coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मृत्यु भएपछि रेफर !

सविताको शल्यक्रिया गरिएको अमत्र्य पोलिक्लिनिक।

सर्लाही सदरमुकाम मलंगवामा रहेको एक पोलिक्लिनिकले शल्यक्रिया गर्दा सुत्केरी महिलाको मृत्यु भएको छ।  सम्बन्धित निकायबाट शल्यक्रियाको अनुमति नै नपाएको मलंगवा नगरपालिका–९ स्थित अमत्र्य पोलिक्लिनिकमा शल्यक्रिया गरिएकी मलंगवा नगरपालिका–१० निवासी २४ वर्षीया सविता भन्ने सहती कुमारीको मृत्यु भएको हो। सविताको गत शुक्रबार दिउँसो शल्यक्रिया मार्फत प्रसुती गराईएको थियो। पहिलो सन्तानको रुपमा छोरा जन्माएकी सविताको गत मंगलबार बिहान मृत्यु भएको हो। बच्चाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ। आर्थिक अवस्था अत्यन्त कमजोर रहेको र आफन्तहरु टाठाबाठा नभएकाले पीडित परिवारले मृतकको दाहसंस्कार गरिसकेपछि मात्र घटनाबारे ढिलागरी जानकारी भएको हो।  

प्रमोदका भिनाजु रामदरेस साहका अनुसार मलंगवा स्थित सरकारी अस्पतालमा देखाएर बाहिर लैजान खोज्दा एम्बुलेन्स नै नपाएपछि सबितालाई उक्त पोलिक्लिनकमा लगिएको हो। ‘जनकपुर लैजानका लागि धेरै एम्बुलेन्सबालालाई फोन सम्पर्क गर्यौंग, तर कसैले पनि लैजान्छौं भनेनन्’, रामदरेसले भने, ‘अनि त्यही बीचमा त्यहाँ पनि बच्चा जन्माउन अप्रेशन हुन्छ रे भन्ने थाहापाएर लगेका हौं, अप्रेशन गरिसकेपछि धेरैतिर रगत खोज्यौं पाएनौं, कोरोनाले गर्दा कसैले रगत दिनै मानेनन्, अन्त्यमा सबितालाई गुमाउन पुग्यौं।’ उक्त पोलिक्लिनकले भने रगत अभावमा बिरामीको अवस्था जटिल बन्दै गएपछि जनकपुर रेफर गरिएको र सबिताको बाटैमा मृत्यु भएको दाबी गरेको छ।

यता प्रमोदकी दिदी दुलारी देवी भने शल्यक्रिया गरेकै अस्पतालमा सबिताको मृत्यु भएको दाबी गर्छिन्। ‘मंगलबार बिहान ३ बजेतिर लौ तत्काल जनकपुर लैजानोस् भन्दै उनीहरुले नै एम्बुलेन्स खोजेर ठिक पारिसकेका रहेछन्, एम्बुलेन्स चालक र अस्पतालका कर्मचारी मिलेर सबितालाई एम्बुलेन्समा राख्दा नै उनको मृत्यु भईसकेको थियो’, दुलारी देवीले भनिन्, ‘ल चाँडो लेर गईहाल्नोस् भन्दै जबर्जस्ती पठाए, एम्बुलेन्समा हाँमी तीनजना थियौँ, लक्ष्मिपुर पुग्दा नपुग्दै एम्बुलेन्सका चालकले सबिताको मृत्यु भईसकेको भन्दै घर फर्काउन पो भने, अनि हाँमीले डाक्टरलाई नदेखाई त घर फर्कदैंनौ भनेपछि एम्बुलेन्स चालकले नै त्यतैतिरको डाक्टरसाबलाई देखाउन लगाउँदा मृत्यु भईसकेको भनियो।’ सदरमुकाम मलंगवाबाट नवलपुरतर्फ आउँदै गर्दा १७ किलोमिटर उत्तर लक्ष्मिपुर पुग्दा नपुग्दै एम्बुलेन्स चालकले नै ‘बिरामीको मृत्यु भईसक्यो, अब घर फर्कौं’ भन्नुले सबिताको पोलिक्लिनिकमै मृत्यु भईसकेको भन्ने आफन्तको भनाईमा सत्यता देखिन्छ। पोलिक्लिनिकमै मृत्यु भएको देखाउँदा समस्या आईपर्ने देखेर हतार हतार सबितालाई जनकपुर रेफर गरिएको आफन्तको आरोप छ।

