१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

योमरिको समाजशास्त्र

नेवार समाजको अभिन्न अंग, योमरि। धार्मिक एवं सांस्कृतिक पूजापर्वदेखि जीवन संस्कारमा समेत उपयोगमा ल्याइने मनपर्ने रोटी अर्थात् योमरि। सांस्कृतिक रूपमा नेवार समाजसँग निकटतम् सम्बन्ध नरहे पनि योमरिकै कारण नेवार संस्कृतिको अनुभूति गर्नेहरूको संख्या उल्लेखनीय छ। फलतः अहिले खाद्य बजारमा समेत योमरिको विशेष माग छ भने नेवार समाजको योमरि पस्केरै बेलायतमा आयोजित मास्टर सेफ प्रतियोगितामा सन्तोष साह फाइनलसम्म पुग्न सफल भएका थिए।

भौतिक रूपमा वर्णन गर्दा, चामलको पिठो मुछेर चोसिलो खोक्रो अण्डाकार बनाई त्यसभित्र चाकु र तिलको मिश्रण राखी बफाएर योमरि बनाइन्छ। सांस्कृतिक, धार्मिक र पौष्टिक रूपले हेर्दा, यसभित्र सिंगो नेवार समुदायको सभ्यता र संस्कृति समेटिएको मान्न सकिन्छ। त्यसैले नेवार समाजले योमरिलाई जीवनको अभिन्न अंगका रूपमा प्रतिस्थापन गरेको छ। यसलाई मानसपटलबाट विमुख गर्न नसकिएकै कारण मंसिर पूर्णिमा अर्थात् धान्यपूर्णिमालाई समेत स्थानीयकरण गरी योमरि पूर्णिमाको रूपमा नामाकरण गरिएको छ। 

नयाँ चामलको पिठोबाट गणेश, नाङ्लो र कुचो समाएकी लक्ष्मी, मानापाथी समाएका कुबेरका साथै कछुवा, धनका संरक्षक ख्याक जस्ता देवदेवी र गण बनाई धानको भकारी पुजिन्छ। यसरी पुज्दा मुख्य देवताका रूपमा ठुल्ठूला दुइटा योमरि बनाइन्छ। ठूला योमरिलाई तान्त्रिक रूपमा मायो र बायो भनिन्छ। जुन प्रकृति र पुरुष वा महिला र पुरुषको प्रतिनिधित्वको रूपमा रहेको छ। 

योमरिको उद्भव  

योमरिको सिर्जना कसरी भयो भन्ने सवालमा आधिकारिक सामग्रीको अभाव छ। यसका लागि लोककथा वा मिथकसम्म पुग्नुपर्ने हुन्छ।  

काठमाडौंमा प्रचलित कथा अनुसार, पाञ्चाल देशका सुचन्द्र ब्राह्मणको उदारचित्तको परीक्षा गर्न कुबेर याचकका रूपमा उनको घरमा पुगेका थिए। यसरी याचक बनेर गएका कुबेरलाई उनकी पत्नीले योमरि खुवाई तृप्त बनाइन्। त्यसपछि कुबेरले आफ्नो स्वरूप देखाई उपहारका रूपमा बिमिरो दिएर अन्न भकारीमा योमरि, लक्ष्मी, गणेश र कुबेरका मूर्ति बनाई चार दिनसम्म पुज्न निर्देशन दिएका थिए। यसरी दिइएको निर्देशन अनुसार चार दिनपछि बिमिरो सुनमा परिणत भई सुचन्द्रको घरमा समृद्धि भित्रियो।  

यस कथामा योमरिको प्रसंग उल्लेख भएकाले नेवार समाजमा उक्त रोटीको परम्परा निकै पुरानो भएको मान्न सकिन्छ।  

योमरिको ऐतिहासिकता केलाउने क्रममा यो रोटी अंशुवर्माकालीन देखिन्छ। भाषावंशावलीका अनुसार, अंशुवर्माभन्दा अघिसम्म काठमाडौंको खेतमा कोदालो चलाउने, धान रोप्ने, काट्ने, धान झार्ने र चिउरा बनाउने चलन थिएन। अंशुवर्माको समयमा ललितपुरका बलभद्रले नै पहिलोपटक धान रोपी त्यसको योमरि बनाएको भन्ने उल्लेख छ।  

