१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

उदयपुरमा कोभिडले एकै परिवारका ३ जनाको मृत्यु

बेलटारस्थित कोभिड अस्पताल । तस्बिरः महेश्वर

रौतामाई गाउँपालिका ७ मुर्कुची मुल घर भई त्रियुगा नगरपालिका ११ गाईघाट बस्दै आएका तुलबहादुर मस्राङ्गी मगर जेठ पहिलो साता कोभिड संक्रमित पुष्टि भएपछि सदरमुकामस्थित आँखा अस्पतालको आईसोलेसनमा भर्ना भए । परिवारका साईला छोरा ४५ वर्षीय तुलबहादुरको अवस्था गम्भीर देखिएपछि १३ गते अस्पतालले रिफर गर्‍यो । उनलाई बिराट नर्सिङहोममा भर्ना गरिएको ३६ घण्टा नबित्दै १५ गते उनको मृत्यु भयो ।  

केही दिनपछि संक्रमित पुष्टि भएका उनका सहोदर दाजु पुस्कल मस्राङ्गीमा पनि संक्रमण देखिएपछि गाईघाटकै आईसोलेसन सेन्टरमा भर्ना भए । उनको पनि स्वास्थ्य अवस्था जटिल देखिएपछि रिफर गर्दै बिराटनगर लगियो । तर, भाइको मृत्यु भएको ३ दिन नबित्दै ५१ वर्षीय पुस्कलले पनि १८ गते प्राण त्यागे । दुई छोराहरुलाई ३ दिनको फरकमा गुमाउनुपरेको पीडाले बिक्षिप्त बनेकी वृद्धा आमा तिलमाया बेहोस् भईन् ।  

स्वास्थ्य अवस्था जटिल भएकी उनलाई पनि कोभिड पुष्टि भयो । होमआईसोलेसनमै अक्सिजन दिएर राखिएकी ७१ वर्षीया तिलमायाले पनि दुई छोराहरुकै साथ रोजिन्, साईलोले छाडेको ६ दिन र जेठोले छाडेको ३ दिनपछि बिहीबार विहान उनको देहान्त भयो । कोभिडले एकै घरका ३ जनाको मृत्यु भएको उदयपुरमा यो पहिलो घट्ना हो ।

एउटै परिवारका ३ जनाको मृत्युले अहिले पुरै मुर्चुची बजरा आफन्तजन शोकाकुल भएको मस्राङ्गी परिवारका आफन्त तथा मावि मुर्कुचीका प्राचार्य खड्ग थापामगरले बताए । वैशाख अन्तिम सातादेखि एकाएक संक्रमित देखिएको मुर्कुचीवासीले यति कष्टसाध्य समयसँग मुकाविला गर्नुपर्छ भनेर कसैले कल्पनासम्म गरेका थिएनन् । प्राचार्य मगर भन्छन् ‘दैबी बिपतको यस्तो पराकाष्टा यसअघि कहिल्यै देखिएको थिएन र, अव पनि कतै देख्नु नपरोस् ।’  

दाजुहरुसँगै संक्रमित देखिएर गाईघाटकै आईसोलेसनमा उपचाररत कान्छा भाइ भने ३ दिनअघि संक्रमणमुक्त भएर घर फर्केका छन् । परीक्षण गर्दा कोभिड रिपोर्ट नेगेटिभ आए पनि रोगले जर्जर भएको शरीर तङ्रिन नपाउँदै दुई दाजु गुमाउनुको पीडा र आमाको दुःखमा कोरा बस्नुपर्ने अवस्था सिर्जना भएको छ ।  

तिलमायाको मृत्युसँगै उदयपुरमा कोभिडले मृत्यु हुनेको संख्या १२ महिलासहित ३९ पुगेको छ । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार अघिल्ल्लो दिन मात्र त्रियुगाका एक र लिमचुङबुङ २ का ५५ वर्षीय पुरुषको मृत्यु भएको थियो । मृत्यु हुनेमा सबभन्दा कम उमेरकी ३४ वर्षीया महिला र सबभन्दा बढी उमेरका ९० वर्षीय पुरुष रहेका छन् ।  

बुधबारसम्म उदयपुरमा ४ सय ७२ महिलासहित १ हजार ४४ पुगेको छ । बुधबार त्रियुगा, बेलका, ताप्ली, उदयपुरगढी र रौतामाईमा गरी २० महिलासहित ३८ संक्रमित थपिएको स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीले बताएका छन् । उनका अनुसार त्रियुगामा १० महिलासहित १९, उदयपुरगढीमा ४ महिलासहित ७, ताप्लीमा २ महिलासहित ६, बेलकामा १ महिलासहित ५ र रौतामाईमा १ पुरुष संक्रमित थपिएका छन् ।  

जसमध्ये सदरमुकामस्थित आँखा अस्पतालको आईसोलेसनमा २ महिलासहित १७ जनाको  उपचारर भईरहेको छ । जसमध्ये १४ जनालाई अक्सिजन दिएर र बाँकी साधारण वार्डमा रहेको फोकलपर्सन शिवकुमार यादवले बताए । चौदण्डीगढीस्थित उदयपुर कोभिड अस्पतालमा २४ महिला र १८ पुरुष गरी ४२ जना उपचाररत रहेको फोकलपर्सन तेजबहादुर पोखरेलले बताएका छन् । उनका अनुसार बुधबार त्यहाँबाट ३ महिलासहित १० जना निको भएर घर फर्केका छन् । उदयपुरमा निको हुनेको संख्या २ सय ४९ पुगेको स्वास्थ्यले जनाएको छ ।

प्रकाशित: २० जेष्ठ २०७८ ०७:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App