५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

आज प्रेस स्वतन्त्रता दिवस: पेसागत सुरक्षा संकटमा

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका निम्ति महत्वपूर्ण मानिएको प्रेस स्वतन्त्रता दिवस सोमबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यो दिवस हरेक वर्ष मे ३ तारिखमा मनाइन्छ। यस वर्ष यो दिवसको नारा ‘सार्वजनिक सम्पत्तिका रूपमा सूचना’ भन्ने तय गरिएको छ।  

नेपाल पत्रकार महासंघले सूचना र समाचार सबैभन्दा ठूलो सम्पति भएकाले यसको वितरण र आदानप्रदानलाई सहज बनाउनुपर्ने जनाएको छ। महासंघका अध्यक्ष विपुल पोखरेलले शुभकामना सन्देश जारी गर्दै प्रेस स्वतन्त्रता दिवस प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधरका लागि महत्वपूर्ण दिन भएको बताएका छन्।  

यस दिवसका अवसरमा नेपालका विभन्न तहमा बन्न थालेका ९ वटा कानुनको मस्यौदामाथिको विश्लेषणात्मक टिप्पणीसमेत सार्वजनिक गरिनेछ। यी दुई सामग्रीले नेपालमा प्रेस स्वतन्त्रताको पछिल्लो अवस्थालाई स्पष्ट देखाउने विश्वास गरिएको छ। महासंघले पत्रकारहरू यतिबेला कोरोना चुनौतीसँगै पत्रकारिता कर्मलाई निरन्तरता दिनुपर्ने अवस्थामा रहेको र यस्तो अवस्थामा कोरोनाको बाहना देखाएर सञ्चारगृहबाट पत्रकारलाई विस्थापित गराउने खतरा बढेको जनाएको छ।

तथ्यांक अनुसार कोरोना महामारीको समयमा पेशागत सुरक्षाको सन्दर्भबाट पीडित पत्रकारको संख्या ५ सय १७ छ। यो अवस्थालाई दृष्टिगत गर्दै महासंघले सञ्चार संस्थाहरूलाई कोरानाको बहानामा सञ्चारकर्मीलाई निष्काशन नगर्न, सेवासुविधामा कटौती नगर्न र सञ्चारकर्मीको स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरेको छ। पत्रकार महासंघको अभिलेखमा प्रेस स्वतन्त्रतामाथि प्रहारका घटनाहरू यो वर्ष ४५ वटा छन्।  

ती घटनाबाट ५ सय ८४ पत्रकार र ३ वटा सञ्चारसंस्था पीडित छन्। ५ सय ८४ पत्रकारमध्ये ७७ महिला छन्। महासंघको अभिलेखअनुसार ६ जना पत्रकार गिरफ्तारीमा परे भने कब्जा, अवरोधबाट ४ जना पत्रकार पीडित भए। त्यसैगरी आक्रमणबाट ४८ र दुव्र्यवहार, धम्कीबाट १२ जना पत्रकार पीडित भए। त्यस्तै ५ सय १७ जना पत्रकार विस्थापनमा परेको महासंघले जनाएको छ। महासंघले राज्यले पनि पत्रकारिता क्षेत्रलाई स्वनियमनतर्फ प्रोत्साहित गर्दै लोकतान्त्रिक मूल्यभित्र रहेर पत्रकारिता प्रबद्र्धनका लागि थुप्रै काम गर्न बाँकी रहेको जनाएको छ।  

नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिका अध्यक्ष बालकृष्ण अधिकारीले पनि शुभकामना सन्देश जारी गर्दै पूर्ण स्वास्थ्य सावधानीसहित कार्यसम्पादनमा सक्रिय रहन पत्रकारलाई अनुरोध गरेका छन्। कोरोना भाइरसको पहिलो मात्र होइन, दोस्रो लहरले स्वास्थ्य मात्र नभई आर्थिकरुपमा सबै क्षेत्र आक्रान्त भएको भन्दै त्यसकै बहानामा सञ्चारकर्मीलाई निष्काशन गर्ने, सेवासुविधा कटौती गर्ने कार्य नगर्न पनि उनले सञ्चारगृहलाई आग्रह गरेका छन्। ‘सञ्चारगृह र सञ्चारकर्मी एक सिक्काका दुई पाटा भएकाले संकटको यस समयमा पनि समन्वयका आधारमा अघि बढ्न र कोही कसैलाई कामबाट ननिकाल्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छु,’ सन्देशमा उल्लेख छ।

प्रकाशित: २० वैशाख २०७८ ०१:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App