coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भक्तपुरमा मेलम्चीको पानी एक महिनाभित्र

मेलम्चीको पानी एक महिनाभित्र भक्तपुरमा पठाइने भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा भक्तपुर नपा खानेपानी समितिको प्रतिनिधिमण्डल टोलीले बिहीबार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख मिलनकुमार शाक्यसँगको भेटमा भक्तपुरमा एक महिनाभित्र पठाइने जनाएको हो । हाललाई बोडेको खानेपानी ट्यांकीमार्फत वितरण गर्न सकिने विषयमा छलफल भएको जनाइएको छ ।

सोही क्रममा नगर प्रमुख प्रजापतिले काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको बैठकबाट मेलम्चीको पानी पहिलो चरणमै भक्तपुरमा पठाउने सहमति भएकोतर्फ ध्यानाकर्षण गराए । उनले भक्तपुरमा खानेपानीको निकै हाहाकार भइरहेको अवस्थामा स्थानीय जनताले मेलम्चीको खानेपानी छिटै भक्तपुर आउने आशा गरेको पनि बताए । भक्तपुरमा भएको खानेपानी समस्या समाधनको लागि भक्तपुर नपाले नगरभरिका वडाहरूमा ट्यांकरमार्फत खानेपानी वितरण गर्दै आइरहेको अवगत गराउँंदै उनले भक्तपुरमा यथाशक्य छिटो मेलम्चीको पानी पठाउन आग्रह गरे ।  

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख मिलनकुमार शाक्यले भक्तपुरमा मेलम्चीको पानी वितरणको लागि कटुञ्जेको ट्यांकीसम्म पाइप जोड्ने कार्य भइरहेको अवगत गराउँदै करिब एक महिनाको समयअवधिमा मेलम्चीको पानी भक्तपुरमा पठाउने प्रतिबद्धता जनाए । उनले मध्यपुर थिमी नपामा मेलम्चीको पानी स्थानीयलाई वितरण सुरु भइसके पनि भक्तपुरको सन्दर्भमा केही समय लाग्ने बताए । केयुकेएलले पानीको अभाव भएको ठाउँहरूलाई प्राथमिकतामा मेलम्चीको पानी वितरणमा जोड दिँदै आएको उनले बताए । 

यसअघि पहिलो पटक बुधबारदेखि भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ९ मा मेलम्चीको पानी खसेको थियो । छलफलमा भक्तपुर नपा खानेपानी समितिका सदस्यहरु उकेश कवां, श्यामकृष्ण खत्री र महेन्द्र खायमलीको पनि उपस्थिति थियो ।

प्रकाशित: ९ वैशाख २०७८ १३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App