१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

फेरि अवरुद्ध मदन भण्डारी लोकमार्ग

पहुँच

लामो समयदेखि निर्माणाधीन ‘मदन भण्डारी लोकमार्ग’ अन्तर्गत उदयपुरको पुरानो गाईघाट (पिजी) चोकमा चौडाई विवाद बल्झेपछि निर्माण अवरुद्ध भएको छ । नगरपालिकाले लागू गरेको २२ मिटर चौडा बनाउने विषयमा दायाँबायाँका स्थानीयले जमिन छाड्न नमानेपछि वर्ष दिनयता सडक निर्माण अवरुद्ध भएको थियो । दुई साताअघि यसमा सहमति जुटेपछि काम सुचारु भएकामा अहिले फेरि विवाद झिकेर अवरुद्ध भएको छ ।

त्रियुगा नगरप्रमुख बलदेव चौधरीको पहलमा सहमति जुटेपछि नाला खन्न सुरु भएको काम पुनः विवाद उब्जेपछि अवरुद्ध हुन पुगेको स्थानीयले बताएका छन् । मेयर चौधरीले दुवैतिरबाट दुई–दुई मिटर जमिन छाड्न गरेको आग्रहलाई लिएर दुई पक्षबीच हात हालाहाल भएपछि प्रहरी, प्रशासन र मदन भण्डारी लोकमार्गका प्रतिनिधिको सामूहिक छलफलपछि सहमति जुटेको थियो । सहमतिअनुसार भोलिपल्टै दक्षिणतर्फ पहिले गाडेको विद्युत् पोल दुई मिटर सार्ने र उत्तरतर्फ दुई मिटर सार्न टहरा भत्काउने सहमति गर्ने क्रममा विवाद भएको थियो ।

नगरपालिकाले लागू गरेको २२ मिटर चौडा बनाउने विषयमा दायाँबायाँका स्थानीयले जमिन छाड्न नमानेपछि वर्ष दिनयता सडक निर्माण अवरुद्ध भएको थियो । दुई साताअघि यसमा सहमति जुटेपछि काम सुचारु भएकामा अहिले फेरि विवाद झिकेर अवरुद्ध भएको छ ।

विवाद बढ्ने देखिएपछि प्रहरी प्रशासन राखेर नगरपालिकाले स्काभटेर बोलाएर नाला खन्न थाले पनि सहमति जुटेपछि काम सुचारु गर्न दिएकोमा पुनः विवाद भएपछि काम रोकिन गएको लोकमार्ग कार्यालय गाईघाटले जनाएको छ । कार्यालय प्रमुख (डिई) बेलबहादुर भुजेलले दुई साताअघि सहमति भएर काम सुचारु भएकामा पुनः विवाद सिर्जना भएर काम रोकिएको पुष्टि गरे । विवाद बल्झेपछि पिजी चोकको झन्डै पाँच सय मिटर खण्ड सडककाम काम फेरि अवरुद्ध भएको उनले बताए । गाईघाट बजारक्षेत्रमा २५ मिटर चौडाइको सडक बनाउने निर्णय नगरपालिकाले गरेपछि बजारको एक किलोमिटर दुई सय मिटर खण्डमा बनेका घरटहरा भत्काउन नमानेकाले काम अघि बढाउन समस्या उब्जेको थियो । तर, पिजीचोकभन्दा पूर्व र पश्चिमतर्फका लगभग अढाई सय घरटहरा भत्काउन स्थानीय राजी भएपछि एक महिनाअघि नै कालोपत्र भइसकेको छ । पिजीचोकमा भने विवाद सुल्झाउन धेरै समय लागेकाले नालासमेत बन्न सकेको छैन । लामो प्रयासपछि केही घरटहरा भत्काउनुका साथै विद्युत्को पोल गाड्नेसम्मको काम भए पनि दक्षिणतर्फ युवराज बुढाथोकी र उत्तरतर्फ शिव कटुवालबीचको विवाद बल्झेको स्थानीय बताउँछन् ।

