४ वैशाख २०८१ मंगलबार
समाज

८० वर्षपछि फेरियो कुमारीको आसन

ललितपुरकी जीवित देवी कुमारीको आसन ८० वर्षपछि फेरिएको छ। ललितपुर महानगरपालिका वडा नं १६ स्थित रत्नाकर महाविहारमा रहेको कुमारी घरमा जीवित देवी कुमारीलार्ई बिहीबार पहिलोपटक नयाँ आसनमा विराजमान गराइयो।  

यसअघि महाविहारमा गुरुजु (बेताजु) बुद्धरत्न बज्राचार्यले संकल्प र पञ्चोपचार पुजा गरे। त्यसपछि ललितपुर महानगरपालिका वडा नं १६ कोतर्फबाट सदस्य सुप्रभा शाक्यले विहारका ज्येष्ठ सदस्य चक्रेश्वर आजु (ज्येष्ठ सदस्य) ज्ञानबहादुर बज्राचार्य र सिद्धिरत्न बज्राचार्यलाई आसन हस्तान्तरण गरे।

नयाँं आसनमा चाँदीको कलात्मक आसनमा सुन लेपन गरिएको छ। वरिष्ठ कलाकार प्रचण्ड शाक्यले उक्त आसन तयार गरेका हुन्। यसअघिको पुरानो आसनको ढाँचालाई हेरेर कलात्मक तरिकाले नयाँ आसन तयार गरिएकोे जनाइएको छ। नयाँ आसनको लागत सात लाख ५० हजार रुपैयाँ रहेको जनाइएको छ ।

हरेक दिन अब नियमित पूजाको लागि जीवित देवी कुमारी यो आसनमा बिराजमान हुनेछ। यसअघिको आसन निकै पुरानो र जीर्ण भएकोले नयाँ आसनको लागि ललितपुर महानगरपालिका वडा नं १६ वडा अध्यक्ष निर्मलरत्न शाक्यलाई एक वर्षअघि आग्रह गरिएको गरिएको थियो। महाविहारका आजु सिद्धिरत्न बज्राचार्यले नयाँ आसन हस्तान्तरण गरेर वडाले संस्कृतिप्रति सम्मान गरेको अनुभूत गरेको प्रतिक्रिया दिए।

अहिलेको आसन नेपाल संवत् १०६१ मा हर्खराज बज्राचार्य र उनको परिवारले प्रदान गरेको बताइएको छ। जीवित देवी कुमारीको परम्परा नेपालकै एउटा पहिचानको अन्तर्राष्ट्रिय रुपमा परिचित छ।

नेवाः संस्कृति र जात्रा पर्वमा जीवित देवीको विशिष्ट स्थान रहेको छ। रातो मच्छिन्द्रनाथ तान्ने बेला, भोटो जात्रा, बडा दशैको अवसरमा पाटन दरबार क्षेत्रमा हुने पूजाआजामा कुमारीलाई आसनमा राखेर उपस्थिति गराउने गर्दछ।

नयाँ आसन हस्तान्तरणले कुमारी परम्परालाई निरन्तरता दिइरहेका गुठीयार, तिनका परिवारलाई मात्र नभई संस्कृति संरक्षणमा लाग्ने सबैका लागि गौरव र खुशीको अनुभूत गराएको बौद्ध विहार संघ उपाध्यक्ष करुणारत्न बज्राचार्यले बताए। वडा कार्यालयले गतवर्ष कार्तिक नाचमा मुख्य आकर्षक रहेको बाराही र नरसिह अवतार नाचमा कलाकारहरुले लगाउने कलात्मक नयाँ मुकुट प्रदान गरेको थियो।

प्रकाशित: ३० वैशाख २०७८ १३:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App