६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

उद्योगको प्रदूषण नियन्त्रण गर्न अटेर गरेकोमा आन्दोलन

प्रहरी र प्रदर्शनकारीबीच झडप

इटहरी वडा नं. १३ मा सञ्चालित एक उद्योगले आठ महिनादेखि विसर्जन गरेको प्रदूषणले पुरै गाउँका बासीन्दालाई असर गरेको जनाउँदै शुक्रबार उद्योगमा धर्ना दिने क्रममा प्रहरीसँग झडप भएको छ। फलामे तार, कार्टुन, पङ्खा र टिस्यु पेपर उत्पादन गर्दै आएको अरिहन्त कार्बोरेसन उद्योगबाट विसर्जन हुने हानिकारक धुवा र फोहर पानीले उद्योग आसपासका बासीन्दालाई असर गरेको जनाउँदै धर्ना दिने क्रममा उद्योग तोडफोड गर्न खोज्दा झडप भएको हो।  

आन्दोलनमा उत्रिएको समूहले उद्योगको मुल गेट र सुरक्षा गार्ड बस्ने भवनलाई लक्षित गरि ढुंगामुढा प्रहार गरेपछि झडप भएको हो। झडपका क्रममा प्रहरीले पाँच राउन्ड अश्रृग्यास प्रहार गरेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले जनाए। झडपका क्रममा केहीबेर स्थिती तनाबग्रस्त बन्यो। झडपपछि भएको सहमति अनुसार स्थानीयबासी र उद्योगबीच वार्तामार्फत समस्या टुंगो लगाउने निर्णय भएको छ।  

उद्योगको लापवाहीका कारण स्थानीय व्यत्तिको शरीरमा डावर, फोका र घाउँ देखिएको पीडितले बताएका छन्। उद्योगको समस्यालाई लिएर पहल गर्दा पनि अटेर गर्दै आएको इटहरी १३ का वडा अध्यक्ष शिवनारायण चौधरीले बताए।  

सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रमा पर्ने इटहरी, खनार, सोनापुर, दुहवी क्षेत्रमा कारखानाबाट निस्किएका, अनेक प्रकारका रसायन मिसिएका विषाक्त पानीको दुस्प्रभाव दिनदिनै बढ्दो छ। सुनसरी–मोरङ औद्योगिक करिडोरमा रहेका प्रायः धेरै उद्योगको फोहर तथा विषाक्त पानी विनाप्रशोधन स्थानीय बूढीखोलामा निर्वाध रूपमा मिसाइन्छ। कतिपयले उद्योग आसपास नै गर्ने गरेका छन्।  

कारखानाले निस्कासन गर्ने फोहर तथा विषाक्त पानीका कारण अनेक किसिमका स्वास्थ्य समस्या देखिने, गाईबस्तुहरू मर्ने, मानिसको मृत्युसमेत हुने भएपछि कारखाना व्यवस्थापनविरुद्ध बेलाबेलामा स्थानीय विरोधमा समेत उत्रिने गरेका छन्।

फोहरकै विषयलाई लिएर यस क्षेत्रमा सञ्चालित उद्योग सञ्चालक र स्थानीयबीच बेला बेलामा द्वन्द्व चर्केने गर्छन्। मुलुकको पहिलो आर्थिक राजधानी मानिने सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रमा साना–ठूला गरी दुई हजार पाँच सयभन्दा बढी कलकारखाना सञ्चालित छन्। तीमध्ये इटहरीका एक सय ५८ सहित सुनसरीमा एक हजार ६ सय साना, मझौला तथा ठूला उद्योग रहेका छन्। २०३२ सालयता औद्योगिक करिडोरका रूपमा विकसित यो क्षेत्रका प्रायः उद्योगहरू वातावरण प्रदूषणको मुख्य कारक बनेका छन्।  

सुनसरी–मोरङ करिडोर क्षेत्रमा १० वर्षयता औद्योगिक प्रदूषण झन् बढेको छ। तर प्रदूषण कम गर्नेतिर उद्योगहरूको रुचि देखिएको छैन।

प्रकाशित: ३० श्रावण २०७७ १३:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App