२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

डढेलोको सन्त्रास

पाँचथरको कुम्मायक गाउँपालिकामा लागेको डढेलो नियन्त्रण गर्दै प्रहरी । तस्बिर : जिल्ला प्रहरी कार्यालय पाँचथर

पछिल्लो साता पाँचथरको कुम्मायक गाउँपालिकाको विभिन्न स्थानमा रहेको वनमा डढेलो लाग्दा स्थानीय बासिन्दा तथा सुरक्षा निकायलाई हैरान भयो। गाउँले र नेपाल प्रहरीले मात्रै डढेलो नियन्त्रणमा लिन नसक्ने अवस्था आएपछि सदरमुकाम फिदिमबाट शसस्त्र प्रहरी, दमकलसहितको टोली कुम्मायक गाउँपालिकाका विभिन्न ठाउँमा पुग्यो। एक पल्ट हैन पटक–पटक डढेलो नियन्त्रणका लागि परिचालित हुनुपर्ने अवस्था छ।

जंगलमा लागेको आगो बस्तीमा आउन नदिनका लागि अनेकन उपाया अपानाउनु पर्ने हुन्छ। दमकल जान सक्ने बाटोमा सदरमुकामबाट पठाइएको छ भने बाँकी ठाउँमा मानवीय प्रयासबाट नै आगो नियन्त्रण गर्नुपर्ने बाध्यतात्मक अवस्था छ। वन डिभिजन कार्यालय पाँचथरका अनुसार पछिल्लो पल्ट कुम्मायक गाउँपालिकाका ६ स्थानमा डढेलो लागीसकेको छ। सुख्खा क्षेत्र भएको तथा अत्याधिक हावा चल्ने भएकाले आगो बस्ती आउने पिरलोले सताउँछ। ‘बर्षेनी हावा हुरीको सिजनमा वनमा डढेलो लाग्दा गाउँमा त्रास फैलिन्छ। यसपाली एकठाउँ हैन ठाउँ-ठाउँ डढेलो लागेपछि नियन्त्रणका लागि हैरानी भएको छ’ कुम्मायकको यासोकका खेम निरौला भन्छन् ‘जंगलमा आगो कसैले लगाएको हुन सक्छ। यसको अनुसन्धान गरी कार्बाही गर्न सके घटना दोहोरिदैन थियो।’

जंगलमा लागेको डढेलो बस्तीमा आएर घर/गोठ जलाएको विगतमा नमिठा उदाहरण छन्। केही वर्षअघि कुम्मायककै स्याबरुम्बामा बस्तीमा आगो पस्दा ठूलो क्षति भएको थियो। गतवर्ष मात्रै हिलिहाङ गाउँपालिकामा जंगलको आगो गाउँ पसेको थियो।  

‘ठाउँठाउँमा डढेलो लागेको खवर आउँछ। बस्तीमा जान नदिनका साथै नियन्त्रणका लागि टोली दौडिन्छ। चैतका पछिल्ला दिनहरुमा त डढेलोले हैरान पारेको छ’ पाँचथरका प्रहरी प्रमुख डिएसपि दानबहादुर थापा भन्छन् ‘वन क्षेत्रको आगो नियन्त्रणका लागि उत्तिकै कठिन छ। सुरक्षा निकायले स्थानीयसँग मिलेर नियन्त्रणको प्रयास गरीरहेका हुन्छौँ। सबैठाउँ दमकल पुग्ने अवस्था छैन।’

डढेलो लाग्न नदिनका लागि स्थानीय स्तरमा सचेतना बढाउनुपर्ने आवश्यकता रहेको थापा बताउँछन्। ‘केही ठाउँमा चरनका लागि डढेलो लगाएको भन्ने किसिमका गुनासो आएका छन्। अनुसन्धान गर्दैछौँ’ थापाले भने। तमोर नदिले छोएका सुख्खा क्षेत्रमा बढी डढेलो लाग्ने गरेको छ। झ्यास डढेर घास आउने आशले पनि आगो लगाउने गरेको बताइन्छ। सदरमुकाम फिदिम दुईवटा दमकल रहेका छन्। तर सबै गाउँ लैजान सकने अवस्था छैन। जिल्लाका विभिन्न ठाउमा डढेलो लाग्ने क्रम बढिरहेको छ। वन डिभिजन कार्यालय पाँचथरका अनुसार हिलिहाङ गाउँपालिकाका ६ वटा वन क्षेत्रमा डढेलो लागेको छ। फिदिम नगरपालिका, मिक्लाजुङ गाउँपालिकका विभिन्न वनमा डढेलो लागेको छ।  

