२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

पश्चिमी वायुको प्रभावः अधिकांश स्थानमा वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानैदेखि पश्चिम नेपालका केही ठाँउमा हल्का वर्षा भइरहेको छ।  

उच्च हिमाली भूभागमा हिमपात भएको छ। आज अपराह्न तथा बेलुकासम्म देशका पूर्वी तथा मध्य भूभागमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले बताइन्। “पश्चिमी वायु सक्रिय नभएकाले ठूलो वर्षाको सम्भावना छैन। हल्कादेखि मध्यम वर्षाको सम्भावना मात्र रहेको छ”, मौसमविद् अर्यालले भनिन्।

पश्चिमी भूभागमा आज ७.८ मिलिमिटर वर्षा भइसकेको बताइएको छ। यस प्रणालीको प्रभाव शनिबार बेलुकासम्म रहने र आइतबारदेखि मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा वाग्मती प्रदेशमा आंशिक बदली छ।  

देशभर राति आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र वाग्मती प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा प्रदेश नं १ का केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २० दशमलव शून्य डिग्री सेल्सियस छ। त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम शून्य दशमलव ५ डिग्री र सबैभन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १३ दशमलव शून्य डिग्री सेल्सियस छ। रासस

प्रकाशित: २३ माघ २०७७ ०७:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App