६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

परीक्षा अगाडि प्रश्नपत्र बाहिर ल्याएको आरोपमा कर्मचारीसहित १० जना पक्राउ

पूर्वाञ्चल विश्वविद्यालयको प्रश्नपत्र परीक्षा अगाडि नै बाहिर ल्याएको आरोपमा कर्मचारीसहित १० जना पक्राउ परेका छन् ।  

विश्वविद्यालयको इन्जिनियरिङ संकायको स्नातक दोस्रो सेमिस्टरको भौतिकशास्त्र विषयको गत वैशाख ३ गते परीक्षा हुनुभन्दा दुई घण्टा अगावै प्रश्नपत्र बाहिरिएको थियो । आइतबार पत्रकार सम्मेलन गर्दै मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले परीक्षा अगाडि नै प्रश्नपत्र बाहिरिएको घटनामा संलग्न भएको आरोपमा कर्मचारीसहित १० जना पक्राउ परेको बताए ।

विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका सहायक विराटनगर–८ का ४४ वर्षीय कोमलप्रसाद गौतम, संखुवासभाको मादी–६ का ३५ वर्षीय गोपाल कार्की, रुपन्देही तिलोचन–१२ का ३० वर्षीय विजय पोखरेल, गोर्खाको भीमसेनथापा–१ का ३२ वर्षीय मीनप्रसाद भट्ट र गोर्खाकै गण्डगी गाउँपालिका–३ का ३२ वर्षीय भरत पन्त पक्राउ परेका छन् ।  

त्यस्तै गोर्खा नगरपालिका–४ का २६ वर्षीय विकाश खड्का, सिन्धुपाल्चोक बाह्रविसे–४ का २८ वर्षीय निर्मल खड्का, महोत्तरीको रामगोपालपुर–९ का २९ वर्षीय नानीपथ मण्डल, सप्तरीको वोदेवरसाइन–७ का २९ वर्षीय जीवनकुमार यादव र सप्तरीकै कृष्णसवरण–५ घर भई भक्तपुर लोकन्थली बस्ने २६ वर्षीय महेश यादवलाई पक्राउ गरेको एसपी खड्काले बताए ।  

पक्राउ परेका कार्कीले विश्वविद्यालयका कर्मचारी गौतमसँग मिलोमतो गर्दै प्रश्नपत्र बाहिर ल्याइएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । कार्की काठमाडौंको मीनभवनस्थित क्याफोकेट कलेजको एमएसी दोस्रो वर्षमा अध्ययनरत छन् । विश्वविद्यालयका कर्मचारी गौतम र महेश यादव विराटनगरबाट पक्राउ परेका हुन् भने अन्य ८ जनालाई काठमाडौंबाट पक्राउ गरी शनिबार विराटनगर ल्याइएको एसपी खड्काले बताए । विश्वविद्यालयले घटनाको अनुसन्धान गर्न दिएको उजुरीसँगै थालेको अनुसन्धानबाट प्रश्नपत्र विश्वविद्यालयकै फोटोकपि शाखाबाट बाहिरिएको खुलेको प्रहरीले जनाएको छ ।  

८० हजार रुपैयाँ दिने सर्तमा कर्मचारी गौतमबाट दुई दिनअघि सामाजिक सञ्जालको प्रयोग गरेर प्रश्नपत्र बाहिर ल्याएको र कार्कीले ८० हजार रुपैयाँमा उक्त प्रश्नपत्र विजय पोखरेललाई बिक्री गरेको पाइएको छ । त्यसपछि क्रमश पोखरेलले भट्टलाई र भट्टले पन्तलाई २०–२० हजार रुपैयाँमा बिक्री गरेको अनुसन्धानबाट खुलेको छ । पन्तबाट लिएर विकाश खड्काले निर्मल खड्कालाई १० हजार रुपैयाँ बेचेको । निर्मलबाट नानीपथ मण्डल हुँदै प्राप्त गरेका जीवनकुमार यादवले प्रश्नपत्र महेशलाई ४ हजार रुपैयाँमा बिक्री गरेको एसपी खड्काले बताए ।  

विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयका प्रमुख प्रा.डा. सूर्यप्रसाद संग्रौलाका अनुसार दिउँसो १ बजेदेखि सञ्चालन हुने परीक्षाको प्रश्नपत्र बाहिरिएको कुरा बिहान ११ बजे मात्रै थाहा भयो । प्रश्नपत्र बाहिरिएको थाहा पाउना साथ तत्काल अर्को प्रश्नपत्र तयार पारेर परीक्षा सञ्चालन गरेको संगौलाले बताए ।

पक्राउ परेकाविरुद्ध शिक्षा ऐन २०२८ को दफा १७ बमोजिम मुद्दा चलाउन आइतबार म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रकाशित: १२ वैशाख २०७८ १५:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App