‘सुरुसुरुमा त बूढाबूढीलाई कख सिकाएर के गर्न खोजेको होला भनेर मलाई धेरैले उडाए । एक प्रकारले मलाई मूर्ख ठान्नेहरू अहिले पनि छन् । तर म यसमा निरन्तर लागिरहेँ ।’
आधुनिक र व्यस्त सहरिया जीवनशैलीमा ६० वर्षमाथि उमेरका ज्येष्ठ नागरिकको आधारभूत शिक्षा क्षेत्रमा कार्यरत ‘एजिङ नेपाल’ का संस्थापक अध्यक्ष कृष्णमुरारी गौतम (चट्याङ मास्टर) आफूहरूको त्यही कामको मूल्याङ्कन अन्तर्राष्ट्रियस्तरमा हुन सकेकामा मक्ख र छक्क देखिन्छन् ।
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले उक्त कामका लागि एजिङ नेपाललाई यस वर्षको ‘युनेस्को अन्तर्राष्ट्रिय साक्षरता पुरस्कार २०२०’ मंगलबार प्रदान गर्दै छ ।
‘एजिङ नेपाल’ ले यति सम्मानित ‘युनेस्को किङ सेजोङ लिटेरेसी प्राइज’ कसरी पाउने स्थिति भयो भन्ने प्रश्नमा हास्यव्यङ्ग्यकार गौतमले भने, ‘खोइ, कसरी पाइयो, कसरी पाइयो म पनि तीन छक्क परेको छु । स्वदेशमा सरकार र जिम्मेवार निकायले कुनै वेवास्ता गरेका बेला देशविदेशबाट प्राप्त यो मान्यताले मलाई त नाँचुनाँचु लागेको छ ।’
युनेस्को मुख्यालयले हरेक वर्ष विश्वभरबाट छानिएकामध्येलाई ८ सेप्टेम्बरका दिन विभिन्न पुरस्कार दिने गरेको छ । युनेस्को नेपालका निमित्त नेपाल राष्ट्रिय आयोगको सिफारिसमा २० हजार अमेरिकी डलर राशिको सो पुरस्कारका लागि एजिङ नेपाल यस वर्ष छनोटमा परेको हो । यही पुरस्कार मंगलबार साँझ विशेष भर्चुअल समारोहमार्फत बेलायतको ‘युनाइटेड वल्ड स्कुल’ले पनि पाउँदै छ भने ‘युनेस्को कन्फ्युसियस प्राइज फर लिटेरेसी घानाको ‘जष्ट कमिट फाउन्डेसन’, मेम्सिकोको ‘युनिभर्सिटि सेन्टर फर सोसियल पार्टिसिपेसन’ र यमनको ‘जनरल लिटेरेसी अफिस’ ले हात पार्दै छ ।
हरेक अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा फ्रान्सको पेरिसस्थित युनेस्कोको मुख्यालयमा पुरस्कार वितरण गर्ने गरिएकामा यस वर्ष ‘लिटेरेसी टिचिङ एन्ड लर्निङ इन दि कोभिड १९ ः क्राइसिस एन्ड बिओन्ड’ नारासहित भर्चुअल रूपमा पुरस्कारका वितरण हुन लागेको हो ।
युनेस्को आयोगका सहायक महासचिव डा. बाबुराम अधिकारीले नेपाली संस्थाले यस प्रकारको अन्तर्राष्ट्रियस्तरको पुरस्कार पाउनु नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, युनेस्को आयोगको सचिवालय र नेपालीका लागि गौरवको विषय भएको बताए ।
सन् १९६७ देखि वितरण सुरु भएको अन्तर्राष्ट्रिय साक्षरता पुरस्कारबाट यस क्षेत्रमा कार्यरत विश्वभर ४९५ परियोजना र संस्था पुरस्कृत भइसकेका छन् । शिक्षाले महिला, बालबालिका ज्येष्ठ नागरिक सबैलाई सशक्तीकरण गर्ने गर्छ ।