त्यसो त छिमेकी तेह्थुमका विभिन्न ठाँउमा पनि यो वर्ष डढेलो लागेको छ। डढेलो लागेपछि बस्तीमा जान नदिन ठूलो प्रयास गर्नुपर्ने हुन्छ। फाल्गुन पछि केही ठाउँमा ढडेलो लागेको वन डिभिजन कार्यालय तेह्थुमका प्रमुख भरतबाबु श्रेष्ठ बताउँछन्। डिभिजन वन कार्यालयका अनुसार चालु आर्थिक वर्षमा तेह्थुममा यस वर्ष पाँच स्थानमा भएको डढेलोबाट २ सय ३० हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ। अघिल्लो आर्थिक वर्षमा १० स्थानमा १ सय २२ स्थानमा डढेलो लागेको थियो।

त्यसो छ ताप्लेजुङको पाथीभार क्षेत्रको जंगलमा पुषमा दश दिन आगलागी भयो। हिउँ पर्ने क्षेत्रमा भएको आगलागीका कारण ठूलो क्षति पुगेको अनुमान गरीएको छ। समुद्र सतहदेखि ३ हजार सात सय मिटर उचाईको क्षेत्रमा फैलिएको डढेलोले वन र बन्यजन्तूमा ठूलो असर पुगेको डिभिजन वन कार्यालय ताप्लेजुङका प्रमुख विरेन्द्र शाहा बताउँछन्। उनका अनुसार १ सय ५ हेक्टर वन क्षेत्रमा डढेलो लागेको थियो। रेडपाण्डा लगायतका महत्पूर्ण बन्यजन्तू पाइने यो वन क्षेत्रमा डढेलो के कारण लागेको हो भन्ने खुल्न सकेको छैन। हेलिकप्टर प्रयोग गरि मन्दिर क्षेत्र जोगाइएको थियो। खेवाङ लगायका ताप्लेजुङका विभिन्न क्षेत्रका वनमा डढेलो लागेको छ।  

यो हिँउदमा पर्याप्त पानी नपरेको, सुख्खा तथा हावाहुरीको समय भएकोले डढेलो बढ्ने खतरा रहेको डिभिजन वन कार्यालय पाँचथरका सहायह वन अधिकृत कुमार फूयाल बताउँछन्। नेपालमा सबैभन्दा बढी डढेलोको चपेटा आर्थिक वर्ष २०६५/६६ परेको पाईन्छ। उक्त आर्थिक वर्षमा ४२० स्थानमा एकैपल्ट डढेलो लाग्नुका साथै ५० हजार ५ सय हेक्टर वन क्षेत्रमा क्षति पुगेको पाईन्छ। पूर्णेश्वर सुवेदीको ‘नेपालमा बन डढेलो व्यवस्थापन’ नामक पुस्तकका अनुसार सन २००५ देखि २०१९ सम्ममा डढेलोकै कारण १ सय ४ जनाले ज्यान गुमाएका थिए। सोही अवधिमा डढेलोका कारण ९० जना घाइते भएका छन्।  

आगलागीको उस्तै चपेटा  

पूर्वी पहाडका ताप्लेजुङ, तेह्थुम र पाँचथर जिल्लामा आगालागीले उस्तै ठूलो समस्या पार्ने गरेको छ। बर्षेनी आगलागीले ठूलो क्षति पुर्‍याउने गरेको छ। बजार क्षेत्र तथा घरहरुमा हुने आगलागीले ठूलो क्षति पुग्ने गरेको छ। फाल्गुनका तेस्रो साता ताप्लेजुङको दोभान बजारमा भिषण आगलागी भयो। आगलागीका कारण ५० घर ध्वस्त भए। व्यापारीक केन्द्रको रुपमा रहेको दोभान बजारलाई आगोले खरानी बनाउदा ठूलो क्षति हुन पुग्यो। 

पाँचथर सदरमुकाम फिदिम, राँके बजार, च्याङ्थापु, पात्लेबजार थर्पुको दाहालगाउँ बजार, तेह्रथुम सदरमुकाम म्याङलुङ, सक्रान्ती बजार ताप्लेजुङ सदरमुकाम फुङलिङ, खेवाङ जस्ता ठाँउमा पटक पटक आगलागी भएर ठूलो क्षति भएको छ। काठका घरहरु भएका बजारमा बढी जोखिम हुने गरेको छ। सदरमुकामका बजारमा दमकल भएपनि ग्रामिण क्षेत्रमा पुर्‍याउन कठिन पर्छ। दोभानमा भएको आगलागी नियन्त्रणका लागि फिदिमबाट पनि दमकल दौडाउनु परेको थियो। यहाँका बजारमा पानीको समस्या उत्तिकै छन्। ग्रामिण बजार बढी नै आगलागीको जोखिममा छ।  

