१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

धनगढीमा कुरीति हटाउन धर्मगुरु र भलमन्सासँग सहकार्य

प्रचलित कानुनी व्यवस्थाका बारेमा गरिएको छलफलमा सहभागी धर्मगुरु र भलमन्सा। तस्बिरः पुष्पराज जोशी/नागरिक

समाज तथा टोलमा घट्ने घटना तथा सामाजिक कुरीतिविरुद्ध जागरुक गराउन धनगढी क्षेत्रका धर्म गुरु र भलमन्सासँग छलफल गरिएको छ। धनगढी उप–महानगरपालिका, न्यायीक समितिले सोमबार नगरका भलमान्सा तथा धार्मिक अगुवासँग प्रचलित कानुनी व्यवस्थाका बारेमा छलफल गरेको हो।  

न्यायीक समितिलाई सम्पादन गर्नमा सहयोग पुगोस् भनेर भलमान्सा तथा धर्म गुरुसँग छलफल गरिएको धनगढी उप–महानगरपालिकाका उप–प्रमुख तथा न्यायीक समितिका संयोजक सुशीला मिश्र भट्टले बताइन्।  ‘अहिले पनि समाजमा भलमान्सा तथा धर्मगुरु प्रतिको विश्वास छ,’ उनले भनिन्,‘त्यही भएर सामाजिक कुरीति, कुसंस्कार विरुद्ध र प्रचलित कानुनी व्यवस्थाका बारेमा उनीहरुलाई जानकारी गराएमा गाउँघरमा धर्मगुरुले भनेको कुरालाई समाजले सहर्ष स्वीकार्छन्।’ भलमान्सा तथा धर्म गुरुले प्रचलित कानुनका बारेमा जानकारी गराउन सकेमा समाजमा हुने सानातिना विवाद र झै झगडाहरुको उनीहरुले नै कानुनी बाटोबाट समाधान गर्न सक्ने बताउँदै उप–प्रमुख भट्टले भनिन्, ‘त्यसैले उहाँहरुसँग छलफल गरेका हौँ।’  

उप–प्रमुख भट्टले सामाजिक कानुनमा टेकेर सामाजिक अगुवाहरुबाट खोजिने समाधानका कारण कतिपय विवाद र प्रचलित कानुनी प्रावधानमा टेकेर सम्पादन गर्न खोज्दा समस्या हुने गरेको बताइन्।  धर्मगुरु र भलमन्सासँग छलफल गर्दा उनीहरुले सिकेका कुराहरुलाई टोल समाजमा लागू गर्ने र यसले आगामी दिनमा न्याय सम्पादनमा सजिलो बनाउने उनले विचार व्यक्त गरिन्। छलफल कार्यक्रममा बोल्दै धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर चन्दले संविधानले नै स्थानीय सरकारलाई न्यायीक अधिकार दिएको बताए। उनले भने, समाजमा हुने विवाद समाधानका लागि न्यायीक समितिले भलमान्सा तथा धर्मगुरुसँग राम्रो अन्तरक्रिया गरेको छ।’  

कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिका–४, उत्तरबेहडीका थारू भलमन्सा दलबहादुर दहितले भने,‘गाउँघरमा कुरीति कुसंस्कार छ, त्यसलाई नै समाजले अँगालेको छ, हामीले कुरीति कुसंस्कार अँगाल्नेलाई कानुनी उपचारको बाटो छ भनेर सम्झाउनसक्ने गरी जानकारी लियौँ।’ समय समयमा कानुनी कुराहरुलाई सिकाएर समाजमा घट्ने सम्भावित घटनालाई सुल्झाउन धर्मगुरु र भलमन्साको ठूलो योगदान हुने उनले बताए। ‘गाउँघरमा भलमन्सा र धर्मगुरुले भनेका कुरालाई सबैले सहजै मान्छन्,’ उनले भने,‘हामीले यहाँ सिकेका कानुनी कुराहरुलाई गाउँघरमा गएर भन्न सकेमा समाजमा घट्ने घटनामा कमी आउने विश्वास छ।’

प्रकाशित: १७ फाल्गुन २०७७ १२:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App