६ वैशाख २०८१ बिहीबार
समाज

सुत्केरी मृत्यु प्रकरणः छानविन समितिको प्रतिवेदन आयो कार्बाही प्रकृया अन्यौल

पीडितलाई २ लाख दिएर उजुरी फिर्ता गर्न लगाईयो

अमर्त्य पोलिक्लिनिक ।

सर्लाही सदरमुकाम मलंगवा नगरपालिका–९ स्थित अमर्त्य पोलिक्लिनिकमा शल्यक्रिया गर्दा सुत्केरी महिलाको मृत्यु भएको घटनाबारे छानविन समितिको प्रतिवेदन आएपछि जिल्ला प्रशासन कार्यालय मलंगवाले आवश्यक कार्बाही प्रकृया अगाडी बढाएको छ । तर समितिको प्रतिवेदनले उठाए अनुसार लम्बेतान प्रकृया अवलम्बन गरिने भएको छ ।

छानविन समितिले प्रतिवेदन पेश गरेको र आफूले सोही प्रतिवेदनका आधारमा कार्बाही प्रकृया अगाडी बढाएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । ‘घटनाबारे विभिन्न संचारमाध्यमबाट जानकारी आएपछि मैले छानविन गर्न समिति गठन गरेको थिएँ’, प्रजिअ पौडेलले नागरिकसँग भने, ‘समितिले दिएको प्रतिवेदनका आधारमा आवश्यक कार्बाही प्रकृया अगाडी बढाएको छु ।’

जिल्ला स्वास्थ्य कार्यालयबाट बहिरंग (ओपीडी) र आकस्मिक सेवा सञ्चालनको मात्र अनुमति लिएपनि अमत्र्य पोलिक्लिनिकमा उक्त पोलिक्लिनिकका संचालक डा. सुरेन्द्र कुमारले गएको भदौ १२ गते शल्यक्रिया मार्फत सुत्केरी गराईएकी मलंगगवा नगरपालिका–१० निवासी २४ वर्षीया सबिता भन्ने सहती कुमारीको १६ गते मृत्यु भएको थियो । पहिलो सन्तानको रुपमा छोरा जन्माएकी सबिताको दाहसंस्कार नै गरिसकेपछि घटनाबारे जानकारी पाईएपनि नागरिक दैनिकसहित विभिन्न संचारमाध्यमबाट समाचारहरु बाहिर आएको थियो । 

विभिन्न संचारमाध्यममा घटना बाहिर आएलगतै र मृतक सविताका श्रीमान प्रमोद साहकी दिदी दुलारी देवीले आवश्यक क्षतिपूर्ति सहित घटनाबारे छानविन गर्न मागसहित ठाडो उजुरी दिएपछि प्रजिअ पौडेलले जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामप्रमोद यादवको संयोजकत्वमा जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख सुशिलकुमार झा र जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. अविनाशकुमार सिंह सदस्य रहेको छानविन समिति गठन गरेका थिए ।

समितिले प्रजिअ पौडेलसमक्ष बुझाएको प्रतिवेदनको अन्तिम ६ नम्बर बुँदामा ‘सिफारिस तथा सुझाव’ शिर्षक भन्दै कार्बाही प्रकृयाका बारेमा अथ्र्याईएको छ । ‘स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११ (४) (ख) बमोजिम जनरल अस्पताल, नर्सिङ होम, निदान केन्द्र तथा अन्य स्वास्थ्य संस्थाहरुको क्लिनिक दर्ता, सञ्चालन अनुमति र नियमनको अधिकार स्थानीय तहलाई प्राप्त भए अनुसार यस प्रतिवेदनको शिर्षक कसुर र सजाय सम्बन्धी बुँदा नम्बर ५ बमोजिमको प्रकरण –क) का सन्दर्भमा पालिकाहरुमा आवश्यक कार्बाहीका लागि पठाउने’, प्रतिवेदनको ६ नं. बुँदामा लेखिएको छ, ‘प्रकरण (ख) को सन्दर्भमा अनुसन्धान अधिकारी समक्ष पेश गर्नुपर्ने, प्रकरण (ग), (घ) र (ङ) को सन्दर्भमा रितपूर्वकको जाहेरी पेश भई आएमा कानून बमोजिम हुने र प्रकरण (च) को सन्दर्भमा आवश्यक कार्बाहीका लागि मेडिकल काउन्सिलमा सिफारिस गर्न सकिने देखिन्छ ।’  

