१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मनाङमा घरभित्रै बाढी पस्यो, घर भत्किँदा तनहुँमा महिलाको मृत्यु

वर्षाले मनाङको चामेस्थित सडकमा पुगेको क्षति । तस्बिरः नागरिक

चारदिनदेखिको लगातारको वर्षाले हिमाली जिल्ला मनाङमा सडक सहित घरमा क्षति पु¥याएको छ । तनहुँमा भने पहिरोले घर पुरिँदा एकजना महिलाको ज्यान गएको छ । गोरखाका पहिरोले गोठ भत्काउँदा पशु क्षति भएका छन् ।

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार सदरमुकाम चामेमा घट्टेखोलाको भेलबाढी स्थानीयको घरभित्र पसेको छ । चामे बजारका १० वटा घरमा घट्टखोलाको भेल पसेको लामिछानेले बताए । उनका अनुसार स्थानीयको घरमा पसेको भेल र बालुवा पन्छाउन सेना र प्रहरी खटाइएको छ ।

‘घट्टखोलामा उर्लिएर आएको भेल स्थानीयको घरभित्र पस्न पुग्यो,’ उनले भने, ‘त्यसबाहेक केही घरका कटेरा पनि भत्केका छन ।’ मुल सडकमा भेल बग्दा झन्डै एककिलोमिटर दुरीको सडक क्षतविक्षत भएको उनले बताए । ‘सडकमा भेल पस्दा डेढमिटरसम्मको गहिरो खाडल परेको छ,’ उनले भने, ‘उर्लेर आएको भेलले सडक खोलेको हो ।’

त्यस्तै नयाँबजारको पुल छेउमा पनि कटान गरेको छ । ‘पुल त सुरक्षित छ । तर छेउमा कटान गर्दा पुललाई जोखिम बढाएको छ,’ उनले भने । चारदिनदेखि निरन्तर भईरहेको वर्षा शनिबार दिउँसो चारबजेदेखि रोकिएको उनले बताए । यसअघि विहीबार बेलुकी नै मनाङसँगको यातायात सञ्जाल बिच्छेद भएको थियो । लम्जुङको बेसीसहरदेखि मनाङको चामे जाने सडकको ठाउँठाउँमा पहिरो झरेको छ भने काठेपुल पनि बगेका छन । काठेपुल बग्दा मनाङसँगको यातायात सञ्जाल पूर्णरुपमा बिच्छेद भएको छ । चामे गाउँपालिका–१ को तिमाङखोला र स्यार्कु खोलाको काठेपुल बगेका छन ।  

मस्र्याङदी नदीमा पानीको वहाव बढेपछि मनाङ प्रवेशको नाका ताल गाउँको बस्तीलाई सचेत हुन अलर्ट जारि गरिएको छ । प्रजिअ लामिछानेका अनुसार मनाङको नासोँ गाउँपालिका–१ को ताल गाउँमा करिब ६० घर छन् । ती घर मस्र्याङदी नदिकै किनारमा छन् । सिरान क्षेत्रमा भीषण वर्षा भएकोले खोलाको वहावको जोखिम रहेको भन्दै तटीय क्षेत्रको तालगाउँका बासिन्दालाई सचेत हुन भनेको लामिछानेले बताए ।  

बंगालको खाडीमा न्यूनचापीय क्षेत्रमा विकसित भएको समुन्द्री आँधी ‘यास’ चक्रवातको असर गत मंगलबारदेखि नेपालमा पर्न थालेको थियो । जल तथा मौसम विज्ञान विभागले हिमाली क्षेत्रमा आरोहणमा रहेका आरोहीलाई यसअघि नै मौसममा बदली आउने भन्दै सचेत हुन आग्रह गरेको थियो । त्यसबाहेक हिमाली क्षेत्रमा हिमपात र वर्षा हुने भन्दै सबैतिर सचेत हुन समेत आग्रह गरिएको थियो । जिल्ला प्रशासन कार्यालय मनाङले पनि सुचना जारी गर्दै नदी तटिय क्षेत्रमा जोखिम रहेकोले सचेत हुन आग्रह गरेको थियो ।

वर्षासँगै घर भत्किँदा तनहुँमा एकजना महिलाको ज्यान गएको छ । निरन्तरको वर्षापछि घर भत्किँदा शनिबार बिहान एकबजे तनहुँको ब्यास नगरपालिका–१ निर्मलटोल बस्ने ६५ वर्षकी सरस्वती घर्तीको पहिरोले थिचिएर ज्यान गएको छ । घर माथिबाट झरेको पहिरोले घर भत्काउँदा घाइते भएकी घर्तीलाई उपचारका लागि जिल्ला अस्पताल दमौली लैजाने क्रममा बाटोमा नै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका एसपी विनोद सिलवालले बताए ।  

लागातारको वर्षातले गोठ भत्किदा गोरखाको सहीद लखनथापा गाउँपालिका–७ बुङ्कोट बनकालीमा भैसी र बाख्रा मरेका छन् । किसान धनबहादुर श्रेष्ठको एउटा भैसी, पाडा र बाख्रा मरेको वडा अध्यक्ष शरण श्रेष्ठले बताए । 

प्रकाशित: १५ जेष्ठ २०७८ ११:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App