थानीयको भनाइ छ।  

विगतमा पशु चौपायाको चोरी र अपराधका घटना सीमा क्षेत्रमा हुने गरेको तर बिओपी स्थापना भएपछि यी समस्या हराएर गएको उधुमगन्जका अर्का स्थानीय दीपनारायण मिराउले बताए। बिओपीले गर्दा नेपाली भू–भागमा विगतमा हुने गरेका अपराधका घटनामा उल्लेखनीय कमी आएको बताउँदै उनले भने, ‘बिओपीले हामीलाई रक्षा गर्नुका साथै हाम्रा धनसम्पत्तिको पनि रक्षा गरेको छ।’  

सशस्त्र प्रहरी बस्ने गरी स्थापना गरिएको बिओपीले गर्दा नेपालतर्फ सीमा क्षेत्रमा बसोबास गर्ने मानिस सुरक्षाको पूर्ण अनुभूति गर्न थालेका छन्। विगतमा चोरी डकैतीको मार खेपी रहेका सीमा क्षेत्रका बासिन्दा अहिले निर्भिकतासाथ आफ्नो व्यापार र व्यवसायमा लागेका छन्।  

पहिला भारतीय पक्षबाट हुने चोरीडकैती, कुटपिट अहिले व्यहोर्नु नपरेको अर्का स्थानीय सुनिलकुमार मौर्यले बताए। ‘हाम्रो खेतबारीमा तरकारी, फलपूmल पाक्दा सीमा पारिबाट आएर लुटपाट गरेर लैजान्थे,’ उनले भने, ‘बिओपी स्थापना भएपछि कुटपिट तथा चोरीका घटनाबाट मुक्त भएका छौं।’ सशस्त्र प्रहरीले सीमा सुरक्षा दिन थालेपछि गाउँलेहरूले सुरक्षाको महासुस गरेको बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताए।

अहिले सशस्त्र प्रहरी आएपछि चिन्तामुक्त भएको उनले बताए। खुला सिमानाका कारण पनि गाउँमा विभिन्न घटना घट्ने गरेका थिए। सशस्त्र प्रहरीले सीमा सुरक्षा हेर्न थालेपछि अहिले गाउँले खुसी भएको गाउँपालिका अध्यक्ष अहमत शाहको भनाइ छ। भारतीय पक्षको हस्तक्षेप मात्र होइन गाउँमा हुने अन्य अपराधिक क्रियाकलापसमेत घटेको उनले बताए। गाउँलेले सशस्त्र प्रहरीका लागि जग्गा समेत निःशुल्क उपलब्ध गराएका छन्। त्यहीँ जग्गामा सशस्त्र प्रहरीले अस्थायी संरचना निर्माण गरेको सीमा क्षेत्रको सुरक्षा गर्दै आएको छ।  

प्रत्येक बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २० देखि ३५ जनासम्म जनशक्ति परिचालन भइरहेको बताइएको। उक्त जनशक्तिले सीमा क्षेत्रमा आफ्ना गतिविधि र निगरानीलाई बढाएको देखिन्छ। बिओपी स्थापना भएपछि सीमा क्षेत्रका नागरिकलाई पूर्णरूपमा सुरक्षाको महसुस भएको सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक शैलेन्द्र खनालले बताए। सीमा क्षेत्रमा हुने अपराधिक क्रियाकलाप, अवैध सामान ओसारपसारमा कमी आएको उनको भनाइ छ।  

सीमा क्षेत्रमा सशस्त्र प्रहरीले निगरानी र सक्रियता बढाएका कारण स्थानीयवासीमा सुरक्षाको आशा जागेको छ। अवैध सामान, विस्फोटक पदार्थ, हातहतियार, लागुऔषधको ओसारपरामा नियन्त्रण गर्नुका साथै सीमा क्षेत्रबाट कुनै पनि अप्रिय घटना हुन नदिन सचेत एवं गम्भीरता पूर्वक काम गर्दै आएको महानिरीक्षक खनालको भनाइ छ।

२२४ ठाउँमा बिओपी स्थापना

अहिलेसम्म दुई सय २४ स्थानमा बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता डिआईजी राजु अर्यालले बताए। उनका अनुसार सबैभन्दा बढी प्रदेश २ मा र सबैभन्दा कम कर्णाली प्रदेशमा बिओपी स्थापना गरिएको छ।  

भारतसँग मात्रै सीमा जोडिएको प्रदेश २ मा ७० ठाउँमा बिओपी स्थापना हुँदा चीनसँग मात्र सीमा जोडिएको कर्णाली प्रदेशको एक ठाउँमा बिओपी स्थापना भएको छ। आवश्यकता अनुसार राज्यले बिओपी स्थापना गर्दै जाने डिआईजी अर्यालको भनाइ छ।

प्रकाशित: १० श्रावण २०७८ ०१:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App