सबिताले जन्माएको छोरा खेलाउँदै आफन्त

रगत अभावका कारण बिरामीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि मंगलबार बिहान आफूले जनकपुर रेफर गरेको सो पोलिक्लिनिकका सञ्चालक समेत रहेका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. सुरेन्द्र यादवले जानकारी दिए। ‘म गरिब मान्छे बाहिर लान सक्दिन भनेर सविताका श्रीमान तथा आफन्तले रोईकराई गरेपछि मैले बिरामीमा रगतको कमी देखिन्छ त्यसैले रगतको व्यवस्था गर्न सक्नुहुन्छ भने मात्र शल्यक्रिया गर्छु भन्दा उहाँहरुले जसरी पनि गर्छौं भनेर प्रतिबद्धता जनाएकाले मात्र भर्ना गरेको थिएँ’, डा. यादवले भने, ‘शल्यक्रिया गरेको चार दिनसम्म पनि सविताका आफन्तले रगतको व्यवस्था गर्न नसक्दा बिरामीको अवस्था नाजुक हुँदै गएकाले मैले तत्काल जनकपुर लैजानु भनेर मंगलबार बिहान रेफर गरेको थिएँ, एम्बुलेन्समा लैजाँदै गर्दा बाटैमा मृत्यु भएछ।’ डा. यादवले शल्यक्रिया सहित उपचार खर्च बापत ४७ हजार रुपैंया लिएको समेत जानकारी दिए।

अत्यन्त कमजोर आर्थिक अवस्था रहेका सबितालाई अफ्ठ्यारो महसुस भएपछि श्रीमान प्रमोद लगायत आफन्तले शुक्रबार बिहानै मलंगवा स्थित सरकारी अस्पताल लगेका थिए। त्यहाँ पुगेपछि स्टाप नर्सले हेरेर केही घण्टा बस्न भनेपनि उनीहरु आफै हिँडेको मलंगवा अस्पतालले जनाएको छ। मलंगवा अस्पतालको पूर्जीमा पनि उनीहरु स्वास्थ्यकर्मीको सल्लाह बिना हिँडेको भन्ने लेखिएको छ।

मंगलबार दिउँसो आफन्तले सबिताको दाहसंस्कार समेत गरिसकेका छन्। हाल श्रीमान प्रमोद परम्परा अनुसार पत्नीको काजकिरियामा बसिरहेका छन्। सबिताको मृत्यु भएपछि बच्चाको भने दुई दिनसम्म मलंगवा स्थित स्तुती सौम्या हेल्थ केयरमा उपचार गरिएको थियो। बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको उक्त हेल्थ केयरका सञ्चालक बाल रोग विशेषज्ञ डा. गुणेश्वर झाले जानकारी दिए। हाल उक्त बच्चा प्रमोदकै घरमा लगिएको छ र आफन्तले हुकाईरहेका छन्।

जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका जनस्वास्थ्य अधिकृत मुमताज मिकरानीले अमत्र्य पोलिक्लिनिकलाई शल्यक्रिया गर्ने अनुमति नरहेकोले गैरकानूनी कार्य भएको बताए। हाल नयाँ कानून अनुसार पोलिक्लिनिकको अनुगमन, नियमन लगायत कार्य स्थानीय सरकारको मातहतमा गएकाले पछिल्लो समय आफूहरुलाई केही थाहा नभएको जानकारी दिए। ‘पहिला त मैले पटक–पटक त्यो पोलिक्लिनिकका सञ्चालक डाक्टर साहेबले शल्यक्रिया गर्ने गरेको भन्ने सुनिएको छ, त्यस्तो गर्न पाईंदैन है भनेको थिएँ’, मिकरानीले भने, ‘तरपनि सुनेको नसुन्यै शल्यक्रिया भईरहेको रहेछ।’