त्यस्तै प्रतिवेदनको ३ नम्बर बुँदा ‘कसुर र सजाय सम्बन्धी व्यवस्था’ भन्ने शिर्षकको क उपबुँदामा जनस्वास्थ्य सेवा ऐन, २०७५ दफा २२ बमोजिम गैर सरकारी वा निजी स्वास्थ्य संस्थाले तोकिए बमोजिम ईजाजत पत्र नलिईं सेवा सञ्चालन गरेमा स्वास्थ्य संस्थाहरुको ईजाजत पत्र स्वतः खारेज भएको मानिने छ भनेर लेखिएको छ । ‘मुलुकी अपराध संहिता २०७४ दफा १७८ बमोजिम कसैले कुनै काम गर्दा साधारणतया मानिसको ज्यान जान सक्छ भन्ने जानीजानी वा विश्वास गर्नुपर्ने कारण हुँदाहुँदै त्यस्तो काम गर्न हुँदैन तर सो कारणबाट कसैको ज्यान मरेमा कसुरदारलाई जन्मकैदको सजाय हुनेछ’, प्रतिवेदनमा औल्याईएको छ, ‘सोही संहिताको दफा १८१ बमोजिम कसैले लापरबाहीपूर्ण काम गरी कसैको ज्यान मार्न हुँदैन, सो बमोजिमको कसुर गर्ने व्यक्तिलाई दफा १७७, १७८ र १७९ को अवस्थामा बाहेक ३ देखि १० वर्षसम्म कैद र तीसहजार रुपैयाँदेखि एकलाख रुपैंयासम्म जरिवाना हुनेछ ।’ त्यस्तै नेपाल मेडिकल काउन्सिल ऐन २०२० को दफा १७ (ख) बमोजिम पेशा सम्बन्धी कुनै खराब आचरणको दोषि हो भने काउन्सिलको सदस्य संंख्याको दुइतीहाई बहुमतले ठहर्‍याएको दर्तावाला चिकित्सकको नाम दर्ताबाट हटाउन सक्ने समेत प्रतिवेदनमा औंल्याईएको छ ।  

छानविन समितिको प्रतिवेदन अनुसार सरोकारवाला निकायलाई आवश्यक कार्बाही प्रकृया अगाडी बढाउन पत्राचार गरिने प्रजिअ पौडेलले जानकारी दिए । ‘अब स्थानीय सरकारको रुपमा रहेको मलंगवा नगरपालिका कार्यालय, नेपाल मेडिकल काउन्सिल लगायतमा अमर्त्य पोलिक्लिनिकलाई आवश्यक कार्बाही गर्नका लागि पत्राचार गर्दैछौं’, प्रजिअ पौडेलले भने ।

कार्बाही प्रकृया अन्यौल

पीडित पक्षले उजुरी फिर्ता लिएकाले सिधै कार्बाही प्रकृया अगाडी बढाउन नमिलेको स्थानीय प्रशासनको भनाई छ । ‘पीडित पक्षले उजुरी फिर्ता लिएकाले क्षतिपूर्ति भराउन र आवश्यक कार्बाही गर्न कठिनाई भएको छ’, प्रजिअ पौडेलले भने, ‘त्यसैले छानविन समितिको प्रतिवेदनका आधारमा स्थानीय सरकार, मेडिकल काउन्सिल लगायतमा कार्बाहीका लागि पत्राचार गर्ने छौं ।’

उक्त पोलिक्लिनकमा २०७६ बैशाख ६ गते शल्यक्रिया मार्फत सुत्केरी गराउँदा बरहथवा नगरपालिका–१८, श्रीपुर माईती भई कविलासी नगरपालिका–३, विनंग्रा निवासी सुगन्धी देवीको मृत्यु भएको थियो । सुगन्धी देवीकी डेढ वर्षीया छोरी करुणालाई विनंग्रा स्थित घरमै हजुरआमा नगिना देवीले हुकाईरहेकी छिन् ।  

