विश्वव्यापी कोभिडको लकडाउनले गतवर्ष दसैं, तिहारलगायत महत्वपूर्ण चाडपर्व खुलेर मनाउन कसैले पाएनन्। चैत ११ गतेदेखि देशव्यापी भएको लकडाउनका कारण नयाँ वर्ष ०७७ देखि दसैं, तिहार, छठ, साकेला उधौली–उभौली, माघी, नेपाल संवत र ल्होसारसम्मका चाड पर्वहरु नेपालीहरुले घरभित्रै बसेर मनाउनु पर्यो।
नेपालजस्तो चाडैचाड र पर्वैपर्वले भरिएको मुलुकबासी कोभिड त्रासले एक वर्ष कुनै चाडपर्व मनाउन नपाउँदा उकुसमुकुस भएका थिए। कोभिड संक्रमण भर्खरै फैलिन थालेका बेला आएको ०७७ सालमा उत्सव मनाउन नपाएकाले नयाँ वर्ष ०७८ लाई भने खुलेर स्वागत गरेका छन्। केही समयअघि कोभिडको अर्को रुप बेलायतमा देखा परेपछि विश्वमा अर्कोखाले संक्रमणको त्रासले फागुनमा परेको होली खुलेर मनाउन नपाएका स्थानीयले नयाँ वर्ष मनाउन भने कसर बाँकी राखेनन्।
पछिल्लो समय भारतमा दैनिक हजारौंको संख्यामा कोभिड संक्रमित फेलिइरहदा नेपाल फर्केका केहीमा पनि पछिल्लो पटक पुष्टि भएको ‘डबल म्युटेन्ट भेरियन्ट’ जातको नयाँ भाईरसका संक्रमित देखा परिसकेका छन्। तर, नयाँ वर्ष मनाउन यस्ता कुनै कोभिड त्रासको प्रभाव नदेखिएको पाइएको छ। नयाँ वर्षलाई स्वागत गर्न अघिल्लो दिन नै जिल्लाको पर्यटकीय तथा धार्मिकस्थल रौतापोखरी पुगेका आन्तरिक पर्यटक कृष्ण घिमिरेले सँधै कोभिडको डर पालिराख्न नहुने बताए। एकताका धेरै त्रासले बाँच्नु परेको भन्दै उनले वर्षदिनसम्म कोरोनाकै डरले चाडपर्व मनाउन नपाएकाले अब जनता नडराई चाडपर्व मनाउन थालेको घिमिरे बताउँछन्।
अर्का पर्यटक सुनिता सेंढाईले कोरोनाको त्रासले लकडाउनभरी घुमफिर र हिड्डुल गर्न नपाउँदा धेरै मान्छेहरु मानसिक र शारीरिक रोगको सिकार हुनुपरेको बताईन्। अन्य देशको तुलनामा नेपालीहरु बढी स्वतन्त्र र खुलेर हिँड्डुल, घुमफिर गर्ने तथा धेरै किसिमका चाडपर्वहरु मनाउने गरेकाले कोभिडले मान्छेलाई ६ महिना वर्षदिनसम्म खुम्चेर बस्न, सामाजिक गतिबिधिबाट बाहेक गर्दा संक्रमणभन्दा बढी मानसिक तनावमा पारेको उनी बताउँछिन्।
नयाँ वर्ष मनाउन आउने आन्तरिक पर्यटकले रौतापोखरी चैत मसान्तदेखि नै भरिभराउ भएको स्थानीय व्यापारी साईमन राईले बताए। सदरमुकाम गाईघाटका व्यापारी व्यवसायीदेखि राजनीतिककर्मी, अधिकारकर्मी, पत्रकार, गृहीणी र सर्वसाधारण धेरैको रौतापोखरीमा उपस्थिति रहेको उनले बताए। रौता आउनेहरुमध्ये अधिकतर घुमफिर र रमाईलो गर्न आएका थिए भने आधाजसो भक्तजनको रुपमा दर्शन गर्न आएको स्थानीयले बताएका छन्। यस पटकको नयाँ वर्षमा झण्डै १५ हजारले रौतापोखरीको भ्रमण गरेको वडा कार्यालयले जनाएको छ।
अहिले रौतापोखरीलाई पहिलेभन्दा धेरै पर्यटकमैत्री बनाइएको छ। साविकभन्दा पाखेरी यथावत राखेर अन्य ठाउँमा पूर्वाधार निर्माण गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले गत आर्थिक वर्षको बजेटबाट रौताको बृहत्तर पर्यटन विकास अन्तर्गत मन्दिर पुग्ने सिंढी निर्माण गर्नुका साथै बिभिन्न ५ देवदेवताका मूर्ति प्रतिष्ठापन गरेको छ। सदरमुकामलगायत दक्षिणतर्फको प्रवेशद्वारदेखि मन्दिरसम्म पुग्ने सडकलाई स्तरोन्नति गरिएको छ। यस्तै, पश्चिम र उत्तरतर्फबाट पोखरीसम्म आउन तल्लो पोखरीदेखि १ सय मिटर उचाईमा ढुंगाको सिंढी बनाइएको छ। दायँबायाँ समाउने फलामे रेलिङसहितको सिंढी चढेर मन्दिर पुग्नुअघि बिसाउन चौतारो (कटेज) बनाइएको छ।
पोखरीभन्दा माथितिर बिभिन्न थुम्काहरुमा ४ वटा मूर्ति प्रतिस्थापन गर्दै त्यहाँसम्म पुग्न सिंढी निर्माण गरिएको छ। गाउँपालिका अध्यक्ष गजेन्द्र खड्काले पोखरीदेखि माथितिर घुम्न जाने सिंढीकै चक्रपथ निर्माण गरिएको बताए। चक्रपथभित्र झण्डै २ सय मिटरको दूरीमा गणेश, एलम्बर, बुद्ध र शिव–पार्वतीको मूर्ति निर्माण गरी भक्तजन र पर्यटकलाई आकर्षण थप्ने काम गरिएको अध्यक्ष खड्काले बताए। गाउँपालिकाले आर्थिक वर्ष ०७५/७६ मै गुरुयोजना बनाएर बृहत पर्यटन विकासको खाका कोरे अनुसार गतवर्ष २२ लाख लागतमा सो काम सम्पन्न भएको उनले बताए।
गाउँपालिकाले पर्यटन विकास अन्तर्गत रौतापोखरीलाई जिल्लाको मात्र नभएर प्रदेशकै उत्कृष्ट पर्यटन गन्तव्य बनाउने योजनाका साथ पूर्वाधार निर्माणमा लागेको जनाएको छ। जसका लागि प्रारम्भिक चरणका कामहरु भईसकेको र अन्य भौतिक पूर्वाधारका संरचनाहरु निर्माण कार्य चलिरहेको छ। चालु वर्षकै बजेटबाट पोखरीभन्दा केही तल १६ कोठाको अतिथिगृह भवन निर्माण भईरहेको र पहिलो तला सम्पन्न भईसकेको अध्यक्ष खड्काले बताएका छन्।
प्रकाशित: २ वैशाख २०७८ १२:४१ बिहीबार