२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

कोरोनाबाट दुई महिनामा चार हजारको मृत्यु

कोरोना संक्रमणबाट नेपालमा करिब दुई महिनाको अवधिमा ४ हजार १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ। शुक्रबार थप ९६ जनाको मृत्युसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ४७ जना पुगेको हो। 

चैतको २० भन्दा अघिसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३२ जनाको रहेकोमा दुई महिना नपुग्दै ४ हजार १५ जनाको मृत्यु भएको हो। नेपालमा गत वर्षको यही अवधिको तुलनामा नेपामा कोरोनाबाट मृत्यु हुनेको संख्या १.४ प्रतिशत वृद्धि भएको देखिन्छ। गत वर्ष यही अवधिमा नेपालमा मृत्युदर ०.२ प्रतिशत थियो।  

यो वर्ष नयाँ भेरिन्टको तीव्र संक्रमण दरले छोटो समयमै धेरैमा फैलिनु, धेरै संक्रमित हुँदा गम्भीर लक्षण भएकाहरूको संख्या बढ्नु, सबैले बेलैमा सुविधासम्पन्न अस्पतालमा नपुग्नु र पुगेका अस्पतालहरूमा पनि बिरामीको चापअनुसार उचित व्यवस्थापन हुन नसक्नुले मृत्यु संख्या बढेको विज्ञले औंल्याएका छन्। राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्यण महाशाखााका प्रमुख डा. कृष्णप्रसाद पौडेलले भने, ‘एकैपटक धेरै बिरामी अस्पताल पुगेपछि राम्रो हेरचाह नपुगेर पनि बिरामीको धेरै मृत्यु भएको हो।’ निषेधाज्ञासँगै संक्रमण घट्दै गएपछि मृत्यु पनि घट्दै जाने डा. पौडेलले बताए।  

शुक्रबार कोरोना संक्रमणदर अघिल्लो दिनकै दरमा देखिएको छ। गत २४ घन्टामा परीक्षण भएका २० हजार १ सय १० वटा नमुनामध्ये ६ हजार ९ सय ५१ जनामा कोरोना पुष्टि भएको हो। यो हिसाबले शुक्रबारको कोरोना संक्रमण दर ३४ प्रतिशत देखिन्छ। थप संक्रमितसहित नेपालमा कुल संक्रमितको संख्या ५ लाख ४९ हजार १ सय ११ जना पुगेका छन्। तीमध्येमा संक्रमणको दोस्रो लहर सुरु भएयता मात्र २ लाख ९६ हजार २ सय ४५ जना छन्। 

देशभरिमा सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३ सय ९४ जना छन्। तीमध्ये १ लाख ५ हजार ४ सय ४४ जना होम आइसोेलेसनमा छन् भने ७ हजार ९ सय ५० जना संस्थागत आइसोलेसनमा छन्। गम्भीर लक्षण भएका १ हजार ६ सय २७ जनाको आइसियुमा र ४ सय ५० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रकाशित: १५ जेष्ठ २०७८ ०२:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App