४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

केन्द्रीय कारागारमा १५ घन्टाबीच चारको मृत्यु

क्षमताभन्दा झन्डै दोब्बर कैदीबन्दी रहेको सुन्धारास्थित जगन्नाथदेवलमा रहेको केन्द्रीय कारागारमा १५ घन्टाको अवधिमा चार कैदीबन्दीको ज्यान गएको छ । विभिन्न अभियोगमा जेलजीवन बिताइरहेका उनीहरूको सोमबार बेलुकी ८ बजेदेखि मंगलबार बिहान ११ बजेका बीचमा ज्यान गएको हो । उनीहरूको निधनसँगै कारागारहरूमा त्रास बढेको छ । चारजनामध्ये पाटन अस्पताल र मेघा अस्पतालमा एकएकजना र कारागारभित्रै दुईजनाको मृत्यु भएको जनाइएको छ । मेघा अस्पतालमा मृत्यु भएका कैदीमा कोरोना पोजेटिभसमेत देखिएको छ । भदौ १४ गते पिसिआर परीक्षण गरिएको थियो ।

बिरामी कैदीबन्दीमा कोरोनाका लक्षण देखिएपछि कारागार प्रशासनले कैदीहरूको निगरानी र सुरक्षामा खटिएका सुरक्षाकर्मीको पिसिआर गराएको थियो । सात दिनअघि देशभरिका कारागारका करिब ३ सय ६५ जनाको पिसिआर गर्दा १ सय ११ जनामा संक्रमण पुष्टि भएको थियो । सावधानी अपनाउँदाअपनाउँदै संक्रमण नरोकिएपछि कैदीबन्दी र कर्मचारीमा त्रास बढेको छ । कारागार प्रशासनले पहिलो संक्रमितबाटै कोरोना सरेको हुन सक्ने अनुमान गरेको छ । केही दिनअघि सिन्धुलीबाट केन्द्रीय कारागारमा एक कैदी सरुवा गरिएको थियो । तीमार्फत नै संक्रमण फैलिएको आशंका गरिएको छ । उनको सरुवाअघि कारागारमा संक्रमण नदेखिएको जनाइएको छ । ती बिरामी कैदीलाई अस्पताल लैजाने र ल्याउने क्रममा अन्य सुरक्षाकर्मीमा समेत कोरोना सरेको हुन सक्ने कारागार प्रशासनले जानकारी दियो ।

१ हजार ४ सय ५० कैदी राख्न सकिने क्षमता भएको सुन्धारामा संक्रमणका बेला भौतिक दूरी कायम गर्न सकिने अवस्थासमेत छैन । कैदी र थुनुवालाई खाँदेर राखिएको अवस्थामा संक्रमण देखिएपछि अन्य कैदीमा पनि फैलिने अनुमान गरिएको छ । लक्षण देखिएका केहीको पिसिआर गरे पनि लक्षण नदेखिएका अन्य कैदीको पिसिआर भने गरिएको छैन । केन्द्रीय कारागारभित्र ३० जना कैदीबन्दीमा ज्वरोको लक्षण देखिएको छ । त्यहाँ ८५ जना दीर्घरोगी छन् । मानसिक तथा अन्य रोग लागेर औषधि सेवन गर्नुपर्ने अवस्थाका ४ सय बिरामी त्यहाँ छन् ।  

सात दिनअघि देशभरिका कारागारका करिब ३ सय ६५ जनाको पिसिआर गर्दा १ सय ११ जनामा संक्रमण पुष्टि भएको थियो ।

मृत्यु भएकामध्ये सबै दीर्घरोगी कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ । कोरोना संक्रमणका कारण पछिल्लो समय उनीहरूको नियमित स्वास्थ्य परीक्षणमा अवरोध भएको थियो । कारागार क्षेत्रमा संक्रमण देखिएपछि नियमित स्वास्थ्य जाँच गराउन छाडेको थियो । उनीहरू किड्नी, क्षयरोग, सुगर र प्रेसरका बिरामी थिए । मृत्यु हुनेमध्ये एकजना ४० वर्षीय र अन्यको उमेर ५० वर्षभन्दा माथि छ । कारागार प्रशासनका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले पछिल्लो समय कोरोना संक्रमणका कारण अन्य कैदीमा त्रास बढेपछि सावधानी अपनाइएको बताए । उनले अस्पताल लैजाने अवस्था सहज नभएकाले कारागारभित्रै रेखदेख गरिएको जानकारी दिए । ‘हामीले भित्री रूपमा राम्रोसँग ख्याल राखेकै थियौं, मृत्यु हुनेमध्ये सबै दीर्घरोगी छन्,’ उनले भने, ‘पछिल्लो समय उपचार गराउन लैजाने अवस्था सहज छैन, उपचार गराउन लैजाँदा सुरक्षाकर्मीमै संक्रमण देखियो ।’ केही गम्भीर रोगीलाई अस्पताल लैजाने क्रममा सुरक्षाकर्मीमा समेत कोरोना देखिएपछि अन्य रोगीलाई अस्पताल लैजान छाडिएको छ । उनीहरूको स्वास्थ्य नियमित जाँच गराउनुपर्ने भए पनि कोरोना फैलिएपछि ती बिरामीले उपचार पाएका थिएनन् ।

