५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

१२ वर्षपछि विद्यालयको जमिन फिर्ता

स्थानीयले खनजोत गरेको विद्यालयको खेलमैदान। तस्बिर: नागरिक

स्थानीयले अतिक्रमण गरेर भोगचलन गर्दै आएको सुर्खेतको नेपाल राष्ट्रिय आधारभुत विद्यालयको १० बिघा जमिन १२ वर्षपछि फिर्ता भएको छ। पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–२ च्युरीखेतस्थित उक्त विद्यालयको जमिन २०६५ सालदेखि स्थानीय हर्षबहादुर आले, गम्भिर आले, अम्मरसिंह आले, रूद्रबहादुर सलामी, दलबहादुर सुनारलगायत २४ जनाले ‘कब्जा’ गरेर भौतिक संरचना निर्माण गरेर प्रयोग गर्दै आएका थिए। स्थानीय प्रशासन र नगरपालिकाको सहयोगमा जमित विद्यालयलाई फर्ता गरिएको हो।

अहिले विद्यालयदेखि तीन किलोमिटरमाथि रहेको विद्यालयलाई खरबारीका रूपमा प्रयोग गर्दै आएको जमिन स्थानीयले २०६३ जेठ २२ गते हस्तान्तरण गरेका थिए। २०४६ सालमा स्थापना भएको विद्यालय सुरुमा अहिलेको स्थानभन्दा तीन किलोमिटरमाथि थियो। विद्यार्थी संख्या बढ्दै गएपछि अभिभावकले अहिलेको ठाउँमा सार्ने निर्णय गरेका थिए। आफूले भोगचलन गर्दै आएको सामुदायिक÷ऐलानी जग्गा विद्यालयलाई हस्तान्तरण गरेको उनीहरूको भनाइ छ। तत्कालीन जिल्ला शिक्षा कार्यालय र गाउँ विकास समितिको आर्थिक सहयोगमा ६ कोठे भवन निर्माण भएको थियो।

‘पहिलेको विद्यालय एक रोपनी क्षेत्रफलमा थियो, विद्यार्थीको संख्या बढी भएकाले स्थानीयनै अहिलेको जमिन उपलब्ध गराउनु भएको थियो,’ विद्यालय व्यवस्थापन समिति अध्यक्ष रीता शाहीले भनिन्, ‘भवन बनेर पठन–पाठन सुरु भएसँगै अतिक्रमण सुरु भयो।’ अतिक्रमण बढ्दै गएपछि १० बिघा जमिन ६ कोठे भवनमा सीमित भयो। विद्यार्थीलाई मैदानसमेत स्थानीयले कब्जा गरेर खेती गर्दै आएका थिए।

१२ वर्षदेखि अतिक्रमणको चपेटामा परेको जमिन शनिबार विद्यालयकै नाममा स्थानीयले फिर्ता गरेका हुन्। पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापा र सहायक प्रमुख जिल्ला अधिकारी रोम महतसहितको टोलीले स्थानीयसँग छलफल गरेका थिए। त्यसपछि जमिन विद्यालयको नाममा फिर्ता गरिएको हो। ‘सुरुमा समुदायको भेलाले आफूले भोगचलन गर्दै आएको जमिन विद्यालयलाई दिएको भए पनि पछि उनीहरूलेनै अतिक्रमण गरेर भौतिक संरचना निर्माण गरेका थिए,’ सहायक प्रमुख जिल्ला अधिकारी महतले भने, ‘व्यक्तिको नाममा नरहेको जमिन सरकारको भएकाले समुदायको भेलाले विद्यालयलाई हस्तान्तरण गरिसकेको जमिनमा कसैले दाबी गर्न पाउँदैन।’ पञ्चपुरी नगरपालिकाका मेयर थापाले विद्यालयलाई आफूले भोगचलन गर्र्दै आएको जमिन दिने व्यक्तिको नाम अभिलेखमा राखिने बताए।

स्थानीय लालबहादुर घर्तीले सहमति विपरित केही व्यक्तिले विद्यालयलाई दिएको जमिन फेरि भोगचलन गर्न थालेपछि आफूहरूले पनि विद्यालयलाई दिएको जमिन प्रयोग गरेको बताए। ‘सबैले फिर्ता गर्ने निर्णय गर्नुभएको छ,’ उनले भने, ‘हामीले पनि जमिन विद्यालयलाई फिर्ता गछौं।’ विद्यालयले हरेक वर्ष विद्यार्थी संख्या बढ्दै गए पनि जमिन अतिक्रमण हुँदा नयाँ भवन बनाउन सकेको थिएन्। विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष दलबहादुर रानाले जमिन विद्यालयलाई हस्तान्तरण भएसँगै भवन निर्माणको काम सुरु हुने बताए।

प्रकाशित: २६ आश्विन २०७७ ०२:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App