२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

‘समुदायमा खतराको घण्टी’

प्रदेश ५

बुटवल उपमहानगरपालिका–१३ बेलवासका २७ वर्षीय युवक साउन २ गते साउदी अरेवियाबाट  स्वदेश आए। १४ दिन क्वारेन्टिनमा बसेर पिसिआर परीक्षणपछि घर जाने योजनासहित आएका उनलाई उपमहानगरपालिकाले क्वारेन्टिनमा राख्न मानेन। उनको पिसिआर,  आरडिटी परीक्षण पनि गरिएन। त्यसपछि उनी सरासर घर गए। होम  क्वारेन्टिनमा बसेको केही दिनपछि उनी प्रादेशिक अस्पतालमा परीक्षणका लागि स्वाब दिन गए। त्यहाँ ५ हजार ५ सय रुपैयाँ तिरेर परीक्षण गराए। रिपोर्ट कोरोना पोजेटिभ आयो। वडाध्यक्षको समन्वयमा उनलाई एन्फा एकेडेमीको आइसोलेसनमा लगियो। उपमहानगरपालिकाले कन्ट्याक्ट ट्रेसिङमा उनको परिवारका तीन सदस्यको कोरोना परीक्षणका लागि स्वाब लियो। एउटै घरमा बसेकी आमाको भने स्वाब लिइएन।

त्यस्तै भारतबाट साउन ७ गते बुटवल आएका तीन भारतीयमा कोरोना देखियो। बुटवलको एक पसलमा काम गर्ने दम्पती १३ वर्षका छोरासहित बेलहिया नाकाबाट आएका थिए। उनीहरुलाई न नाकामा सोधपुछ गरियो न बुटवल उपमहानगरपालिकाले क्वारेन्टिनमा राख्यो। उपमहानगरपालिकाले क्वारेन्टिनमा नमानेपछि काम लगाउने साहुले उनीहरुलाई एउटा होटलमा राखे। लुम्बिनी प्रादेशिक अस्पतालको ल्याबमा परीक्षण गराएका तीनैजनाको रिपोर्ट ९ गते कोरोना पोजेटिभ आयो। उपमहानगरपालिका र प्रदेश सरकारले  रिपोर्ट नै गुपचुप राखे। व्यापारीबाट यो कुरा बाहिरिएपछि ११ गते बल्ल संक्रमित पुष्टि गर्दै उनीहरूलाई होटलबाट आइसोलेसन अस्पताल पठाइयो। लक्षणसहितका ती संक्रमितलाई कोरोना अस्पतालमा राखिएको लुम्बिनी प्रादेशिक अस्पतालका डा. सुदर्शन थापाले बताए।  

प्रदेश सरकारलले पछिल्लो समय पिसिआर परीक्षण न्यून गरेर कोरोना नियन्त्रणमा सफलता हात पारेको देखाउन खोजेको छ। प्रदेश सरकारले क्वारेन्टिनमा बसेका र लक्षणसहितका बिरामीको मात्रै  पिसिआर परीक्षण गर्न  निर्देशन दिएको जनस्वास्थ्यका एक अधिकारीले बताए।  

‘तेस्रो मुलुक वा भारतबाट आएका हुन् वा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी वा समुदायका मानिस हुन्, लक्षण देखिएको छैन भने परीक्षण नगर्नु भन्ने आदेश छ,’ रुपन्देहीकै एक  पालिकाका स्वास्थ्य संयोजकले भने। यो प्रदेशमा भारत तथा तेस्रो मुलुकबाटै आएकाहरुको आरडिटी परीक्षणसमेत गरिएको छैन। जोखिमयुक्त क्षेत्रबाट आएकाले पैसा तिरेर पनि पिसिआर जाँच गराउन पाएका छैनन्।  

तिलोत्तमा नगरपालिका–९ मा डेरामा बस्ने गुनबहादुर बहराइनबाट काठमाडौं हुँदै साउन ४ गते बुटवल आए। उनलाई तिलोत्तमा नगरपालिकाले क्वारेन्टिनमा राख्न मानेन। आरडिटी वा पिसिआर परीक्षण पनि गरिदिएन। ‘मेयर वासुदेव घिमिरेले नै क्वारेन्टिनहरु हटाउँदैछौं। नयाँ मान्छे लिन्नौं। होम क्वारेन्टिनमा बस्नुस् भनेपछि उहाँलाई कोठामा ल्यायौं,’ पत्नी विष्णुले भनिन्। घरधनीले  भनसुन गरिदिएपछि  बल्ल गौतमबुद्ध मुटु अस्पतालमा ११ सय रुपैयाँ तिरेर आरडिटी परीक्षण गराएको उनले बताइन्।  