त्यस्तै, बलबल राजाले जनताका लागि पहिलोपटक आफैँले खेत खनेको कथा पनि छ। यसअघि खेत खन्न हुन्न भन्ने मान्यता रही आएकामा राजाले ‘मरे मरौँला’ भनी थसिखेलमा धान रोपे। त्यही धान फलेपछि योमरि बनाएको भनिन्छ।  

आफ्नो जीवनलाई दाउमा राखेर धान रोपाइँ सुरु गरेका बलबल राजाको स्मृतिमा ललितपुर तःबहालमा हलोसहितको मूर्ति राखिएको छ। जुन मूर्ति संवत् १०९ मा निर्माण गरेको देखिन्छ। स्थानीय बासिन्दाहरू आजपर्यन्त बलभद्र (बलबल राजा)को मूर्तिमा मंसिर पूर्णिमाका दिन योमरि चढाउने गर्छन्।  

उपत्यकाको देउसी–भैलो

नेवार समाजबीच तिहारमा देउसी–भैलो खेल्ने प्रचलन छैन। तर, मंसिर पूर्णिमाका दिन देउसी–भैलो जस्तै गरी गीति माध्यमबाट त्यःछिंत्यः खेली योमरि माग्ने गरिन्छ। सत्व रज र तम युक्त वा धार्मिक आस्था अनुसार शिव शक्त्यात्मक वा बौद्ध देवताको संयुक्तस्वरूप योमरि खाँदा र दान दिँदा मोक्ष प्राप्ति र धन स्थिर हुन्छ भनी यस दिन झुन्ड–झुन्ड भई देउसी खेलेजस्तै त्यःछिंत्यः खेली योमरि मागेर भए पनि खाने गरिन्छ। यस दिन टोलछिमेकीको घरमा योमरि नपाक्ने अवस्था रहेको खण्डमा त्यःछिंत्यः खेली संकलित योमरि दिन लाने गरिन्छ। विशेषगरी आशोचमा रहेकाहरूले एक वर्षसम्म योमरि पूर्णिमा मनाउँदैनन्। चाड नमनाउनेहरूलाई त्यःछिंत्यः खेली संकलित योमरि खुवाउने गरिन्छ। त्यःछिंत्यः खेल्दा निश्चित गीत गाउने गरिन्छ –

ब्यूसा चाकु मब्यूसा फाकु

ब्यूम्ह ल्यासे मब्यूम्ह बुरी कुति

त्यःछिंत्यः बकछिं त्यः  

लातापाता कुलिंचा जुसिं त्य  

छिमि नं चिकु जिमि नं चिकु

योमरि याकनं बी हजि।

अर्थात्, ‘योमरि चुच्चो छ त्यसभित्र कालो छ। दिएमा गुलियो, नदियो टर्राे। योेमरि दिने तन्नेरी, नदिने बूढी। चारमाने भाँडोमा दिए पनि हुन्छ, दुईमानेमा भए पनि हुन्छ। त्योभन्दा सानो भाँडोबाट भए पनि योमरि दिनू। तिमीहरूलाई पनि जाडो, हामीलाई पनि जाडो। त्यसैले योमरि चाँडो दिन ल्याउनू’ भनी साँझको समयमा टोलछिमेकीको दैलोमा पुग्ने गरिन्छ। यस गीतको गहिराईलाई ध्यान दिएको खण्डमा योमरि संकलन गर्न जाँदा योमरि दिनेको प्रशंसा र नदिनेको निन्दा गरेको देखिन्छ। यसका साथै गीतको माध्यमबाट नेवार समाजमा प्रचलित मानापाथी तथा दैनिक रूपमा आवश्यक सामग्रीको संरक्षणका लागि पनि ज्ञान दिएको पाइन्छ।

