१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

चाडपर्व लक्षित सुरक्षा योजना: नाकामा चेकिङ, सहरमा पेट्रोलिङ’

पोखरामा चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत खटिएका प्रहरीहरु। तस्बिर: उमेश पुन/नागरिक

जिल्ला प्रहरी कार्यालय कास्कीले नजिकिदो चाडपर्व लक्षित गरेर सुरक्षा योजना सार्वजनिक गरेको छ। कास्की प्रहरीले नेपालीको महान चाड दशैं, तिहार, छठ, नेपाल सम्वतलगायतका चाँडपर्वहरुलाई मध्यनजर गर्दै चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएको हो। देशकै ठूलो महानगरलाई सुरक्षित बनाउन कास्की प्रहरीले ‘नाकामा चेकिङ, सहरमा पेट्रोलिङ’ अभियान सञ्चालन गर्ने जनाएको छ ।

जसका लागि कास्की प्रहरीले अहिले खटिएको भन्दा दोब्बर संख्यामा प्रहरी खटाउने भएको छ। कास्की प्रहरीमा कुल ९ सय ६ जना प्रहरी भएकोमा ७३५ जनालाई फिल्डमै खटाउने गरि योजना तयार पारिएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) जीवन श्रेष्ठले जानकारी दिए। उनले विशेष गरेर सहरी क्षेत्रलाई लक्षित गरेर प्रहरी परिचालन गरिएको बताए। उनका अनुसार दिउँसो र राती दुबै समयमा प्रहरी परिचालन गरिनेछ। प्रहरीले यस वर्ष साविकका चाँडपर्व भन्दा बढी चोरी हुने सम्भावना औंल्याउँदै सो कार्यहरु रोक्नका लागि प्रहरी खटाइने जनाएको छ। यस वर्ष कोभिड–१९ का कारण धेरैले रोजगारी गुमाएको, आम्दानी घटेकोलगायतका कारण चोरी बढ्न सक्ने भएकाले सोहि अनुसार सुरक्षा योजना तयार पारेर प्रहरी खटाइएको एसपी श्रेष्ठले बताए ।

कास्की प्रहरीले गण्डकी प्रदेशको राजधानी पोखरा भित्रिने र बाहिरिने मुख्यमुख्य नाकाहरु, मुख्य मुख्य सडक तथा भीडभाड हुने बजार क्षेत्रहरुमा बाक्लो मात्रामा प्रहरी परिचालन गर्ने जनाएको छ। त्यस्तै, वैंक, वित्तिय संस्था, बिजनेस कम्प्लेक्स, डिपार्टमेन्टल स्टोर्स, सुन पसललगायतमापनि प्रहरी परिचालन गरेर निगरानी बढाइएको प्रहरी प्रवक्ता, प्रहरी नायव उपरिक्षक (डिएसपी) सुवास हमालले जानकारी दिए ।

यसैगरी खसी, बोका, च्याङ्ग्रा भित्रिने नाकामा पनि प्रहरी परिचालन गरिएको उनले बताए। खसीबोका लुट्ने, ब्यापारीलाई कुटपीट गर्ने, पैसा माग्नेलगायत सम्भावनालाई मध्यनजर गर्दै प्रहरी परिचालन गरिएको उनको भनाई छ। सुरक्षा ब्यबस्था चुस्त राख्नका लागि सादा पोषाक र बर्दीधारी पोषाक दुबै परिचालन गरिएको डिएसपी हमालले जानकारी दिए। बर्दीधारीबाट लुकीछिपी आपराधिक कार्य हुने भएकाले सादा पोषाकका प्रहरी परिचालन गरिएको उनको भनाई छ।

कास्की प्रहरीले चाँडपर्वमा हुनसक्ने होहल्ला, हुलहुज्जत र लफडा नियन्त्रणका लागिपनि छुट्टै फोर्स परिचालन गर्ने भएको छ। विशेष टास्क फोर्स बनाएर प्रहरी परिचालन गरिने डिएसपी हमालले बताए। उनका अनुसार मापसे र लागूऔषध नियन्त्रणलाई पनि प्रभावकारी रुपमा नियन्त्रण गर्न प्रहरी परिचालन गरिनेछ। जसका लागि नाकाहरुमा चेकिङ र सादा पोषाकका प्रहरी परिचालन गरिने उनले बताए ।

प्रहरीले चाँडपर्वमा घर फर्किने यात्रुहरुलाई लक्षित गरी पोखराका दुई ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन गर्ने भएको छ। यात्रु बाहिरने मुख्य क्षेत्र पोखराको पृथ्वीचोक बसपार्क अगाडि र बागलुङ बसपार्कमा ६/६ जनाको टोलिसहित यात्रु सहायता कक्षा सञ्चालन गरिने डिएसपी हमालले बताए। यात्रु सहायता कक्षबाट स्वास्थ्य सुरक्षा साबधानीसँगै, ठगिएका यात्रु, सामान हराएका, टिकट नपाएका, पकेट मारिएका, बढी भाडा लिएका, टिकट काटेरपनि सिट नपाएका, अलपत्र परेका यात्रुहरुलाई सहयोग गरिने उनले बताए ।

कास्की प्रहरीले चाँडपर्वमा हुने जुवातासलगायतका अवैध कार्यहरुको नियन्त्रण गर्नपनि निगरानी बढाएको छ। जुवातास खेलिरहेकालाई समातेर कार्वाही गर्ने, मुद्धा चलाउनेलगायतका कार्यहरु गरिने डिएसपी हमालले बताए।

प्रकाशित: २१ आश्विन २०७७ १३:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App