७ वैशाख २०८१ शुक्रबार
समाज

मेलम्चीको पानी वितरण

फाइल तस्बिर

मेलम्चीको पानी ल्याएर काठमाडौंका बासिन्दालाई खुवाउने तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको योजना २१ वर्षपछि बल्ल पूरा भएको छ। महांकालस्थित पानी ट्यांकीबाट चाबहिल र महांकाल क्षेत्रमा आइतबार मेलम्चीको पानी वितरण गरिएको छ। वितरणसँगै उपत्यकावासीले दुई दशकदेखि देख्दै आएको मेलम्ची सपना सार्थक बनेको छ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) अन्तर्गतका ट्यांकीहरूमा मेलम्चीको पानी भरिएको छ। मीनभवन, अनामनगर, खुमलटार, पानीपोखरी, बालाजु, बाँसबारीलगायत क्षेत्रमा सोमबार पानी वितरण हुनेछ। पहिलो दिन आइतबार साढे चार करोड लिटर पानी वितरण गरिएकोमा सोमबारदेखि साढे आठ करोड लिटर वितरण हुनेछ। परीक्षणका लागि पहिलो चरणमा वितरण गरिएको पानी नपिउन केयुकेएलले आग्रह गरेको छ।  

पहिलोपटक मेलम्चीको पानी धारामा खस्दा उपत्यकावासी खुसी भएका छन्। ‘म सानो छँदै यो आयोजनाको निकै चर्चा थियो, धेरै सरकार फेरिए, बल्ल मेलम्ची खानेपानी सपना पूरा हुँदैछ,’ तीनकुनेका राम बस्नेतले भने, ‘अब उपत्यकामा पानीको अभाव हुनेछैन।’ यो आयोजना सबैभन्दा धेरै समय लगाएर सम्पन्न गरिएको हो। उपत्यकाका अधिकांश ठाउँमा मेलम्चीको पानी वितरण गरिनेछ। भौगोलिक अवस्थाका कारण मेलम्चीको पानी वितरणका लागि पाइप बिछ्याउन नसकिएका उपत्यकाका केही ठाउँमा आसपासका मूल, मुहान र खोलाको पानी पठाइनेछ।

आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता तिरेश खत्रीका अनुसार मेलम्चीको पानी सुरुमा सबै धारा र पाइपहरूमा छाडिनेछ। सबैतिर पानी वितरण सहज हुने देखिएपछि मात्रै नियमिति रूपमा वितरण गरिने प्रवक्ता खत्रीको भनाइ छ। उनले भने, ‘हामीले घरघरको धारामा पानी पठाउँदा कत्तिको चुहावट हुन्छ भनेर अध्यनन गर्नुपर्ने हुन्छ। 

आइतबार वितरण गरिएको क्षेत्रमा कुनै समस्या देखिएन।’ उनका अनुसार कतिपय ट्यांकी सफा गर्ने र निर्माणाधिन अवस्थामा छन्। कतिपय पाइप र धारा जडानमा त्रुटि पनि देखिएको छ। ‘पुरानै पाइपलाइनमा पनि पानी पठाउनुपर्ने अवस्था छ। त्यसकारण चुहावट हुन सक्छ। अहिलेको वितरणलाई परीक्षणका रूपमा लिऔं,’ उनले भने। उनले सहज ढंगले पानी घरघरमा वितरण हुने बताए।

केयुकेएलका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले पुराना पोखरीहरूमा पनि मेलम्चीको पानी भरिने जानकारी दिए। ‘सुरुमा घरघरमा पानी पठाए पनि पिउन मिल्दैन,’ उनले भने, ‘सबै धारा र जडानमा समस्या देखिएन भनेमात्रै पालो अनुसार घरघरमा पिउनयोग्य पानी पठाइनेछ।’ आयोजना अघि बढाउन २०५६ सालमा मेलम्ची खानेपानी विकास समिति गठन भएको थियो। महत्वाकांक्षी योआयोजना निर्माणका लागि एसियाली विकास बैंकले सन् २००१ मा सम्झौता गरेसँगै आयोजनाको कामले गति लिएको थियो।

प्रकाशित: १६ चैत्र २०७७ ०१:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App