२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

क्षमताभन्दा दोब्बर कैदीबन्दी, संक्रमण भयावह

केन्द्रीय कारागार सुन्धारामा कार्यरत ५६ जना सुरक्षाकर्मीसहित एक सय नौजनामा कोरोना संक्रमण पुष्टि भएको छ। क्षमताभन्दा दोब्बर कैदीबन्दी रहेको केन्द्रीय कारागारमा बिरामी कैदीबन्दीलाई अस्पताल ओहोरदोहोर गराउँदा सुरक्षाकर्मी र कैदीबन्दीमा संक्रमण फैलिएको हो।

स्थान अभावका कारण एक हजार चार सय कैदी राख्न सकिने क्षमता रहेको केन्द्रीय कारागारमा हाल तीन हजार दुई सय ७१ जना कैदी छन्। सानो ठाउँमा धेरैजना कैदी राखिएसँगै भौतिक दूरी कायम गर्न सकिएको छैन। पर्याप्त क्यान्टिन र खुला ठाउँ नभएको सो कारागारमा रहेका सबै कैदीबन्दीको पिसिआर गर्नुपर्ने माग कारागार प्रशासनले गरेको छ।

हाल संक्रमित भएकामध्ये कसैलाई पनि लक्षण भने देखिएको छैन। त्यसकारण भित्रभित्रै फैलिएको हुनसक्ने डर देखिएको कारागारका जेलर लक्ष्मीप्रसाद बास्कोटाले पिसिआर गरिएका अधिकतरमा कोरोना पोजेटिभ देखिएको बताए। उनले सानो ठाउँमा धेरै कैदीबन्दीलाई खाँदेर राखिएकाले भित्र फैलिएको हुनसक्ने बताए। ‘हामीले सक्दो व्यवस्थापन गरेका छौं,’ उनले भने, ‘तर भित्र कतिलाई कोरोना छ भन्ने स्पष्ट छैन, केही नमुना परीक्षण गर्दा अधिकांशमा देखिएको छ, त्यसकारण पनि डर फैलिएको हो।’ उनका अनुसार कारागारमा संक्रमण फैलने  डरमा अहिले कैदीबन्दी भेटघाटमा रोक लगाइएको छ।

संक्रमित कैदीलाई कीर्तिपुरस्थित आयुर्वेदिक अनुसन्धान तथा तालिम केन्द्रको आइसोलेसन कक्षमा राखिएको छ। संक्रमित सुरक्षाकर्मीलाई दहचोकस्थित आइसोलेसन पठाइएको छ। संक्रमितमध्ये क्लोज कन्ट्याक्टमा रहेकाहरूको पालैपालो पिसिआर गरिने कारागार प्रशासनले जनाएको छ। हाल संक्रमित देखिएकासँग कन्ट्याक्ट टे«सिङमा परेकाहरूलाई कारागारभित्र अलग्गै राखिएको छ। तर, कारागारमा पुग्दो खाली ठाउँ नभएकाले व्यवस्थापन गर्न कठिन परेको जेलर बास्कोटाले बताए। उनले कारागारभित्र रहेका कैदीमा विभिन्न रोग लागेकाले संक्रमणको बेला पनि अस्पताल लैजाने गरिएको छ। उनीहरूलाई वीर, टिचिङसहित गंगालाल र पाटन अस्पताल लैजाने गरिन्छ। एकजना कैदीबन्दी बिरामी भएमा उसलाई अस्पताल लैजाँदा चार जना सुरक्षाकर्मी सँगै पठाइन्छ। कैदीबन्दीसँगै अस्पताल पुगेका अधिकतर प्रहरीमा संक्रमण देखिएको छ।

संक्रमित कैदीलाई कीर्तिपुरस्थित आयुर्वेदिक अनुसन्धान तथा तालिम केन्द्रको आइसोलेसन कक्षमा राखिएको छ। संक्रमित सुरक्षाकर्मीलाई दहचोकस्थित आइसोलेसन पठाइएको छ।

त्यस्तै, डिल्लीबजार र नक्खु कारागारमा पनि कोरोना संक्रमण फैलने डर देखिएको भन्दै कारागार प्रशासनले बाहिरी भेटघाट र ओहोरदोहोरमा बन्देज लगाएको छ। कारागार व्यवस्थापन विभागले सबै कारागारमा उच्च सावधानी अपनाउन निर्देशन दिएको छ। कारागारभित्रै संक्रमण बढ्दै गएमा नियन्त्रण गर्न कठिन हुने भन्दै विभागले देशभरका कारागार प्रशासनलाई उच्च सतर्कता अपनाउन भन्दै परिपत्र गरेको छ। विभागका प्रमुख द्रोण पोख्रेलले संक्रमण फैलन नदिन सबैतिर उच्च सावधानी अपनाउनुपर्ने बताए। उनले भने, ‘कारागार संवेदनशील क्षेत्र हो, सानो ठाउँमा धेरै व्यक्ति छन्, त्यसकारण त्यहाँ अति नै स्वास्थ्य सुरक्षा अपनाउन आवश्यक छ।’

कारागारमा संक्रमण भयावह हुन थालेपछि आइतबार बसेको राज्य व्यवस्था समितिको भर्चुअल बैठकमा गृहमन्त्री रामबहादुर थापाले चिन्ता व्यक्त गरेका थिए। उनले सबै कारागारमा उच्च सावधानी अपनाउन निर्देशन दिएका थिए। यसबाहेक बाँके जिल्ला कारागारमा ८ जना, सिरहा कारागारमा ७ र सुनसरी कारागारमा ८ जना संक्रमित भएका छन्। कारागारमा संक्रमण बढ्नसक्ने भन्दै सर्वोच्च अदालतले थुनुवाको मुद्दामा सुनुवाइ नगर्न आदेश दिएको छ।

प्रकाशित: १६ भाद्र २०७७ ०१:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App