२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

वन जोगाउन पालैपाली उपभोक्ताको गस्ती

वन सुरक्षार्थ गस्ती गर्दै समूहका उपभोक्ता । तस्बिरः महेश्वर

उदयपुरको बेलका नगरपालिका ३ र ४ स्थित गणेश साँढेचौरी सामुदायिक वन समूहका उपभोक्ता आफैं वन जोगाउन गस्ती जान थालेका छन्। आफ्नो वन जंगलको सुरक्षा आफैले गर्न सके मात्र हुने भन्दै उनीहरु घरलौरी गस्ती जान थालेका हुन्।  

समूहले यही पुस ११ गतेको बैठकबाट वन जंगलको रक्षा गर्न अरुको मुख ताक्नुभन्दा उपभोक्ता आफै तम्तयार हुनुपर्ने नर्णय गर्दै प्रत्येक घरधुरीबाट पालैपालो गस्ती जानुपर्ने नियम बनाएको समूहका सचिव सीताराम राईले बताए। सचिव राईका अनुसार प्रत्येक दिन विहान ७ देखि मध्यान्ह १२ बजेसम्म र दिउसो १ देखि साँझ ५ बजेसम्म दुई सिफ्टमा गस्ती गर्ने गरिएको छ।  

प्रत्येक सिफ्टमा कम्तीमा ७ देखि बढीमा १५ जनासम्मको टोलीले समूहभित्र समेटिएको वनक्षेत्र घुमेर गस्ती गर्दै आएको छ। एक सिफ्टमा गर्नुपर्दा खाना खान समस्या हुने भएकाले दुईपटक गस्ती जाने नियम बनाइएको छ। वन पैदावारको चोरी तस्करी हुन नदिन गस्ती थालेपछि धेरै सहज भएको समूहका कोषाध्यक्ष श्रीप्रसाद अधिकारीले बताए।  

०६३ सालमा स्थापित १५ सदस्यीय कार्यसमितिको समूहले पालैपालो गस्तीको नेतृत्व गर्नुपर्ने नियम बनाएको छ। अध्यक्ष मनोज तामाङ, सचिव राई, सहसचिव खिला मगर र कोषाध्यक्ष अधिकारीलगायत समितिका सबै सदस्यसमेतले गस्तीको नेतृत्व पालैपालो गर्दै आएका छन्। वन पैदावारको चोरी तसकरी हुन नदिन तथा वन जंगलको सुरक्षा गर्न समूहले आफै गस्ती जाने नियम बनाएको अध्यक्ष तामाङले बताए। वनको असली मालिक उपभोक्ता नै भएकाले उनीहरुलाई नै सुरक्षाको जिम्मा दिइएको पनि उनले बताए।  

स्थापनाकालमा २ सय २५ घरधुरी उपभोक्ता रहेको समूहमा हाल ३ सय २५ पुगेका छन्। समूहको वन क्षेत्र १ सय ५५ हेक्टरमा फैलिएको छ। हालसम्म समूहले घाँस दाउराको प्रयोगदेखि घर बनाउन आवश्यक काठको आपूर्तिको व्यवस्था मिलाउँदै आएको छ। त्यस्तै गाउँलेको जीवनस्तर उकास्न बिभिन्न सहयोग गर्नेदेखि शिक्षा, स्वास्थ्य, सडक र खानेपानीजस्ता विकास निर्माणका काममासमेत समूहको योगदान रहँदै आएको अध्यक्ष तामाङले बताएका छन्।

प्रकाशित: २६ पुस २०७७ ०३:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App