२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पूर्व सैनिकलाई विदेश पलायन हुनबाट रोक्न ‘ग्रीन हाउस’

ग्रीन हाउस उद्घाटनपछि सामूहिक तस्बिर खिच्दै । तस्बिरः महेश्वर

उदयपुरका अवकास प्राप्त सैनिकहरुलाई विदेश पलायनबाट रोक्न नेपाली सेनाले हरित गृह (ग्रीनहाउस) निर्माण गरिदिएको छ। भूतपूर्व सैनिकहरुलाई स्वदेशमै रोजगार बनाउँदै आयआर्जनमुखी काममा लगाउने उद्देश्यले नेपाली सेनाको ‘सिघ्र प्रभाव आयोजना’ अन्तर्गत त्रियुगा नगरपालिका १३ असारीमा १० वटा ग्रीनहाउस निर्माण गरिएको हो।  

ग्रीनहाउसमार्फत सेवा निबृत्त सैनिकहरुले मौसमी तथा बेमौसमी तरकारी खेती गर्न सक्नेछन्। यसले आयआर्जन गर्न सहयोग पुग्ने ध्यय सेनाको छ। १० लाख रुपैयाँ लगानीमा निर्मित ग्रीनहाउस सञ्चालनको जिम्मा भूतपूर्व सैनिक सहकारी संस्था उदयपुरलाई दिइएको छ।  

शुक्रबार आयोजित कार्यक्रममा नेपाली सेनाको पूर्वी पृतनापति उपरथी सन्तोषकुमार ढकालले ग्रीनहाउस उद्घाटन गर्दै पूर्व सैनिक सहकारीलाई हस्तान्तरण गरे। हस्तान्तरण कार्यक्रममा उपरथी ढकालले अवकास प्राप्तपछि भूतपूर्व सैनिकलाई विदेश पलायन हुनबाट बचाउँदै स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्न स्थापित सिघ्र प्रभाव आयोजनामार्फत यो कार्यक्रम ल्याइएको बताए। ग्रीनहाउसमा मौसमी तथा बेमौसमी गरी १२ महिनै तरकारी खेती गर्न सकिने भन्दै यसले पूर्व सैनिकलाई रोजगारी र आयआर्जनमा महत्वपूर्ण सहयोग पुग्ने बताए।

कार्यक्रममा त्रियुगा नगरप्रमुख बलदेव चौधरीले पूर्व सैनिकहरुले उदाहरणीय काम गरेको भन्दै नेपाली सेनाले गरेको यो सहयोगले उनीहरुलाई थप उर्जा मिल्ने अपेक्षा गरे। मेयर चौधरीले पूर्व सैनिकहरुलाई गाईघाट बजारमा वयवस्थित मासु बिक्री केन्दै (गोस खाना) सञ्चालन गर्न आग्रह गरे। त्यसका लागि सहकारीलाई ४० लाख रुपैयाँ अनुदान दिने प्रतिबद्धता पनि मेयर चौधरीले व्यक्त गरे।  

नवनिर्मित ग्रीन हाउसमा बेमौसमी तरकारी खेती गर्न थोपा सिँचाइको व्यवस्था मिलाइएको छ। ५ वटा मोटरमार्फत ट्यांकी राखेर अत्याधुनिक सिँचाइ गर्ने प्रविधि जडान गरिएकाले बाह्रैकाल तरकारीमा पानी हाल्न मिल्ने छ। यसले बेमौसमी खेती फस्टाउन सहयोग पुग्ने सहकारी अध्यक्ष खड्गबहादुर चामलिङले बताए।  

उनका अनुसार सेवा निबृत्त सैनिकहरुको सामूहिक पहलमा भूपू सैनिक सहकारी संस्था सञ्चालनमा ल्याएपछि २०७२ माघ २२ गतेदेखि असारीमा ५ बिगाहा १० कठ्ठा क्षेत्रफल जमिन भाडामा लिएर सामूहिक व्यवसायिक गाई पालन सुरु गरिएको छ। २१ वर्षका लागि भाडामा लिएर तरकारी खेती सुरु गरेको त्यहाँ सहारीले यसअघि नै व्यवसायिक गाई पालन (फार्म) सुरु गरिसकेको उनले बताए। उन्नत जातको गाई पालन व्यवसायमा सहकारीले झण्डै १ करोड लगानी गरिसकेको छ भने हाल गाईको दूधको बजारीकरणसमेत गरिसकेको चामलिङले बताएका छन्।  

ग्रीनहाउस सञ्चालनमा आएपछि अब हरियो तरकारी र फलपूmलसमेत उत्पादन गर्ने योजना अघि बढाइएको चामलिङले बताए। भूपू सैनिकले उत्पादन गरेका कृषि उपज र दूध अर्गानिक भएकाले उपभोक्ताले स्वस्थ्यकर मान्दै खपत गर्ने गरेका छन्। ग्रीन हाउस बनेपछि तरकारी उत्पादन बढ्न सक्ने अनुमान गर्दै जिल्लाबहिर निर्यात गर्ने लक्षसमेत लिएको चामलिङले बताए।

प्रकाशित: ४ पुस २०७७ ०७:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App