पत्नीको काजकिरियामा बसिरहेका प्रमोद साह।

यता मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी भने पोलिक्लिनिक स्थानीय सरकारको अधिनमा नरहने बताउँछन्। स्थानीय सरकार संचालन ऐन २०७४ औषधी पसल बाहेक अन्य निजी स्वास्थ्य संस्थाको अनुमति, अनुगमन र नियमन गर्ने अधिकार नगरपालिकालाई नरहेको सुवेदीले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल भने घटनाबारे आफूलाई थाहै नभएको बताउँछन्। ‘ए होर मैले त भर्खर पो थाहा पाए’, प्रजिअ पौडेलले नागरिकसँग भने, ‘बरु पीडितलाई उजुरी हाल्न लगाईहाल्नोस् न, त्यसपछि आवश्यक प्रकृया अगाडि बढाउँछु।’

के छ कानूनी व्यवस्था ?  

स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका, २०७० मा ‘पोलीक्लिनीक’ भन्नाले प्रचलित कानून बमोजिम दर्ता भई एकै स्थानबाट कम्तिमा पाँच वटा सेवा जस्तै बहिरङ्ग सेवा, प्रयोगशाला, रेडियो ईमेजिङ्ग, फिजीयोथेरापी,परिवार नियोजन, खोप सेवा आदि जस्ता बहुसेवा उपलब्ध गराउने संस्थालाई सम्झनु पर्छ भन्ने उल्लेख छ।

त्यस्तै अनुमति अनुगमन र नियमनका सम्बन्धमा सोही निर्देशिकाको परिच्छेद ३ को स्वास्थ्य सेवा सञ्चालन अनुमति प्रक्रिया भन्ने शिर्षकको ‘क’ बुँदामा स्वास्थ्य क्लिनिक, डाईग्नोष्टिक सेन्टर, पोलीक्लिनीक तथा पच्चिस शैया सम्मका अस्पतालको लागि सम्बन्धित जिल्ला स्वास्थ्य/जनस्वास्थ्य कार्यालयबाट, तर डाईग्नोष्टिक सेन्टर तथा पोलीक्लिनीकहरुमा रहने प्रयोगशाला सेवाका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला वा क्षेत्रीय जनस्वास्थ्य प्रयोगशालाबाट सिफारिस प्राप्त गरेको हुनु पर्नेछ भनिएको छ।  

यता डा. यादवले पनि आफूले शल्यक्रिया गरेर गल्ती गरेको स्वीकार गरेका छन्। ‘प्रचलित कानून अनुसार त पोलिक्लिनिकमा शल्यक्रिया गर्न पाईँदैन’, डा. यादवले भने, ‘तर बिरामीका आफन्तले हारगुहार गरेपछि बाध्य भएर अप्रेशन गर्दै आएको छु।’ शल्यक्रिया गर्दा नै गतवर्ष पनि एकजना सुत्केरीको मृत्यु भएको उनले जानकारी दिए। अमत्र्य पोलिक्लिनिक एण्ड माटरनिटि सेन्टर, मलंगवा–९, सर्लाहीको नाममा जिल्ला स्वास्थ्य कार्यालयले २०७३ बैशाख २६ गतेको निर्णय अनुसार पाँच वर्षका लागि अनुमति दिएको छ। जिल्ला स्वास्थ्य कार्यालयले दिएको अनुमति पत्रमा अन्य सम्बन्धित निकाय एवं यस कार्यालयद्वारा अनुगमन गर्दा निर्धारित मापदण्ड अनुसार उक्त सेवा सञ्चालन नभएको पाईएमा जुनसुकै समयमा स्वीकृती (अनुमति) रद्ध गर्न सकिने व्यहोरा समेत जानकारी गराईन्छ भनेर समेत लेखिएको छ। तर यसबीचमा अनुमति बेगर डा. यादवले सोही पोलिक्लिनिकमा दर्जनौंको शल्यक्रिया गरेर प्रसुती गराईसकेका छन्।

 

 

 

प्रकाशित: १९ भाद्र २०७७ ०७:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App