१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पहिरोको त्रासले छिमेकमा बास

उत्तरगया गाउँपालिका–२ डाँडागाउँस्थित नयाँ बस्तीका गोकर्ण अधिकारीको परिवार त्यस क्षेत्रमा बस्न थालेको १३ वर्ष भयो । सुरुमा बस्न थाल्दा त्यहाँ पहिरोको जोखिम थिएन । पाँच वर्षअघि गएको भूकम्पले पनि खासै प्रभाव पारेको थिएन । तर केही वर्षअघि निर्माण भएको सडकले हिजोआज उनको परिवारलाई रात परेपछि घर छाड्न बाध्य पारेको छ ।

उनको परिवार मात्र होइन, माथिबाट आउन लागेको ठूलो ढुंगोसहितको पहिरोले उच्च जोखिममा रहेका सात परिवार राति छिमेकीको घरमा बास बस्न पुग्छन् । उनका अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले खनेको सडकमा संरक्षणको काम नहुँदा पहिरोको जोखिम बढेको हो । सडक खनिए पनि पहिरो रोकथामको प्रयास नगरिँदा समस्या आएको उनको भनाइ छ । पहिरोले माथिको बस्ती तान्ने क्रम सुरु भएको र तल्लो क्षेत्रमा रहेको बस्ती लैजाने खतरा बढ्दै गएको उनको भनाइ छ । उक्त क्षेत्रको जमिन डेढ÷दुई मिटर भाँसिएको छ । त्यो ढुंगाभन्दा माथि अर्को गाउँ छ । त्यो गाउँभन्दा मुनिको जमिन पनि चिरिएको छ । पहिरोभन्दा मुनि १५ घर छ ।  

‘दिनभरि हामी घरमै बस्छौं, काम गर्छौं,’ उनले भने, ‘रात परेपछि सुरक्षित स्थानमा रहेको घरतिर जान्छौं ।’ पहिरो आइहाल्यो भने बच्न सक्छौं कि भनेर दायाँबायाँ जाने गरेको स्थानीय रामशरण अधिकारीले बताए । ‘राति १० बजेसम्म घरमै बस्छौं,’ उनले भने, ‘अलि पहिराकोे जोखिममा नरहेका छरछिमेकीकहाँ बास बस्ने गरेका छौं ।’ माथिल्लो बस्ती र तल्लो बस्ती दुवै जोखिममा छन् । पहिरोले १७ परिवार उच्च जोखिममा परेका छन् ।  

साउन ८ गतेबाट त्यस क्षेत्रमा पहिरो जाने क्रम सुरु भएको थियो । यसपटक वर्षा धेरै भएका कारण जिल्लाका धेरै क्षेत्रमा पहिरो गएको छ । पहिरोका कारण धेरै बस्ती स्थानान्तरण गर्नुपर्ने अवस्था छ । गाउँपालिकाकी उपाध्यक्ष चमेली गुरूङले पानी कटाउने काम भएको र अन्य काम गर्न नसकिएको बताइन् । ‘हामीले सचेत रहन आग्रह गरेका छौं,’ उनले भनिन्, ‘गाउँपालिका र वडाको बजेटले गर्न सक्ने अवस्था छैन ।’ जोखिम क्षेत्र निकै ठूलो भएका कारण समस्या सिर्जना भएको उनको भनाइ छ ।  

पहिरोले हाकुस्थित फूलबारी, गत्लाङलगायत क्षेत्रका बस्तीमा असर पु-याएको छ । स्याँफ्रु–रसुवागढी सडकखण्डमा दैनिकजसो जाने पहिरोले सवारीसाधन सञ्चालन गर्न तथा मानिसलाई आवतजावत गर्नसमेत समस्या हुँदै आएको छ ।

प्रकाशित: २१ श्रावण २०७७ ०२:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App