२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

धादिङमा जेठ २२ गतेसम्म निषेधाज्ञा

धादिङबेसीमा भएको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठक। तस्बिरः नागरिक

धादिङ जिल्लामा जारी निषेधाज्ञा आगामी जेठ २२ गतेसम्मका लागि थपिएको छ ।  जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले आगामी जेठ २२ गते राती १२ बजेसम्मका लागि निशेधाज्ञा थपेको हो । यस अघि पहिलो पटक वैशाख २१ गतेदेखि ३१ गतेसम्म र दोस्रो पटक जेठ १ गतेदेखि जेठ १५ गतेसम्मका लागि निषेधाज्ञा गरिएको थियो । दोस्रो पटक थपिएको निषेधाज्ञाको समयवधि सकिनै लाग्दा पुनः थपिएको हो ।  

बैठकले कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा ५ बमोजिम निषेधाज्ञाको समयमा काम गर्न वाधा अवरोध सिर्जना गरेमा एक वर्षसम्म कैद वा ५ लाख रुपैयाँसम्म जरिवाना गरिने निर्णय गरेको छ । यस्तै मापदण्ड पालना नगरेमा ६ महिनासम्म कैद वा ३ लाख रुपैयाँसम्म जरिवाना वा दुबै सजायँ हुने, कुनै व्यक्तिले उल्लंघन गरेमा १ लाखसम्म र संस्थाले गरेमा ५ लाखसम्म जरिवाना हुने निर्णय गरेको छ । मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकैपिच्छे एकसय रुपैयाँ, मानिसको आवतजावतमा रोक लगाएको वा नियन्त्रण गरिएको अवस्थामा सो को उल्लंघन गर्नेलाई पटकैपिच्छे दुईसय रुपैयाँ जरिवाना लगाउने भएको छ ।

बैठकले सवारी साधनको आवतजावतमा रोक लगाएको अवस्थामा सम्बन्धित अधिकारीको अनुमतिविना वा सुरक्षाकर्मीलाई सूचना नदिई वा विरामी ओसारपसार गर्ने अवस्था बाहेक सवारी साधन चलाएमा पटकैपिच्छे २ पांग्रे सवारी साधन भए २ हजार रुपैयाँ र अन्य सवारी साधन भए पाँचहजार रुपैयाँ जरिवाना हुने भएको छ । तथा यस अनुसारका सवारी साधन सुरक्षाकर्मीले निश्चित समयसम्म नियन्त्रणमा लिनेछ ।

निषेधाज्ञाको अवधिभर सुर्ती, चुरोट र मदिराजन्य उत्पादनहरु जिल्लाभित्र एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्न र बिक्रि वितरण गर्न रोक लगाइएको छ । अत्यावश्यक सेवामा संलग्न हुने कर्मचारीलाई आइतबारदेखि बिहिबारसम्म बिहान ९ देखि १० बजेसम्म र साँझ ५ देखि ६ बजेसम्म, शुक्रवार विहान ९ देखि १० बजेसम्म र दिउँसो ३ देखि ४ बजेसम्म पोशाक र परिचयपत्रका आधारमा मात्र आवतजावत गर्न दिने बताइएको छ ।  

जिल्ला भित्रका बैंक तथा वित्तिय संस्थाहरु आलोपालो प्रणाली अनुसार न्युनतम कर्मचारी खटिइ, स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गरी गराई हप्ताको बढिमा २ दिन मात्र खोल्ने निर्णय भएको छ । यस्तै बागमती प्रदेश सरकार मार्फत स्वास्थ्य कार्यालयमा उपलब्ध ४ हजार एन्टिजेन किट आवश्यकता र औचित्यका आधारमा स्थानीय तहलाई वितरण गर्ने, थप किट ल्याउन पहल गर्ने निर्णय समेत भएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताए ।

प्रकाशित: १५ जेष्ठ २०७८ ०८:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App