२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

मिथिलामा जोगिरा सररर..

जनकपुरधामको जानकी मन्दिर प्रांगनमा मिथिला नाट्य कला परिषद्ले आयोजना गरेको होलीको मौलिक कार्यक्रममा रमाउँदै संस्कृति प्रेमीहरु। तस्बिरः मिथिलेश/नागरिक

मिथिलामा होलीको आकर्षक विशेषता हो–जोगिरा गीत। यसको सांस्कृतिक पृष्ठभूमि छ। होलिकालाई जलाएको हेर्न असुर र जोगीको दुई समूह आएका थिए भन्ने कथन छ। होलिका जल्न थालेपछि जोगीहरु खुसी भएको हुनाले त्यही खुसी गीतमा पोखिएर जोगिरा गीत भएको भनाई छ। जोगिरा गीतहरुमा प्रेमिल र नशाको मिश्रण पनि सुन्छिन्..

अँचरा में घुँघरु लगा दु पिया,

हम अलबेली पिया अलबेला,  

अर्थात् ‘मेरो आँचलमा बुट्टा भरिदेऊ प्रिय, किनकि म मातिसकें र तिमी पनि मातिसक्यौ।’

श्रीपञ्चमीदेखि सुरु हुने फागु गीतको शृंखला होलीसँगै सकिन्छ। बढ्दोे सहरीकरण अनि कमजोर हुँदै गएको सामाजिक सद्भावका कम हुँदै गएको फागुको रोमाञ्चमा रंग भर्न जनकपुरधामका संस्कृतिक प्रेमीहरु दिलोज्यानले जुटेका छन।

‘कौन ताल पर ढोलक बाजे, कौन ताल मृदंग

कौन ताल पर गोरिया नाचे कौन ताल पर हम’

जोगिरा सररर..

श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाइने फागु गीत हो यो। गाउँटोल घुमेर फागु पर्व आएको जनाउ दिंदै नाचगान गर्दा बढी प्रयोग हुने यो गीत अचेल उति सारो सुनिँदैन। यो गीत गाउँदा बजाइने ढोल, मृदंग, डम्पा, झालीजस्ता बाजा अचेल दुर्लभ भए। फागु पूणिर्माको पहिलो दिन चतुर्दशीको रात पौराणिक पात्र होलिकालाई परम्परागत बाजा बजाउँदै ‘होलिका दहन’ गर्ने परम्परा छ।

होली विशुद्ध आध्यात्मिक र सांस्कृतिक पर्व भएको संस्कृति प्रमीहरु बताउँछन्। अचेल उबेलाको जस्तो मौलिक रमाइलो गरी होली कमै मनाइन्छ। संस्कृतिमा विकृति मिसिदै छ।  

मैथिली संस्कृतिका जानकार उमेश कुमार झा काअनुसार बढदो आधुनिकता, मानिसमा फुर्सदको अभाव, सहरमुखी हुनु, पुराना संस्कृतिको प्रवद्र्धनमा ध्यान नजानुले होलीको मौलिक रोमाञ्चमा कमी आएको छ। संस्कृति, संस्कारप्रति घट्दो आकर्षण बढाउन मिथिला नाट्कला परिषद् जनकपुरधामले प्रत्येक वर्ष होली विशेष कार्यक्रम गर्दै आएको छ।

होलीमा महिला महत्व

नन्द/भाउजू, भाउजू/देवर तथा साली/भिनाजुबीचको फागु मिथिलाञ्चलमा चर्चित छ। फागु पर्वमा सहभागी हुन नवविवाहिताहरु माइती आउँछन्। ज्वाइँलाई पनि पहिलो फागु खेल्न निम्तो पठाइन्छ। मिथिलाका सबै सांस्कृतिक पर्वमा महिलाको महत्त्वपूर्ण भूमिका हुन्छ। महिला सहभागिताबिना होलीको कल्पनासमेत गर्न नसकिने मिथिला संस्कृतिका जानकार झा बताउँछन्। मिथिलाको होली घरमूली महिलाको पूजाबाटै सुरु हुन्छ।

होलीमै खुल्छ भाउजू/देवर तथा साली/भिनाजुबीचको प्रेम रहस्य खुल्छ। त्यो वासनायुक्त प्रेम नभई वात्सल्य प्रेमका रुपमा खुल्छ। यसमा यौन आकर्षणभन्दा पनि अभिभावकत्व प्रेम झल्किएको देख्न सकिन्छ। मधेसमा अहिले पनि धेरै खुल्न सकेको छैन। यस्तो बन्द समाजमा पनि होलीमा देवर/भाउजूबीच जुन खुला रुपमा रंग र अबिरको खेल देखिन्छ, यस्ता दृश्यले देवर/भाउजूको प्रेमलाई सतहमा ल्याउँछ। पहिलेको बन्द समाजमा पनि होली नै यस्तो पर्व थियो, जसले देवर÷/आत्मीयतालाई सतहमा ल्याइदिन्थ्यो। त्यो चलन अहिले पनि छ।