लकडाउन खुलेपछि प्रदेश ५ मा भारत र तेस्रो मुलुकबाट आउने बढी छन्। बेलहिया नाकाबाट मात्रै दैनिक २ सयको हाराहारीमा नेपाली भित्रिएको तथ्यांक छ। उनीहरूलाई बिनापरीक्षण घर पठाइएको छ। बुटवल उपमहानगरपालिका स्वास्थ्य संयोजक कुन्दनकुमार सिंहले सामुदायिक क्वारेन्टिनमा बस्नेका लागि मात्रै भिटिएम उपलब्ध गराइएकाले अन्यको परीक्षण गर्न नसकिएको बताए।

‘समुदायमा पसेको संक्रमण फैलिन बेर लाग्दैन’

भारत र तेस्रो मुलुकबाट आउनेलाई बिनापरीक्षण घर पठाउँदा संक्रमण समुदायमा फैलिएको भन्दै जनस्वास्थ्यविद्ले चिन्ता व्यक्त गरेका छन्। डब्लुएचओकै एक प्रतिनिधिले प्रदेश ५ का बाँके, कपिलबस्तु, रुपन्देहीमा संक्रमण समुदायमा पसेको बताए। ‘दाङ र बर्दियामा पनि परीक्षणको दायरा बढाउनु अति जरुरी छ,’ ती अधिकारीले भने। बाँके र कपिलबस्तुमा ट्राभल हिष्ट्री नभएकामा पनि संक्रमण देखिएको छ।  

प्रदेशमा पछिल्लो समय भारत र तेस्रो मुलुकबाट आएकासँगै स्वास्थ्यकर्मी, पत्रकार, सुरक्षाकर्मी, शिक्षक, एनजिओकर्मी र ट्राभल हिष्ट्री  नभएकामा पनि संक्रमण देखिएको छ।  

भारतमा कोरोनाका बिरामी बढेकाले त्यहाँबाट आउनेलाई सीधै घर पठाइनु घातक हुने प्रदेश प्रयोगशाला भैरहवाका प्रमुख डा. राजेन्द्र गिरीले बताए। ‘भारत वा तेस्रो मुलुकबाट आउनेलाई क्वारेन्टिनमा राखौं। पिसिआर अनिर्वाय गरौं। नत्र भने समुदायमा पसेको संक्रमण फैलिन बेर लाग्दैन,’ डा गिरीले भने।  

प्रदेश ५ मा अहिले ३ सय १५ संक्रमित उपचारत छन्। दुईजना आइसियुमा छन्। केही दिनयता बाँके, कपिलबस्तु, रुपन्देही, दाङमा संक्रमित थपिएका छन्।  

समुदायमा परीक्षण  

प्रदेश सरकारले अहिलेसम्म समुदायमा संक्रमण फैलिनसकेको दाबी गर्दै यकिन गर्न कम्युनिटीमा परीक्षण सुरु गरिएको जनाएको छ। पहिलो चरणमा समुदायका मानिस, व्यापारी र बैकिङ क्षेत्रमा कार्यरत कर्मचारीको स्वाब संकलन गर्ने योजना प्रदेश सरकारले बनाएको छ। त्यस अनुरुप बुधबार रुपन्देहीको सैनामैनामा र बिहीबार लुम्बिनी नगरपालिकामा ५०/५० जनाकोस्वाब संकलन  गरिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख समेत रहेका  डा. गिरीले बताए।  

भित्रिँदै भारतीय  

रुपन्देहीको बेलहिया नाका तथा सहायक नाकाबाट अहिले धमाधाम भातीय कामदार भित्रिन थालेका छन्। मल तथा किराना सामान किन्न नेपाली भारत जाने र भारतीय मदिरा सेवन गर्न नेपाल आउने क्रम बढेको छ। बेलहियामा त भैरहवा भन्सारको एजेन्टको नक्कली र्काड बनाएरै भारतीय घुमफिर, मदिरापान तथा तस्करीका सामान छुटाउन आउने गरेको स्थानीयको गुनासो छ। जनगुनासो बढेपछि प्रहरीले बुधबार भन्सार एजेन्टका ३५ वटा नक्कली कार्ड जफत गरेको छ। रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले सिमानाबाट भारतीय नागरिकलाई पस्न नदिएको दाबी गरे। नक्कली कार्ड प्रयोग गर्नेलाई पनि निगरानीमा राखेर कार्ड जफत गरिएको उनले बताए।

प्रकाशित: १७ श्रावण २०७७ ०१:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App