स्थानीय मोहनसिंह तामाङका अनुसार बुढाथोकी, कटुवाल, बबरबहादुर थापा, रविन्द्र राई र अन्य तीन गरी झन्डै दर्जनलगायतको जमिनबारे विवाद भएर काम अवरुद्ध भएको हो । उनीहरूको सँगै जोडिएको आफ्नोलगायत उत्तरतर्फ र दक्षिणतर्फ हीराप्रसाद पोखरेललगायतले नगरपालिकाको प्रस्ताव अनुसार दुई मिटर छाडेर नाला निर्माण गरिसक्दा पनि बुढाथोकी र कटुवालबीच भने कुरा नमिलेको तामाङले बताए । सीमित व्यक्तिको जग्गा विवादले गर्दा निर्माण सुरु भएको काम पूर्ण नहुँदा लगभग दुई वर्षदेखि स्थानीय दिनरात धुलो खान बाध्य छन् ।

लोकमार्गले १८ मिटर चौडाइभित्र १४ मिटर कालोपत्रे र दुई–दुई मिटर नाला बनाउने प्राविधिक स्टिमेट रहेको जनाए पनि बजार क्षेत्र फराकिलो बनाउने भन्दै नगरपालिकाले मुख्यचोक आसापस २५ र बाँकी भागमा २० मिटर बनाउने अडान लिएको थियो । तर, स्थानीयको विरोधपछि २२ र २० मिटरको बनाउन नगरपालिका सहमत भएअनुसार सबैतिर काम अन्तिम चरणमा पुग्दा पिजीचोकको काम मात्र विवादले गर्दा रोकिएको अर्का स्थानीय व्यापारी नरेश राउतले बताए । उनका अनुसार सडक निर्माण सुचारु नहुँदा धुलो, हिलो र अस्रल्ल निर्माण सामग्रीले दुर्घटनाको जोखिमले व्यापारमा पनि नराम्रो प्रभाव परेको छ ।

०६५ साल भदौ ३ गते भारी वर्षाको बाढीले पूर्व–पश्चिम महेन्द्र लोकमार्गको सुनसरीको भान्टाबारी नजिकै कोसीले कटान गरेर महिनौ सडक अवरुद्ध भएपछि अघि सारिएको वैकल्पिक लोकमार्ग धरान–चतारा–गाईघाट–कटारी–सिन्धुली–हेटौडा निर्माण गर्न थालिएको थियो । धरानदेखि हेटौंडासम्म एक सय ७३ किलोमिटर वैकल्पिक लोकमार्ग सुरु भएको केही वर्षपछि मदन भण्डारी लोकमार्ग नामकरण गर्दै अहिले झापाको बाहुनडाँगीदेखि पश्चिममा डडेल्धुराको रुपालसम्म १२ किलोमिटर विस्तार गर्ने गरी सरकारले काम अघि बढाएको छ । जस अनुसार गाईघाटदेखि पूर्वतर्फ सुनसरीको धरानसम्म र पश्चिमतर्फ उदयपुरगढी गाउँपालिकाको नेपालटासम्म तथा रिस्कु सोमबारेदेखि कटारी हुँदै सिन्धुली सीमासम्म निर्माण सकिन बाँकी पुल एप्रोचबाहेकमा कालोपत्रेको काम सकिइसकेको छ । 

तर, धेरैतिर काम सकिइसक्दा पनि पिजीचोकमा भने जग्गा विवादका कारण काम अघि बढ्न नसक्दा बजारको शोभा नै बिग्रेको बजारबासीको गुनासो छ । जेडआइइसी/लामा/शर्मा जेवीले ०७४ देखि सुरु गरेको काम तीन वर्षभित्र सम्पन्न गर्ने सम्झौता भएको थियो । एक सय ७३ किलोमिटर लोकमार्गका लागि सडकतर्फ साढे चार अर्ब र पुलतर्फ डेढ अर्बको सम्झौता भएको लोकमार्ग कार्यालयले जनाएको छ ।

प्रकाशित: १४ माघ २०७७ ०२:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App