coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पर्सामा निषेधाज्ञा खुकुलो, विकास निर्माणको काम गर्न पाइने

कोरोना संक्रमणको रोकथामका लागि पर्सा जिल्लामा जारी निषेधाज्ञा केही खुकुलो हुने भएको छ। कोभिड–१९ ब्यवस्थापन समिति पर्साको निर्णय समेतको आधारमा परिमार्जनसहित असार ६ सम्म राति १२ बजेसम्म निषेधाज्ञा थपिएको जनाउदै जिल्ला प्रशासन कार्यालय पर्साले आदेश सार्वजनिक गरेको छ। कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि जिल्लामा गत वैशाख १६ देखि निषेधाज्ञा लागू गरिएपछि पटक पटक थप गरिदै आएको छ।  

कोरोनाका नयाँ संक्रमितहरु थपिने क्रम कम भएपछि समान्य खुकुलो ब्यवस्था सहित परिमार्जित निषेधाज्ञा पर्सामा निरन्तरता दिइएको हो। प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरे द्वारा हस्ताक्षरीत आदेशमा खाद्यवस्तु, औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित पसल र व्यवसाय बाहेक अन्य सबै पसल व्यवसाय हाललाई सञ्चालन नगर्ने भनिएको छ। 

जनस्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी दैनिक खाद्य वस्तुका पसलहरू, कृषि भेटेनरी सम्बन्ध पसलहरू, निर्माण सामग्रीका पसलहरू, वर्कसप दिउसो १२ बजेसम्म मात्र खोल्न पाइने छुट दिइएको छ। ‘तर सो समयको अतिरिक्त तरकारी, फलफूल, पानी, दुघ तथा दुधजन्य पदार्थ लगायतका खाद्यवस्तुको व्यापारसँग सम्बन्धित व्यवसायीले होम डेलिभरी गर्न कुनै बाधा पर्नेछैन,’ आदेशमा भनिएको छ, ‘विवाह, ब्रतबन्ध/नामाकरण संस्कार जस्ता कार्यको हकमा बढीमा १५ जना सम्मको उपस्थितिमा आफ्नै घर वा आफु बसेको स्थानमा स्वास्थ्य सुरक्षाको मापदण्डको परिपालना गरी गर्न सकिने छ।’ 

होटेल एवं पार्टी प्यालेसमा यस्ता कार्यक्रम गर्न गराउन नपाइने जनाइएको छ। आदेश अनुसार बिकास निर्माणका कार्यहरु स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी सञ्चालन गर्न गराउन सकिने छ। आयोजना वा कार्यालय प्रमुखको सिफारिसमा विकास निर्माण कार्यसँग सम्बन्धित कर्मचारी र जनशक्तिले प्रयोग गर्ने सवारी साधनको आवत जावतमा जिल्ला प्रहरी कार्यालयले सहजीकरण गर्ने भनिएको छ।  

निर्माण सामाग्रीको ढुवानी बेलुका ८ बजे देखी विहान ८ बजेसम्म गर्न पाइने भएको छ। मालबाहक सवारी साधन, सुरक्षा र स्वास्थ्य सेवा एवं सो सम्बद्ध कर्मचारीहरुले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकल, शवबाहन, फोहोर मैला ब्यवस्थापन, खाद्यान्न, फलफुल, पेट्रोलियम पदार्थ, पानी, कृषि उपज, तरकारी, दुधजन्य पदार्थ, पशुपंक्षीको दाना लगायत ढुवानीका सवारी साधनहरु, आईसोलेशन एवं होल्डिङ्ग सेन्टरको ब्यवस्थापनमा प्रयोग हुने सवारी साधन, अत्यावश्यक सेवा र कार्यमा प्रयोग हुने गरी अनुमती प्राप्त सवारी साधनहरु संचालनमा रोक छैन। यस बाहेक अन्य सबै प्रकारका निजी तथा सार्वजनिक यातायातका सवारी साधनहरु सञ्चालन गर्न पाईने छैन भनिएको छ।  

अत्यावश्यक सेवा र क्षेत्रसँग सम्बन्धित बैंक तथा वित्तीय संस्था समेतका कर्मचारी एवं सञ्चारकर्मीहरुले आफ्नो परिचय खुल्ने कागजात साथमा राखी आवत जावत गर्नुपर्ने साबिककै ब्यवस्था निरन्तरता दिइएको छ। बीरगन्जको मुख्य प्रवेश बिन्दु ईनर्वा नाका बाहेकका भारतबाट जिल्ला प्रवेश गर्ने अन्य नाकाबाट सीमा वारपार आवागमनमा पूर्ण रुपमा रोक लगाइएको छ। र, बीरगंज सीमा नाकाबाट प्रवेश गर्ने नेपाली नागरिकले तोकिएको स्वास्थ्य जाँच र प्रक्रिया पुर्‍याई स्थानीय तहले तोकेको आइसोलेसन सेन्टर वा होम आइसोलेशनमा अनिवार्य बस्नु पर्ने भनिएको छ।

प्रकाशित: ३० जेष्ठ २०७८ १२:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App