८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

अस्पतालमा तीन दिनदेखि दलित बालकको शव ‘बन्धक’

तस्विरः मिथिलेश/नागरिक

सुविधासम्पन्न अस्पतालमा पुर्याएपछि छोरालाई निको पारेर घर फर्काउन पाइन्छ भनेर सुनिता सदा तीन जना साहुसँग डेढ लाख रुपैयाँ ऋण उठाए। गत्त आइतबार अढाई वर्षे छोरा सिद्धार्थलाई एम्बुलेन्समा राखेर सुनिता बिराटनगरस्थित बिराट नर्सिङ होम पुर्याइन्। छोरा निको हुने आशमा अस्पतालका चिकित्कसले भनेअनुसार सबै पुर्याउँदै गइन्। ऋण उठाए ल्याएको सबै पैसा सक्यो तर छोरा निको भएन। सोमबार सिद्धार्थको बिराट नर्सिङ होमको आइसियू युनिटमा मृत्यु भयो।

सोमबारबाट छोराको शवका लागि सुनिता सदाले हारगुहार गरिरहेकी छिन्। अढाई वर्षीय छोरा सिद्धार्थको शव तीन दिनदेखि अस्पतालमा ‘बन्धक’ छ। बिराटनगरस्थित बिराट नर्सिङ होमलाई करिब १ लाख रुपैयाँ बुझाउन नसक्दा सुनिताले छोराको शव ल्याउन पाएकी छैनन्। आईसीयूमा निरन्तर उपचार गराउदासमेत छोरालाई बचाउन नसकेकी सुनिताले छोराको शव तीन दिनसम्म बुझ्न नपाउदा थप विक्षिप्त बनेकी छिन्।

छोराको मृत्युको खबरले विक्षिप्त सुनिताको परिवार तीन दिनदेखि भोकै प्यासै अस्पताल पक्षलाई शव बुझाउन गुहार्दै छन्। सिरहा नगरपालिका–५ मानपुर खरसलबा स्थित सदाको छाप्रोमा सन्नाटा छ। आफन्त सबै अस्पतालमा ‘बन्धक’ रहेको शव ल्याएर दाहसंस्कार गराउने प्रयत्नमा जुटिरहेका छन्। तर, पैंसा नहुँदा अस्पतालबाट शव छुटाउन सकिरहेका छैनन्।

सुनिताका पति सुनिल सदाको भदौ १७ गत्ते मोटरसाईकल दुर्घटनामा निधन भएको छ। उनी पछाडि बसेको मोटरसाईकल सिरहा–चोहर्वा सडक खण्डमा दुर्घटना भएको थियो। सुनिल गुमाएपछि यस परिवारको चुलो बल्न छोडेको छ। कमाउने व्यक्ति नभएपछि कसरी चुलो बल्थ्यो। मनकारीले दिएको राहत सहयोगबाट जसोतसो यो परिवारले गुजारा गर्दै आएका छन्। पतिको किरियाकर्म सकिएपछि मजदुरीको मियो थामेर परिवारको छाक टार्ने बिकल्प खोज्दै थिइन सुनिता। यसैबीचमा कान्छो छोरा सिद्धार्थ बिरामी परे।  

सिद्धार्थलाई ज्वरो आएपछि सुनिताले गाउँकै औषधि पसलमा औषधिउपचार गराइन। यहाँको औषधिबाट निको नभएपछि सिरहाको आरके मेडिसिटी अस्पताल धनगढीमाई सिरहा पुर्याइन। त्यहाँ उपचार गराउँदा पनि निको भएन। यहाँका डाक्टरले सिद्धार्थको आन्द्रामा समस्या छ भन्दै बिराटनगरको सुविधासम्पन्न अस्पताल लैजान सल्लाह दियो। बिराटनगर लग्नका चाहिने रकम उनीसँग तत्काल थिएन।

आरके मेडिसिटीबाट उनीहरु गाउँ फर्के। गाउँका तीन जना साहुमहाजनसँग १ लाख ५० हजार रुपैयाँ ऋण लिएँको सुनिताले भनिन्। गत आइतबार नर्सिङ होम पुर्याइएका बालक सिद्धार्थको उपचारमा संलग्न चिकित्सकले पेटको शल्यक्रिया गर्नुपर्ने बताए। परिवारजनले चिकित्सकलाई जे गर्दा उनी निको हुन्छ त्यही गर्नुस् भने। चिकित्सकले बालकको पेटकको शल्यक्रिया गरे। अब निको हुन्छ भनेर परिवारलाई ढाड्स दियो।

