२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

कोरोनाबाट नेपालगन्जमा एकैघरका तीन दाजुभाइको मृत्यु

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ स्थित सोनार मण्डी यतिबेला पुरै शोकमा डुबेको छ । एउटै घरका तीन दाजुभाइको कोरोना संक्रमणबाट मृत्यु भएपछि टोल शोकमा डुबेको हो।  

नेपालगन्ज–३ का वडाध्यक्ष मोहम्मद अयुव सिद्धिकीका अनुसार उक्त टोलका एकैघरका तीन दाजुभाइको तीन दिनको फरकमा मृत्यु भएको हो। सिद्धिकीका अनुसार घरका माईला छोरा ४२ वर्षीय जाहिर अहमद हल्वाईको बुधबार कोरोना संक्रमणबाट भेरी अस्पतालमा मृत्यु भएको थियो।  

उनको मृत्युले परिवार शोकमै डुबेका बेला त्यसको भोलिपल्टै ४८ वर्षीय अर्का छोरा ईजाज अहमद हल्वाईको मृत्यु भयो। त्यसपछि पनि घरमा मृत्यु हुनेको श्रृंखला रोकिएन। परिवारकै अर्का छोरा ५२ वर्षीय ईन्तियाज अहमद हल्वाईको पनि शुक्रबार मृत्यु भयो। भेरी अस्पतालमा उपचारका क्रममा उनको बिहान ३ बजेतिर मृत्यु भएको थियो। भेरी अस्पतालमा यही वैशाख १६ गते पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पुष्टी भएको थियो।  

वडाध्यक्ष सिद्धिकीले घरमा अझैपनि केही ब्यक्ति बिरामी रहेको बताए। घरमा अझै केही बिरामी भएर थला परेका छन्। उनीहरुलाई पनि कोरोनाको लक्षण रहेको छ। ‘घरमा अझैपनि ईन्तियाजको श्रीमती बिरामी छिन्,’ उनले भने, ‘कोरोना भाइरसले तीन दिनमै एकै घरका तीन जनाको ज्यान लियो।’  

मृतक सबैको मुस्लिम धर्म अनुसार अन्त्येष्टी गरिएको छ। एकै घरका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएपछि टोल शोकमा डुबेको वडाध्यक्ष सिद्धिकीले सुनाए। उक्त वडाकै बासिन्दा संविधान सभा सदस्य मोहम्मदी सिद्धिकीको पनि यसअघि कोरोना संक्रमणबाट मृत्यु भएको छ। उक्त वडामा अहिलेसम्म कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भइसकेको वडाध्यक्ष सिद्धिकीले जानकारी दिए।

प्रकाशित: २४ वैशाख २०७८ १३:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App