१६ चैत्र २०८० शुक्रबार
समाज

‘वैज्ञानिक ढंगले फोहोर व्यवस्थापनमा दोहोरो फाइदा’

सहरी फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनिरहेका बेला त्यसबारे वैज्ञानिक विधिसम्बन्धी ‘भर्चुअल’ छलफल गरिएको छ। बुधबार ६ वटा महानगरपालिका र ओमनमा सन् २००९ देखि फोहोर व्यवस्थापनको काम गर्दै आएको संस्था अलवियाका प्रतिनिधिहरूबीच नेपालको फोहोर व्यवस्थापन र सहरी सुन्दरताबारे छलफल भएको हो। त्यसक्रममा सहरी क्षेत्रमा जनसंख्या र बस्ती बढेसँगै फोहोर व्यवस्थापनसम्बन्धी कठिनाइबारे विज्ञहरूले चिन्ता व्यक्त गरेका थिए।

फोहोर व्यवस्थापन सहरको समस्या मात्र नभएर त्यसबाट पनि फाइदा लिन सकिनेबारे विज्ञहरूले आ–आफ्ना धारणा राखेका थिए। छलफलमा विभिन्न नगरपालिका र विदेशी कम्पनीका प्रतिनिधि सहभागी थिए। ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले चुनौतीका रूपमा रहेको फोहरमैला व्यवस्थापन गरे मात्रै सहर सुन्दर र सफा हुने बताइन्। उनले भनिन्, ‘फोहोर व्यवस्थापनसम्बन्धी समस्यालाई एकअर्काको उत्तम अनुभव आदाप्रदानमार्फत वैज्ञानिक ढंगले समाधान गर्न सहज हुन्छ।’ सहरी जनघनत्व बढी रहेका र सहरी इलाकाको फोहोर व्यवस्थापनबारे चासो दिनुपर्ने धारणा जनप्र्रतिनिधिहरूले राखेका थिए। 

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले देश र सहरको अत्यावश्यकीय पाटो फोहोर व्यवस्थापनमा बढी चासो दिनुपर्ने बताए। उनले सहरी फोहोर व्यवस्थापनका लागि आधुनिक तरिका अपनाउनुपर्नेमा जोड दिए। वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सराबगीले फोहोर व्यवस्थापनको क्षेत्रमा पहिलोपटक यस्तो संयुक्त कार्यक्रमको आयोजना भएको बताए। उनले फोहर व्यवस्थापनसम्बन्धी अनुभव तथा कार्ययोजनाहरू आदानप्रदान गरी सहरी क्षेत्रको फोहर समाधान गर्न सजिलो हुने बताए। कार्यक्रममा ओमानका तर्फबाट खामिस अल सियाबीले आफ्नो मुलुक वैज्ञानिक फोहोर व्यवस्थापन सम्बन्धमा अवलम्बन गरेको अनुभव सुनाएका थिए। उनले नेपालले पनि यसैगरी फोहोर व्यवस्थापन गर्न सक्ने विधि आदानप्रदान गरे।

काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठ, ललितपुर महानगरपालिका वातावरण विभागका इन्जिनियर प्रदीपकुमार अमात्य, विराटनगर महानगरपालिकाका इन्जिनियर घनश्याम काफ्ले, वीरगन्ज महानगरपालिकाका वातावरण विभागका इन्जिनियर राजीव सिंह, भरतपुर महानगरपालिकाका इन्जिनियर विराट घिमिरे र पोखरा महानगरपालिकाका सविना गौतमले फोहोर व्यवस्थापनका क्षेत्रमा आफूहरूले गरेका प्रयास र अवस्थाबारे जानकारी गराएका थिए।

कार्यक्रममा ओमनस्थित फोहोर व्यवस्थापनका लागि ठूलो संस्था अलविया कम्पनीका क्षेत्रीय सञ्चालक अहमद मुबारक अल अरेमी, रणनीतिक प्रबन्धक फात्मा अल मुजैनीको सहभागिता थियो। उनीहरूले नेपालले फोहर व्यवस्थापनमा गर्न सक्ने सुझाव तथा योजनाबारे जानकारी गराएका थिए।

प्रकाशित: २० फाल्गुन २०७७ ०२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App