तर चिकित्सकले ढाड्स दिएजस्तो बालकको स्वास्थ्यमा सुधार भएन। पाँच दिन नबित्दै पुनः उनको शल्यक्रिया गरियो। अब ढुक्क हुनुस् छिट्टै डिस्चार्ज गरिदिन्छौं भनेर चिकित्सकले आइसियूबाट जेनरल बार्डमा सारिदिए। चिकित्सकको ढाड्सले सदा परिवारलाई निश्चिन्त भए। तीन दिन नबित्दै आइतवार बचाले आमाको दुध खाने इच्छा जनाए। सुनिताले भन्छिन्,‘दूध चुस्नै सकेनन्, मुख बाएर छोडिदिए।’  

आइतबार रातीदेखि नै उनी सिकिस्त हुँदै गए। नर्सहरुलाई ठूलो डाक्टर बोलाईदिन भन्दा तिमिले भन्दैमा बोलाउछु भनेर हप्काए बालकको सानी आमा ललिता सदाले नागरिकसँग भनिन्,‘बच्चा छटपटाएर तम तोड्नै लाग्दा पनि डाक्टरलाई बोलाइदिनएनन्। सोमबार बिहान ५ बजे बच्चाले उल्टो सास फेर्न थालेपछि दौडेर नर्स बोलाए बालकका हजुरबुवा रामकुमारले भने,‘उनीहरु आएर बचाको नाकमा अक्सिजन मास्क लगाइदिएर फर्के।’ 

विहान ८ बजे मात्र डाक्टर आइपुगेको उनले बताए। त्यसपछि आइसियूमा लग्न हतार गर्यो। मैले बच्चालाई काँखमा बोके सानी आमा ललिताले उनको शरीरमा लगाइएका पाईपहरु समातेर माथिल्लो तल्लामा रहेको आइसियूतिर दौडे, उनले भने। आइसियूमा पुर्याउने बितिकै चिकित्सकले औषधिको पुर्जा थमाएर ल्याउन भन्यो। घण्टैपिच्छे पुर्जा थमाउँदै औषधि ल्याउन भन्थ्यो रामकुमारले भने,‘औषधि मात्र ल्याउने कि बच्चाको हालत पनि बताउनुहुन्छ भनेर सोधे। जवाफमा चिकित्सकले पहिला औषधि ल्याउनुस अनि बचाको हालत बताउछु भन्यो।’

दिउँसो तीन बजे फेरी औषधिको पुर्जा थमाएपछि म जान मानिन रामकुमारले भने,‘पहिला मेरो बचालाई देखाइदिनुस अनि मात्र औषधि ल्याइदिन्छु भनेर अड्डी कसे। तर, डाक्टर मानेन। औषधि लिएर आएपछि फेरी बचाको अनुहार देखाइदिन जिद्दि गरेपछि डाक्टर ल आउनुस भन्यो। सिसाबाट च्याएर हेर्दा शरिरभरी प्लास्टिकका पाईप, नाकमा अक्सिजन मास्क लागेको थियो।’ डाक्टरहरु बचाको छातीमा थिच्दा कम्प्युटर पिलिक्क बल्थ्यो छाड्दा निभ्थ्यो उनले भने,‘ ल हेर्नुभयो भन्दै डाक्टरले बच्चाको अवस्था सिरियस भएको जनाए।’

मलाई त्यतीबेलै बच्चाको सास मेसिनको भरमा चलिरहेको भान भैसकेको थियो तर डाक्टरले दिउँसो ५ बजे मात्र बचालाई बचाउन नसकेको जानकारी दिएको रामकुमारले बताए। त्यतिबेरै कागजमा हस्ताक्षर गरी अस्पतालको बिल फर्छयौट गरेर शव बुझेर लग्न अस्पतालका डाक्टरहरुले अत्याउन थाल्यो रामकुमारले भने,‘ मेरो त सम्पती पनि गयो नाती पनि गयो। छोरा गुमाएकी आमालाई सम्हाल्नु कि अस्पतालले दिएको थप रकमको बिल बुझाउने रकम जुटाउनु उनी रुँदै भने,‘ यती धेरै पैसा कहाँबाट ल्याउनु ?’  

औषधिको मात्र ६५ हजारको बिल बाँकी छ। अस्पतालको उपचार र आइसियूमा राखेको एक दिनको ३० हजारको दरले दुई दिनको रकम बाँकी छ। एक लाख रुपैयाँ जम्मा गरे मात्र शब दिने अस्पतालले भनेपछि सदा परिवार बिलखबन्दमा परेका छन।  

बचाकी सानी आमा ललिताले भक्कानिँदै भनिन्,‘अस्पतालको लापरबाहीले बचा गुमायौ, अहिले मरेको बचालाई पनि ‘बन्धक’ बनाएर पैसा माग्दैछ। बचाको लाश लिन हामी कहाँबाट ल्याउनु यती धेरै पैसा उनी रुँदै भनिन,‘उपचारमा खर्चेको एक लाख बढी रुपैयाँ पनि गयो बचा पनि मर्यो। अब लाशको फेरि एक लाख बुझाउनुपर्ने ?’