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार चालु आर्थिक वर्षमा ३१ वटा आगलागीका घटना भएका छन्। आगालागीबाट करिब २ करोड ३१ लाख ४८ हजार बराबरको क्षति भएको अनुमान रहेको सूचना अधिकारी प्रहरी इस्पेक्टर डम्बर विश्वकर्माले जानकारी दिए। अघिल्लो आर्थिक वर्षमा २० वटा आगलागीका घटना भएका थिए। सो आर्थिक वर्षमा आगलागीले एक जनाको ज्यान जानूका साथै १ करोड ५८ लाख बराबरको क्षति भएको थियो। आव २०७५/७६ मा २९ वटा आगलागीका घटना भएका थिए।  

ताप्लेजुङमा अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको आठ महिनमा आगालागीको घटनामा बढोत्तरी भएको देखिन्छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको तथ्याङक अनुसार चालु आर्थिक वर्षमा २९ वटा आगलागीका घटना भएका छन्। यि आगलागीको घटनाबाट ७८ परिवार प्रभावित भएका छन्। ७१ वटा घरमा क्षति पुगेको तथ्याङ रहेको छ। चालु आर्थिक वर्षमा अन्दाजी ४ अर्व २ करोड ५६ लाख क्षति भएको अनुमान छ। दोभान बजारको आगलागीको क्षति निक्कै ठूलो थियो। अघिल्लो आर्थिक वर्षमा २१ वटा आगलागीका घटना हुँदा २५ घरमा पूर्ण क्षति भएको थियो। १० करोड १७ लाख बराबरको क्षति भएको अनुमान गरिएको थियो। प्रहरी कार्यालयका अनुसार २०७५/७६ मा ३१ र २०७४/७५ मा ३३ वटा आगलागीका घटना भएका थिए।  

तेह्थुमममा चालु आर्थिक वर्षमा ४ घर र एक विद्यालयमा आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय तेह्थमुका अनुसार अन्दाजी २ करोड ६४ लाख बराबरको क्षति भएको छ। अघिल्लो आर्थिक वर्षमा तेह्थुममा २० वटा आगलागीका घटना भएका थिए। यसबाट ३९ परिवार प्रभावित भएका थिए।  

कस्तो छ पूर्व तयारी

आगलागी र डढेलोको प्रकोप भईरहेपनि पर्याप्त पूर्व तयारी भएको छैन। चैतदेखि जेष्ठमा डढेलोको बढी नै भय हुने गरेको छ। काठाका घरहरु भएका बाक्लो बजार क्षेत्रनै सखाप पर्ने आगलागी हुने गर्छ। आगलागी तथा डढेलो नियन्त्रण गर्न उत्तिकै जोखिमपूर्ण हुन्छ। पाँचथर सदरुमकाम फिदिममा दुईवटा, तेह्थुममा तीनवटा र ताप्लेजुङमा एउटा दमकल रहेको छ। सबै ठाउँमा दमकल पुग्ने अवस्था छैन। बजार क्षेत्रमा पर्याप्त पानी नहुँदा समेत समस्या पर्ने गरेको छ।

वनले डढेलो नियन्त्रणका लागि सन्चालन निर्माण तथा समाग्री प्रदान गरेको बताउँछन् सहायक वन अधिकृत फुयाल। सचेतनाका साथै आगालागी भैहालो तत्काल नियन्त्रणक लागि स्थानीय तह, वन, स्थानीय प्रशासनको पर्याप्त पूर्व तयारी देखिदैन।  

कारण के हो ?

विभिन्न जंगलमा के कारणले डढेलो लागेको हो भन्ने कुराको कारण पत्ता लगाउन ध्यान दिइएको पाइदैन। घाँसका लागि मान्छेले नै आगो लगाउने गरेको स्थानीय स्तरमा धारणा बनाइएपनि खास कारण पत्ता लगाउन नसक्दा बर्षेनी डढेलो लाग्ने क्रम बढिरहेको हुन्छ। दोषी पत्ता लगाएर कार्बाही गर्दा घटना कम हुने भएपनि यता तर्फ ध्यान नदिँदा बर्षेनी समस्या भोग्नु परेको बताउँछन् यासोकका निरौला।  

घरमा हुने आगलागीको कारण समेत पत्ता लगाइदैन। बजार नै आगलागीले खरानी बनाउँदा पनि कारण तर्फ ध्यान नदिएको देखिन्छ। विद्युत सट भएर आगलागी भएको भनिन्छ तर हो वा होइन भन्ने कारण खोदल्ने य तर्फ ध्यान दिएको देखिदैन।

प्रकाशित: १५ चैत्र २०७७ ०७:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App