सांस्कृतिक प्रयोजनमा योमरि  

योमरिलाई काठमाडौं उपत्यकाको खाद्य पदार्थका रूपमा सीमित गरेको पाइन्न। विशेषगरी ठूला उत्सवमा योमरिको माला लगाउने र पुष्पवृष्टिको सट्टा योमरि वृष्टि गराउने पनि गरिन्छ। देवदेवीको वर्षवन्धन, रातो मत्स्येन्द्रनाथको नरिवल खसाल्ने जात्रामा, सेतो मत्स्येन्द्रनाथको रथयात्रा जनबहाल पुगेपछि योमरि वर्षा गराइन्छ। साथै, सिथिनखःका दिन ललितपुरमा रातो मत्स्येन्द्रनाथ ल्याउन भूमिका खेलेका रथचक्रको स्मृतिस्वरूप झतापोलमा रहेको शिलास्तम्भमा वर्षबन्धन गरी योमरि चढाइन्छ। काठमाडौंमा इन्द्रजात्राका अवसरमा मरुस्थित इन्द्रमूर्ति स्थापना गर्ने स्थानबाट योमरि वर्षा गराउने गरिन्छ। त्यस्तै, नयाँ घरको प्रतिस्थापनमा पनि योमरि वर्षा गराइन्छ।  

देवदेवीको मठ–मन्दिरबाट वर्षा गराइएको योमरि भुँइमा पर्न नदिई टिप्न सके शुभ हुन्छ भन्ने मान्यताले योमरि वर्षा गराउने बेला भक्तजनहरूको ठूलो भीड जम्मा हुने गर्छ। यसरी वर्षा गराइने योमरिमा भने तिलचाकु राखिन्न। त्यसभित्र पाँच दाना अक्षता राख्ने गरिन्छ। नेवार समाजमा विशिष्ट महत्व रहेको योमरि गर्भमा रहेकै बेलादेखि खुवाइन्छ। गर्भवती महिला र पेटभित्र हुर्किरहेको शिशुको सुस्वास्थ्यको कामना गर्दै पौष्टिकताले परिपूर्ण होस् भनी नवौं महिनाको प्रारम्भमा दही–चिउरा खुवाउने क्रममा योमरि पनि अनिवार्य हुन्छ। साथै नेवार समाजमा जन्मोत्सवमा पनि योमरिको माला लगाइदिने गरिन्छ। विशेषगरी दुईदेखि १२ वर्षबीच जोड वर्षको जन्मोत्सव मनाउने क्रममा उमेर वर्षकै संख्यामा योमरिको माला लगाइदिइन्छ भने ज्येष्ठ नागरिकको ज्याःजंकु (बुढोपास्नी)मा पाथीभित्र फलफूलका टुक्रा, फूल, अबिर, लावाका साथै योमरि राखी अभिषेक गरिन्छ। तान्त्रिक पूजाको रूपमा रहेको क्रमार्चन पूजामा पनि योमरि अनिवार्य छ।

ऋुतुविचार

योमरिले प्राकृतिक ज्ञान दिँदै आएको छ। सूर्य उत्तरायण र दक्षिणायन हुँदा दिन र रातमा पनि परिर्वतन आउँछ। मंसिर पूर्णिमा अर्थात् योमरि पूर्णिमाका दिनदेखि दिन लम्बिँदै जान्छ। त्यसैले योमरि जति लामो बनाउन सकियो त्यति राम्रो हुने र दिन पनि लम्बिँदै जाने विश्वास गरिन्छ। साथै, योमरि पूर्णिमाको रात सबैभन्दा लामो रात र त्यस रातमा बढी सुत्नु हुँदैन। लामो सुताइले शारीरिक आलस्यता वृद्धि गराई अस्वस्थ भइन्छ भनी घरका सबैजना चाँडो उठेर आफ्नो नित्यकर्ममा लाग्ने गरिन्छ। दिन र रातको वृद्धिसँग जोडिएको योमरि जाडोसँग पनि जोडिएको छ। योमरि पूर्णिमा चिसो याममा पर्छ। यस दिन तयार पारिएको योमरि चिसिँदै जाने भएकाले यसबाट चिसो र तातोको अनुमान समेत गर्ने चलन थियो। खासगरी पूर्णिमाका दिन बनाएको योमरि भोलिपल्ट चिसिएर कति मात्रामा चर्किंदै गयो, त्यसका आधारमा चिसोपनाको तुलना गर्ने प्रचलन काठमाडौंमा रहिआएको छ।