‘हामीमाथि अत्याचार भयो । जसरी हुन्छ मुक्त गर्न पहल गरिदिनूस् । कहाँ गएर बोल्न पर्छ बोलिदिनूस्, लेखिदिनूस्,’ दुई दिनदेखि अस्पतालमा बन्धक छोराको शवका लिन छटपटाइरहेकी सुनिताले रुँदै अनुरोध गरिन।  

सदा परिवार दलित संघसंस्थाका पदाधिकारीहरुलाई समेत गुहारिसकेको बताउँछन्। हामीमाथि भएको अत्याचार बारे दलित प्रतिनिधिहरुलाई पनि जानकारी गराएका छौं रामकुमारले भने,‘अहिलेसम्म कतैबाट कुनै सार्थक पहल भएको अनुभूति गरेका छैनौं।

देशमा नागरिक सरकार छ, तर त्यो कति असंवेदनशील र गैरजिम्मेवार छ ? यो एउटा उदाहरण हो । दलित समुदायका बचाको शवलाई अस्पतालमा बन्धक बनाइएको छ । प्रदेश १ र २ दुबैतिरका सरकारले दलित समुदायको नाममा ठुल्ठूला घोषणा गरेका छन् । तर, वास्तविकता फरक पाइन्छ।  

अन्यायको विरुद्ध बोलिदिनुस्, लेखिदिनुस् भन्दै गर्दा छोरा गुमाएकी सुनिता भक्कानिँदै थिइन। सानी आमा ललिता हजूरआमा कलाबत्ती हतास देखिन्थे । यो दुई दिनमा सहेको उपेक्षाले उनीहरु टुटिसकेका छन। सिरहा नगरपालिकाका प्रमुख असेश्वर यादवलाई सम्पर्क गरेर घटनाबारे जिज्ञासा राख्दा उनी अनविज्ञता प्रकट गरे। जानकारी पाएपछि उनले नागरिकसँग भने,‘म तत्काल सिडिओ साहेबसँग समन्वय गरेर सामाधान निकाल्छु।’  

अस्पताल पक्षले भने बिरामीको उपचार गर्ने कर्तव्य पूरा गरिसकेकोले अब उपचारबापतको रकम लिनु पनि आफ्नो कर्तव्य भएको जनाएको छ।नेपालको संविधानको धारा १६ को उपधारा(१)ले प्रत्येक व्यतिmलाई सम्मानपूर्वक बाच्न पाउने हकलाई प्रत्यभूत गरेको छ। धारा ३५ मा स्वास्थ्य सम्बन्धि हकको उपधारा (१)ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशूल्क प्राप्त हुने हक हुनेछ र कसैलाई पनि आक्सिमिक स्वास्थ्य सेवाबाट बञ्चित गरिने छैन भनि व्यवस्था गरेको छ।

मानवअधिकारको विश्वव्यापी घोषणापत्र १९४८ को धारा२५(१) ले प्रत्येक व्यतिmलाई उसको र उसको परिवारको स्वास्थ्य कल्याणको लागि प्रयाप्त जिवनस्तरको अधिकार छ र यस अन्तर्गत खाना, कपडा, घर तथा औषधोउपचारको सुविधा आवश्यक सामाजिक सेवाहरु पनि समिलित छन। बिरामी ,असमर्थता, विधवा, बुढेसकाल वा निजको नियन्त्रण बाहिरको अरु कुनै परिस्थितिमा सामाधानको अभाव भएमा सुरक्षाको अधिकार हुने व्यवस्था गरिएको छ।

मुलुकको सात प्रदेशमध्ये प्रदेश २ ले दलित सशतिmकरण ऐन समेत संसदबाट पास गरिसकेको छ। दलितहरुको समस्या सामाधानका लागि मुख्यमन्त्री लालबावु राउतकै संयोजकत्वमा उच्चस्तरीय समिति समेत छ। तर एक जना दलित महिला जसले पत्ति गुमाएको एक महिना नबित्दै उपचारको क्रममा नाबालक छोरा गुमाउन पुगीन। साहुसँग लिएको ऋण कसरी चुक्ता गर्नेसम्म परवाह नगरी छोरा बचाउन ठूला अस्पताल पुगीन। सर्वस्व भइन। छोरा गुमाइन। अहिले मृत छोराको शव समेत बन्धकी छ। जसलाई मुतm गराउन उनीसँग पैसा छैन। मृतक छोरा घर लगेर अन्तिम संस्कार गर्ने अन्तिम इच्छा छ। तर, उनी विवस छिन। बिलौना, छटपटि, रोदनबाहेक उनीसँग कुनै बिकल्प छैन।

यो यस्तो वास्तविकता हो, जसले गरीवी, राज्य संयन्त्रबीचको असमन्वय, समाजको अमानवीय चरित्र र नागरिकको स्वास्थ्यमाथि हुने कारोवारको सोच एकैसाथ उजागार गरिदिएको छ।

प्रकाशित: २८ आश्विन २०७७ ०५:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App