मिथिला क्षेत्रमा ठूलो दाजु वा बुवा घरमूली हुन्छन्। उनीसँग सबै जना सजिलै खुल्न सक्दैनन्। आफ्ना मनका कुरा पनि खुलेर भन्न सक्दैनन्। भाइले दाइसँग कुनै कुरा चोर्नुपर्याे भने भाउजूलाई माध्यम बनाउँछन्। त्यस्तै ग्रामिण मिथिला समाजका महिलाहरु पनि श्रीमानसँग साथीझैं सबैकुरा खुलेर व्यवहार गर्न सक्दैनन्। यो खाडल पुर्ने काम देवरको सम्बन्धले गर्छ।  

आइतबार मालपुवा, खिरजस्ता परिकारहरु घरगोसाइँ (कुल देवता) लाई प्रसादका रूपमा अर्पण गरिन्छ। सँगै रङ अबिर पनि पतल (प्रसाद) मा राखिन्छ। घरमूली महिलाको पूजा सकेपछि बल्ल होलीको उमंग सुरु हुन्छ।

परम्परा जोगाउँदै मिनाप

एक दशक अघिसम्म मिथिलाञ्चलका टोल–टोलमा वसन्त पञ्चमी (सरस्वती पूजा) सँगै राति फागु गीत गाइन्थ्यिो । ग्रामीण इलाकाबाट लोप हुन लागेको फागु गीतलाई जगेर्ना गर्ने उद्देश्यले मिथिला नाट्कला परिषद् जनकपुरधामले(मिनाप) विगत २५ वर्षदेखि होरी महोत्सवको आयोजन गर्दै आएको छ । फागुपूर्णिमाको पूर्वसन्ध्यामा आयोजन हुने दुई दिवसीय होरी महोत्सवको पहिलो दिन फागु गीत प्रतियोगिता तथा दोस्रो दिन महामूर्ख सम्मेलनको आयोजन गरिन्छ । गीत–संगीतमा धनी तराई–मधेशको होलीमा आजकाल धेरै ठाउँमा ‘लाउडस्पीकर’ मा गीत बजाउने चलन आइसकेको छ। तर कतिपय स्थानमा आफैंले गीत गाउँदै रमाइलो गर्ने परम्परा अझै देखिन्छ। मिनापले शनिबारदेखि जनकपुरधामको जानकी मन्दिरमा मौलिक होली कार्यक्रम आयोजन गरेको छ।  

जाडोको विदाई गर्मीको स्वागत

होलीका विविध आयामहरु छन्। मुख्य रूपमा भन्नुपर्दा यो पर्व वसन्त ऋतुको आगमनको पर्व हो। मधेसीहरु जति पनि गर्मी खप्न सक्छन्। कठयांग्रिदो जाडो र शीतलहरले उनीहरुलाई सास्ती थप्छ। होली जाडोको बिदाइ र गर्मीको आगमनको संकेत हो। यहि बेला मधेसका खेत खलिहानमा गहुँका बाला लहलह झुलेका हुन्छन्। तोरी फुलेर खेत पहेलिएका हुन्छन्। यो किसानहरुको फुर्सदको समय पनि हो। साँझको शीतल हावा, वसन्त ऋतुको आगमन र कृषि कर्मबाट हुने फुर्सदको सदुपयोग जोगिरा गाएर गर्छन् किसानहरु। यस्ता सामूहिक गायनकै कारण होली भित्रिएको सन्देश जन–जनमा पुग्छ।  

यसकारण मनाइन्छ होली

वसन्त ऋतुअन्तर्गत फागुन पूर्णिमाको दिन यो पर्व मनाइन्छ। विष्णुपुराणमा उल्लेख गरिएअनुसार, दैत्यराज हिरण्यकश्यपकी बहिनी होलिका नाममा यो पर्वको नामाकरण भएको हो। होलिकाको दहन भएको खुशीमा प्रत्येक वर्ष हिन्दू धर्मावलम्बीले यो पर्व मनाउँदै आएका छन।

हिरण्यकश्यपले आफ्नो राज्यमा भगवान विष्णुको पूजापाठमा प्रतिबन्ध लगाएर स्वयंलाई भगवान घोषित गरी प्रजालाई ‘मेरो पूजा गर्नु’ भनेर कडा निर्देशन जारी गरेको थियो। तर, उनको आफ्नै छोरा प्रह्लादले पिताको निर्देशनलाई अवज्ञा गर्दै भगवान विष्णुको पूजा गरिरहे। प्रह्लादले पिताको आज्ञा नमानेपछि होलिकाको माध्यमबाट जलाएर मार्ने प्रयास गरियो।

ब्रह्माबाट आगोमा नजल्ने बरदान पाएकी होलीकाले प्रह्लादलाई काँखमा राखेर चारैतिर पराललगायत जल्ने बस्तुको घेरा बनाउन लगाएको र त्यसमा आगो लगाउन भनिएको थियो। उल्टै आगोमा होलिकानै जलेर भष्म भइन्। असत्यको बाटो अपनाएको कारणले बरदान फलिफाप भएन। असत्यमाथि सत्यको विजय भयो। त्यसपछि, सोही तीथिमा यो पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ। 

प्रकाशित: १५ चैत्र २०७७ ०६:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App