कैदीबन्दी कोचाकोच गरेर राख्नुपर्दा समस्या  
देशभरीका कारागारमा जेनतेन १७ हजार कैदीबन्दी र थुनुवा अट्न सक्ने क्षमता छ । हाल क्षमताभन्दा झन्डै दोब्बर २४ हजार १ सय ६३ जना कैदीबन्दी र थुनुवा छन् । त्यसमध्ये १ हजार ४ सय ३१ महिला र २२ हजार ७ सय ३२ जना पुरुष कैदीबन्दी छन् । कैदीबन्दीको क्षमताअनुसारका कारागार कार्यालय नहुँदा तराई र सहरी क्षेत्रका कारागारमा कैदीहरू कोचाकोच भएर बस्नुपर्ने बाध्यता छ । कारागारको क्षमताभन्दा बढी कैदीबन्दी राख्दा कारागारमा कोरोना संक्रमणको भय देखिएको छ ।

नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लले कैदीको मानवअधिकारको रक्षा सबैले गर्नुपर्ने बताए । उनले पछिल्लो समय धेरैजसो कारागार साँघुरा रहेकाले कैदीबन्दी कोचोकोच हुनुपर्ने बाध्यता आएको जानकारी दिए । ‘कैदीबन्दीका पनि अधिकार हुन्छन्, अपराध गरेको भन्दैमा उसको मावन अधिकार हनन गर्न पाइँदैन,’ उनले भने, ‘मानव अधिकारको रक्षा गर्नु सबैको दायित्व हो ।’  

अधिवक्ता सरोज गिरीले जस्तोसुकै अवस्थामा पनि मानव अधिकार मर्न दिन नहुने बताए । उनले अपराध गरेसकेपछि सजायको लागि कारागार चलान भएका कैदीलाई मानवीय व्यवहार गर्नुपर्ने बताए । उनले कैदीहरू बस्ने भौतिक संरचना दयनीय भएकाले प्रशासनले त्यसतर्फ चासो दिनुपर्ने जानकारी दिए । ‘अहिले कारागारहरूको अवस्था नाजुक छ, कैदीबन्दीहरूलाई निस्सासिने गरेर राखिएको छ,’ उनले भने, ‘कानुनले कैदीको मावन अधिकारलाई रक्षा गरेको छ, यसलाई जोगाउने हामी सबैको कतव्र्य हो ।’  

देशभरि हाल कारागार ७१ वटा कारागार छन् । सर्लाही, मुगु र हुम्लामा तीनवटा कारागार निर्माणाधीन अवस्थामा छन् । हालसम्म सातवटा कारागारमा कोरोना संक्रमण देखिएको छ । देशभरिका अन्य कारागारमा १ सय ११ जना कैदीबन्दीमा कोरोना संक्रमण देखिएको कारागार व्यवस्थापन विभागले जनाएको छ । विभागका सूचना अधिकारी देवर्षि सापकोटाका अनुसार पर्सामा ३१, बाँकेमा आठ, सिरहामा सात, सुनसरीमा नौ, स्याङ्जामा एक र अन्यमा ५७ जना संक्रमित छन् । केन्द्रीय कारागारका ५६ सुरक्षाकर्मीमा पनि संक्रमण देखिएको जनाइएको छन् । कारागारमा संक्रमण देखिएपछि भेटघाटमा पूर्ण बन्देज लगाइएको सूचना अधिकारी सापकोटाले बताए ।  

‘भौतिक दूरी कायम राख्ने, कन्ट्याक्ट टे«सिङ गर्ने र आइसोलेसन निर्माण गर्ने कार्यमा हामीले जोड दिएका छौं, कारागारभित्र जहाँजहाँ खाली ठाउँ छ, त्यहाँ टेन्ट राखेर भए पनि आइसोलेसन निर्माण कार्य भइरहेको छ,’ उनले भने । कोरोनाको जोखिम बढेपछि कैदीबन्दी थप्दा पिसिआर गरेर मात्रै ल्याउने गरिएको छ । कारागारमा ल्याएपछि पनि सात दिन अलग्गै राखिन्छ । अस्पताल लैजाँदा उच्च सावधानी अपनाइएको छ ।

प्रकाशित: १७ भाद्र २०७७ ०२:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App