८ वैशाख २०८१ शनिबार
समाज

धरानको पालिका बजारमा आगलागी, क्षतीपूर्ती माग गर्दै निवेदन

धरान ३ स्थित पालिका तरकारी बजारमा आगलागी हुँदा ११ पसल जलेर नष्ट भएको छ । उज्यालो नहुँदै भएको आगलागीमा पालिका बजारमा रहेको ८ वटा कस्मेटिक पसल जलेको छ भने फलफुल, तरकारी र एउटा होटल पनि जलेको छ । विद्युत सर्ट भएर बिहान करिब साढे ४ बजे आगलागी भएको थियो । आगोले कमाईखाने प्रमुख स्रोत नै जलाएको आगलागी पीडितहरूले बताएका छन् ।

‘२० बर्षदेखि फलफुल र कोल्डड्रिंस पसल चलाएर बसेको थिएँ, हाम्रो जीवीका नै यही पसलबाट चलेको थियो,’जलेको पसलमा भेटिएकी ज्ञानकुमारी श्रेष्ठले भनिन्,‘सबै जल्यो, अब के गर्ने ? जलेको यो ठाउँलाई बनाइदिए हुन्थ्यो ।’

अर्का आगलागी पीडित प्रेमबहादुर कार्कीका अनुसार लकडाउन अन्त्य भएपछि विस्तारै बजारमा चहल पहल बढेकोले व्यवसायीहरूले सामानहरू थपेका थिए । आगलागीमा ती सबै जलेर खरानी भएपछि विचल्ली भएको उनले बताए । ‘बजार चल्न थाल्यो भनेर थप लगानी गरेर सामान ल्याएका थियौं, त्यो पनि सबै जल्यो,’उनले भने,‘हामीले नगरपालिकामा कर बुझाएका छौं, क्षतिपूर्ति दिनुपर्छ । बजारलाई पुर्नस्थापना गर्नुपर्छ ।’

आगलागी पीडितहरुले भानु सब्जी तथा फलफुल व्यवसायी समितिलाई क्षतिपूर्तिको लागि पहल गरिदिन निवेदन दिएका छन् । यो पालिका बजारको व्यवस्थापन भानु सब्जी समितिले गर्दै आएको छ । समितिका अध्यक्ष राजेन्द्र दर्नालका अनुसार पीडित व्यवसायीहरूबाट क्षतिपूतिको निवेदन परेको र ६७ लाख ५० हजार क्षतिको विवरण आएको छ । 

‘उहाँहरूबाट निवेदन परेको छ, जसअनुसार ६७ लाख ५० हजार क्षति भएको देखिन्छ,’उनले भने,‘हामी सर्जिमिन मुचुल्का गराउने तयारी गर्दैछौं, त्यसपछि वास्तविक क्षतिको विवरण आउछ ।’

प्रकाशित: १२ श्रावण २०७७ १०:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App