मुद्धा हाल्छु भनेपछि डा. सुरेन्द्रकुमारले त्यतिखेरै पीडित परिवारलाई तीनलाख रुपैयाँ समेत दिएका छन् । हाल उक्त रकम डेढ वर्षीया करुणाको नाममा उनका बुबा संजिव यादव र मृतक सुगन्धीदेवीका बुबा भुपनारायण राय संरक्षक रहने गरी बैंक खातामा राखिएको छ ।

त्यस्तै बरहथवा नगरपालिका–१८, श्रीपुर नै घर र माईती भएकी करिब ३२ वर्षीया लालपरी देवीको पनि सोही पोलिक्लिनिकमा शल्यक्रिया मार्फत सुत्केरी गराउँदा मृत्यु भएको उनकी आमा सुगावती देवीले गुनासो गरिन् । सुत्केरी गराउनका लागि उक्त पोलिक्लिनिकमा धेरै भिडभाड रहने र अधिकांशको शल्यक्रिया हुने गरेकोले अझै धेरै सुत्केरीको मृत्यु भएको स्थानीय अनुमान गर्छन् ।

यसरी अनुमति नै नलिई पटक–पटक शल्यक्रिया गर्ने र सुत्केरी महिलाको मृत्यु हुने गरेपनि अमत्र्यका संचालक डा. सुरेन्द्रकुमारलाई ठोस कानूनी कार्बाही नहुनु दुःखद रहेको सामाजिक अभियन्ता एवं गैर सरकारी संस्था भोरका संस्थापक अध्यक्ष राजकुमार महतो बताउँछन् । ‘अनुमति नै नलिई जानाजानी सुत्केरी महिलाहरुको हत्या भएको छ, यस्तो अवस्थामा त सिधै कर्तव्य ज्यानमा कार्बाही प्रकृया चल्नुपर्ने हो’, उनले भने, ‘छानविन समिति बनाएर कार्बाही प्रकृया लम्ब्याउनु भनेको पीडकलाई उन्मुक्ति दिने प्रयास हो ।’

नेपाल मानवअधिकार संगठन सर्लाहीका अध्यक्ष रजनिकान्त झा पनि ईजाजत नै नलिई शल्यक्रिया गर्ने र भकाभक सुत्केरी महिलाको मृत्यु भईरहेको पोलिक्लिनिकका संचालकलाई कार्बाही गर्न हिच्किचाउन नहुने बताउँछन् ।  

पीडितलाई २ लाख दिएर उजुरी फिर्ता गर्न लगाईयो

मृतक सविताका श्रीमान प्रमोदकी दिदी दुलारी देवीले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल समक्ष अमत्र्य पोलिक्लिनिकमा शल्यक्रिया गर्दा बुहारीको मृत्यु भएकाले घटनाबारे छानविन तथा उचित क्षतिपूर्ति माग सहित ठाडो उजुरी दिएकी थिईन् । पहुँच र आर्थिक अवस्थाका हिसाबले अत्यन्त कमजोर रहेकाले पीडित पक्षले डराई डराई उजुरी दिएको थियो । तर उक्त उजुरी दिएको दुई दिनपछि नै दबाब र आर्थिक प्रलोभन देखाएर उजुरी फिर्ता लिन लगाईएको छ ।  

जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरी, मलंगवा नगरपालिकाका मेयर निरसल साह लगायतको सकृयतामा पीडित परिवारलाई पोलिक्लिनिकका सञ्चालक डा. सुरेन्द्रको तर्फबाट क्षतिपूर्ती स्वरुप दुईलाख एकहजार रुपैयाँ उपलब्ध गराईएको छ । त्यस्तै उपचारबापत लिएको ४७ हजार रुपैयाँ समेत फिर्ता गरिएको छ ।

प्रकाशित: ७ आश्विन २०७७ ०८:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App