कृषिक्रान्ति  

मिठाइ वा खाद्य परिकारको कोटिमा रहेको योमरिले खाद्यपूर्ति मात्र गरिरहेको छैन, कृषि क्रान्तिलाई समेत उजागर गरेको छ। असारमा रोपेको धान काटी बाली भण्डारण गरिने यस दिनलाई कृषक दिवसको रूपमा लिइन्छ। कात्तिकमा भित्र्याएको धान राम्रोसँग सुकाइसकेपछि भकारीमा भण्डारण गर्ने क्रममा उक्त अन्न पूजनका साथै अन्न उत्पादन गर्नेहरूलाई पनि सम्मान गरिन्छ। नेवार समाजले धानलाई धान्यलक्ष्मी र भकारीलाई कुथिलक्ष्मीको दर्जा दिई पुज्ने गर्छन्। यस क्रममा धानको थुप्रोभित्र योमरिका साथै बिमिरो, अण्डा, माछा, मासु र बारा पनि राख्ने गरिन्छ। यसरी राखिएका खाद्यवस्तु चारौँ दिनमा निकाली घरपरिवारमा प्रसादको रूपमा वितरण गरिन्छ। यसका साथै कतिपय स्थानमा यो दिन कृषक मेलाको आयोजना गरिन्छ। कात्तिकमा धान भित्र्याएपछि ४५ दिनसम्म धानलाई कुन्युभित्रै राखेर हकुवा बनाउनेहरूले योमरि पूर्णिमामा हकुवा धान भित्र्याउने गर्छन्। खेती किसानीमा सहयोग गरेकाहरू र अन्य किसानलाई टिका, धानको बालाको फूलप्रसाद र अण्डा सगुन दिई सम्मान गरिन्छ। यस दिन खेतको खलोदेखि भकारीसम्म धानका भकारी नबिसाईकन लाने गरिन्छ। खर्पनमा राखी धान लैजाने क्रममा चौबाटोमा खर्पन बोकेकाहरू लहरै धाननाच जस्तै नाच्ने गर्छन्। यसरी धान भित्र्याई किसान र अन्नको सम्मान गर्नेलाई वाकासे भनिन्छ।  

बलबल राजाले प्रारम्भ गरेको कृषिक्रान्तिलाई कृषकले साथ दिएको स्मृतिस्वरूप कृषक र अन्नको सम्मान गर्न योमरि पूर्णिमाका दिन ज्यापु दिवसको आयोजना गर्ने गरिन्छ। कृषकको श्रम र मेहनतका साथै अन्नको महत्व जगाउन अन्न देवताका रूपमा योमरिलाई नै अघि सारी ज्यापु दिवस मनाउँदै आइएको छ। मंसिर पूर्णिमामा नै किराती समुदायले पनि अन्नको सम्मान गर्दै नयाँ अन्न पितृलाई चढाएर उधौली मनाउने गर्छन्। साथै याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, लिम्बु समुदायले चासोक तङनाम भनी मनाउँछन्।  

दर्शनको रूपमा  

खाद्य पदार्थ भए पनि सांस्कृतिक एवं धार्मिक कृत्यमा योमरिको विशिष्ट स्थान छ। चामलको पिठो, तिल र चाकुबाट बनाइने योमरि दर्शनशास्त्रले भरिपूर्ण खाद्य पदार्थ हो। मंसिर पूर्णिमाका दिन नयाँ धान भकारीमा राखी भण्डारण गर्ने क्रममा नेवार समुदायले धानलाई नै लक्ष्मीका रूपमा मान्यता दिने गर्छन्। भौतिक धन द्रव्य भन्दा पनि अन्न नै धन हो भन्ने मान्यताका साथ नयाँ धानको भकारीलाई कुथिलक्ष्मीको संज्ञा दिइन्छ। साथै, नयाँ चामलको पिठोबाट गणेश, नाङ्लो र कुचो समाएकी लक्ष्मी, मानापाथी समाएका कुबेरका साथै कछुवा, धनका संरक्षक ख्याक जस्ता देवदेवी र गण बनाई धानको भकारी पुजिन्छ। यसरी पुज्दा मुख्य देवताका रूपमा ठुल्ठूला दुइटा योमरि बनाइन्छ। ठूला योमरिलाई तान्त्रिक रूपमा मायो र बायो भनिन्छ। जुन प्रकृति र पुरुष वा महिला र पुरुषको प्रतिनिधित्वको रूपमा रहेको छ। यसरी बनाइने अण्डाकारयुक्त मायो योमरिमा तिल र चाकुको घोल राखिन्छ। पुरुषको प्रतिनिधित्व गरेर बनाइने बायो त्रिकोणयुक्त हुन्छ, यसमा पिसेको मास राखिन्छ। यी दुई प्रकारको योमरि शिवशक्तिको रूपमा लिइन्छ। शिवशक्त्यात्मक योमरि सत्व, रज र तम गुणले युक्त हुन्छ। जसको तन्त्रमा विशेष महत्व छ।  

