२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

सवारी दुर्घटनामा जग्गा व्यवसायीको मृत्यु, नापी अधिकृतीसहित चार जना घाइते

शनिबार राति मोरङको बुढीगंगा गाउँपालिकामा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।  

कोसी लोकमार्गअन्तर्गत बुढीगंगा–१ स्थित आरती स्ट्रिप्स उद्योग अगाडि रहेको बिजुलीको पोलमा कार अनियन्त्रित भई ठोकिएर दुर्घटना भएको थियो। उक्त कारमा सवार हार्डवेयर तथा जग्गा व्यवसायी १ जनाको उपचारका क्रममा मृत्यु भएको छ भने नापी शाखा कार्यालय विराटनगरका अधिकृतसहित ४ जना घाइते भई उपचार भइरहेको प्रहरीले जनाएको छ।  

राती पौने १२ बजेतिर उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बा १८ च ९७६ नम्बरको कार अनियन्त्रित भएर बिजुलीको पोलमा ठोकिएको थियो। दुर्घटनामा विराटनगर महानगरपालिका–३ का ४० वर्षीय रमेश आचार्यको उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते आचार्यलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम ल्याइएको थियो। भेन्टिलेटर अभावमा उपचार सम्भव नभएपछि विराटले थप उपचारका लागि न्यूरो अस्पताल रेफर गरेको थियो। आइतबार बिहान सवा ५ बजेतिर उपचारका क्रममा न्यूरो अस्पतालमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।  

नापी शाखा कार्यालय विराटनगरका अधिकृत विराटनगर–३ का २० वर्षीय विवेक नेपाल तथा जग्गा व्यवसायीहरु कार चालक (कारधनी)बुढीगंगा–१ का ४५ वर्षीय महाप्रसाद भट्टराई, ४० वर्षीय भीमप्रसाद घिमिरे र ३३ वर्षीय सन्तोष घिमिरे घाइते भएको छन्। घाइते उनीहरुको विराट र न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।  

चालकले मादक पदार्थ सेवन (मापसे) गरेर कार तीव्र गतिमा चलाएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको र घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

प्रकाशित: २७ असार २०७८ १२:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App