उमेर जति छिप्पिँदै जान्छ त्यति त्यति आधुनिक विषयमा आधारभूत ज्ञान र सीपको आवश्यकता पर्ने भएकाले आफूहरूले उक्त कार्यक्रम सञ्चालन गरेको अध्यक्ष गौतमले बताए ।
नेपाल सरकारको साक्षर नेपाल कार्यक्रम १५ देखि ६० वर्ष उमेर समूहका नागरिकलाई दिइने गरेकामा एजिङ नेपालले नयाँ पाठ्यक्रम र विधिका आधारमा पाका उमेरका बाआमालाई व्यावहारिक ज्ञान र सीप दिएर परिवारका लागि बोझ नभई प्रेरणा र उत्साहका रूपमा रहने वातावरण प्रदान गरेको छ ।
आजभन्दा ६० वर्षअघि शिक्षाको स्तर यस्तो थिएन । त्यसमा पनि महिलालाई शिक्षा नदिए सानै उमेरमा विवाह गरेर पठाउने गरिन्थ्यो । सानो उमेरमा विवाह हुने भएकाले महिला भात पकाउने, लिपपोत र घरखेत सम्हाल्न सक्ने भए पनि काठमाडौँका कुनै कार्यालय र बाटोका साइनबोर्ड समेत पढ्न नसक्ने स्थिति देखेर आफूले साक्षरताका कार्यक्रम ल्याउने उनले बताए ।
ज्येष्ठ नागरिकलाई समाजको मूल प्रवाहमा ल्याउन मिक्सर र रिमोट कन्ट्रोल चलाउनेजस्ता सिकाइले उनीहरूको जीवनमा आमूल परिवर्तन आएको उनले बताए । अध्यक्ष गौतमले पुरस्कारको निर्णयबारे जानकारी पाउँदा खुसी लागेको उल्लेख गर्दै आफूहरूले बेग्लै किसिमको पाठ्यपुस्तक, अध्यापन विधि र तालीमप्राप्त शिक्षक तयार गरी एक दशकदेखि काम गरिरहेको उनले जानकारी दिए ।
सो संस्थाले राष्ट्रसङ्घस्थित युएन कमिटी अन एजिङको सहयोगमा सन् २०१६ देखि काठमाडौँका वडास्तरमा ‘ज्येष्ठ नागरिक आधारभूत शिक्षा’ कार्यक्रम सञ्चालन गरिरहेको छ ।
हालसम्म काठमाडौँका विभिन्न वडामा गरी १८० बाआमालाई आधारभूत शिक्षा दिइसकेको छ, यसमा १७० महिला छन् । हाल नेपालमा महिला ज्येष्ठ नागरिक बढी निरक्षर छन् ।
‘ज्येष्ठ नागरिकलक्षित शिक्षा कार्यक्रम नहुनु भनेको उनीहरूलाई शिक्षामा पहुँचको मानव अधिकारबाट वञ्चित गर्नु हो, जुन कुरा न्यायसङ्गत हुँदैन,’ गौतम भन्छन्, ‘अहिलेको शिक्षित युवा पनि ज्येष्ठ नागरिक हुँदाको समयसम्म नयाँ नयाँ प्रविधि आइसकेका हुनेछन् । त्यतिबेलाको नयाँ प्रविधिको उपयोग गर्न पनि नयाँ ज्ञान र सीप आवश्यक हुन्छ । नयाँ ज्ञानसँग साक्षात्कार हुन नसकेमा ज्येष्ठ नागरिक दयाको पात्रा भएर अपमानित र अपहेलित हुनुपर्छ ।’
सरकारले यस वर्षदेखि राष्ट्रिय शिक्षा दिवसका अवसरमा उत्कृष्ट विद्यार्थी, विद्यालय, शिक्षक, कर्मचारी र संस्थालाई पुरस्कृत गर्ने तथा राष्ट्रियस्तरमा कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय साक्षरता दिवसभन्दा बेग्लै मनाउने भएको छ ।
‘नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्या पदक र राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी निर्देशिका २०७७’ स्वीकृत गरी नयाँ मितिको खोजी भइरहेको बताइएको छ ।
प्रकाशित: २३ भाद्र २०७७ १०:३५ मंगलबार