योमरिलाई गर्भाशयको रूपमा पनि स्थान दिइएको छ। घटस्थापनामा वीजारोपण भएको गर्भले पूर्णता पाओस् भन्ने उद्देश्यले योमरि बनाइन्छ। साथै सत्व, रज र तम गुणले भरिपूर्ण योमरिले जीवनमा वैभव, सुख र समृद्धि ल्याउँछ भन्ने मान्यता छ। देवदेवीको पूजाका क्रममा बनाइने योमरिमा चाकु वा मासको स्थानमा पाँचवटा अक्षता राखिन्छ। जुन पञ्चतत्वका रूपमा रहेको छ। नेवार बौद्ध समाजले यसलाई पञ्चबुद्धको प्रतीकको रूपमा स्थान दिइएको छ। चाकु भरिएको योमरिलाई बौद्ध समाजले चैत्यको रूपमा ग्रहण गर्ने गरिन्छ।

स्वास्थ्य र पौष्टिकता  

जाडोमा बनाइने योमरिको स्वास्थ्यका दृष्टिले विशेष स्थान रहेको छ। प्राकृतिक रूपमा बढ्दो चिसोबाट जोगिन शारीरिक रूपमा बढी मात्रामा कार्बोहाइड्रेटको आवश्यकता पूर्तिका लागि योमरि खाने गरिन्छ। तुलनात्मक रूपमा नयाँ चामलको पिठो बढी खँदिलो हुने भएकाले चाँडो भोक लाग्न दिँदैन। त्यसमाथि चाकुले थप ऊर्जा दिन्छ। हेमोग्लोबिनको कमी हुन नदिनका लागि पनि उपयुक्त चाकु मात्र राखेर योमरि बनाउने परम्परा पनि काठमाडौं उपत्यकामा छ। चाकु मात्र राखिएको योमरिले कब्जियत बढाउने सम्भावना भएकाले त्यसमा तैलीय पदार्थ तिलको छोप मिसाइन्छ। चाकुसँगै मिसाइएको तिलले एकातर्फ चिसोयाममा आवश्यक ऊर्जा सुरक्षित गर्न सघाउ पु¥याउँछ भने अर्कोतर्फ यसमा रहेको राम्रो कोलेस्ट्रोलले रगत पातलो बनाउन भूमिका खेल्छ। त्यसैले बढी ऊर्जा एवं पौष्टिकताको आवश्यकता पूर्ति गर्न गर्भवतीलाई योमरि खुवाउने गरिन्छ।  

निष्कर्ष गर्भैमा रहेको अवस्थादेखि जीवन पर्यन्त प्रयोगमा ल्याइने योमरिको विशेष गुण रहेकै कारण यसलाई देवत्वकरण पनि गरिएको छ। अन्न नै देवता हो भन्ने पवित्र एवं उच्च सोचलाई आत्मसात गरी किसानको योगदानलाई स्मरणीय बनाएको छ योमरिले। योमरिसँगै गाँसिएको योमरि पूर्णिमा पर्वले ‘मै खाऊँ मै लाऊँ’ भन्ने भावनालाई बिल्कुलै समर्थन गरेको छैन। आशोच बारेकाहरूका लागि भनी त्यःछिंत्यः खेली योमरि उपलब्ध गराउने पवित्र भावना यसमा समेटिएको छ। यस खाद्यपदार्थभित्र निहित दर्शन र प्राकृतिक ज्ञान प्रसार गरिरहेको छ। त्यसैले यसलाई उपयोगी खाद्यपदार्थका रूपमा भन्दा पनि सिंगो नेवार समाजको सभ्यता समेटिएको पक्षको रूपमा लिनुपर्छ।

प्रकाशित: ११ पुस २०७७ ०२:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App