८ वैशाख २०८१ शनिबार
समाज

प्रहरीमा संक्रमण बढ्दै

काममा खटिने प्रहरीको स्वास्थ्यसुरक्षामा कम चासो दिँदा उनीहरूमा कोरोना संक्रमण बढेको छ। प्रहरी प्रधान कार्यालय र मातहतका निकायले पर्याप्त मात्रामा सुरक्षा सामग्री उपलब्ध नगराएका कारण कार्यक्षेत्रमा खटिने प्रहरी संक्रमित हुने क्रम बढेको हो।  

स्वास्थ्य मन्त्रालयका अनुसार आइतबारमात्रै २३ जना संक्रमित प्रहरी भेटिएका छन्। प्रहरी प्रधान कार्यालयमा कार्यरत ४ जना र प्रदेश १ प्रहरी कार्यालयका १९ जना संक्रमित भएका हुन्। योसँगै संक्रमित हुने प्रहरीको संख्या १ सय १९ पुगेको छ। संक्रमितमध्ये ९५ जना निको भइसकेको र १९ जना आइसोलेसनमा रहेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी निरजबहादुर शाहीले जानकारी दिए। उनका अुनसार लकडाउन खुलेपछि सुरक्षामा खटिने प्रहरीमा कोरोना संक्रमण देखिएको छ। उनले मास्क र पन्जा सबैका लागि व्यवस्था गरिए पनि पिपिई भने अति जोखिममा बसेर काम गर्ने प्रहरी कर्मचारीका लागि मात्रै दिइएको बताए। उनले भने, ‘प्रहरीले सामाजिक दूरी कामय राख्छु भनेर पनि सक्ने अवस्था छैन, सकेसम्म गर्ने हो, कतिपय ठाउँमा अपराध नियन्त्रणका लागि पनि भीडभाडमा पुग्नुपर्ने अवस्था छ, त्यसकारण संक्रमित हुने दर बढेको छ।’ उनले सकेसम्म भीडभाड नगरी प्रहरी र आफूलाई पनि संक्रमणबाट जोगाउन सर्वसाधारणलाई आग्रह गरे। काठमाडौं उपत्यकामा संक्रमित प्रहरीलाई सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ।  

प्रहरी प्रधान कार्यालयले सुरक्षित रहेर काम गर्न निर्देशन दिइरहेका बेला काममा खटिने प्रहरी कर्मचारीले भने सबैतिर भौतिक दूरी कायम राखेर काम गर्न नसकिने बताएका छन्। उनीहरुले निम्छरो सुरक्षा व्यवस्था अपनाएरै भए पनि जोखिमपूर्ण अवस्थामा काम गर्नुपरेको गुनासो गरे। प्रहरी कार्यालयहरुले कोरोना महामारीका बेला कार्यक्षेत्रमा खटिने कर्मचारीको स्वास्थ्य सुरक्षामा त्यति चासो नदिएको महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत एक जवानले बताए। उनले आफूहरुलाई कार्यक्षेत्रमा खटिइरहनुपर्ने भए पनि कोरोना सुरक्षाबारे कार्यालयले त्यति चासो नदिएको गुनासो गरे। उनले भने, ‘सुकिलो, मुकिलो र सुरक्षित भएर काम गर्न आदेश आइरहन्छ तर हामीले लगाउने लुगा र सुरक्षामा ध्यान दिइँदैन, सुरक्षित हुने सामग्री कार्यालयले नदिएपछि कसरी सुरक्षित हुने ?’ ती प्रहरीले माथिल्लो तहका अधिकृतले कडाइका साथ काममा खटाए पनि कोरोनाबाट जोगिने सामग्री उपलब्ध नगराएको गुनासो गरे। ‘मास्क नलगाएको देखे गाली गर्छन् तर त्यसको व्यवस्था गर्दैनन्,’ ती प्रहरीले भने, ‘दिनभरि घुमुवा ड्युटीमा खटिँदा जोखिम त हुन्छ नि।’  

आइतबार मात्रै २३ प्रहरी संक्रमित भएका छन्। प्रहरी प्रधान कार्यालयमा कार्यरत ४ जना र प्रदेश १ प्रहरी कार्यालयका १९ जना संक्रमित भएका हुन्। योसँगै संक्रमित हुने प्रहरीको संख्या १ सय १९ पुगेको छ। संक्रमितमध्ये ९५ जना निको भइसकेको र १९ जना आइसोलेसनमा छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म संक्रमितमध्ये दौडधूप र सर्वसाधारणसँग जोडिएर काम गर्ने प्रहरी बढी छन्। आइतबार संक्रमित भएका प्रहरीको सम्पर्कमा रहेकाको पनि पिसिआर गराउने तयारी भएको मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले जानकारी दिए। अग्रपंक्तिमा रहेर काम गर्नेमध्ये सबैभन्दा बढी प्रहरी नै संक्रमित भएको उनले बताए। संक्रमितमध्ये सबैभन्दा बढी जवान छन्। ‘अहिले जनजीवन पुरानै तरिकाले चल्न थालेको छ, प्रहरी पनि स्थानीयसँगै रहेर काम गर्नुपर्ने भएकाले संक्रमण दर बढेको हो,’ उनले भने। सहप्रवक्ता अधिकारीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै प्रदेश २ मा कार्यरत प्रहरी कर्मचारी संक्रमित भएका छन्। प्रदेश २ का जिल्लामा संक्रमित सर्वसाधारणको संख्या बढी छ। ती जिल्ला भारतीय सीमासँग पनि जोडिएकाले जोखिम बढी छ। आइतबार झापामा कार्यरत १८ जना सशस्त्र प्रहरी कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको सहप्रवक्ता अधिकारीले बताए।

जोगिएर काम गर्न परिपत्र
प्रहरी कर्मचारीमा कोरोना संक्रमणको जोखिम बढेपछि प्रधान कार्यालयले मातहतका निकायमा कार्यरत सबैलाई जोगिएर काम गर्न निर्देशन दिएको छ। प्रहरीले पुरानै तरिकाले काम गर्दा संक्रमण बढेको भन्दै प्रधान कार्यालयले ७७ वटै जिल्लाका प्रहरी कार्यालयलाई परिपत्र गरेको छ। संक्रमणबाट जोगिन कसरी सावधानी अपनाउने भन्ने उपायसहित परिपत्र गरिएको प्रवक्ता डिआइजी शाहीले जानकारी दिए। उनले भने, ‘यो समयमा प्रहरीले फरक तरिकाले काम गर्नुपर्ने देखिएको छ, पक्राउ गर्दा के गर्ने, कस्तो व्यवहार गर्ने, भीडभाडमा के गर्ने, सुरक्षा मापदण्ड कस्तो अपनाउने भन्नेजस्ता सुझावसहित परिपत्र गरेका छौं।’ उनले ड्युटीमा खटिने प्रहरीको स्वास्थ्य सुरक्षामा ध्यान दिन हरेक जिल्ला प्रहरी कार्यालयलाई मौखिक निर्देशन पनि दिइएको बताए। उनका अनुसार जोखिम क्षेत्रमा कार्यरत प्रहरीका लागि मास्क, पन्जा र भौतिक दूरी अनिवार्य गरिएको छ। प्रहरीलाई आवश्यक पर्ने सुरक्षा सामग्री दिन सम्बन्धित कार्यालयलाई आग्रह गरिएको छ। जोखिम क्षेत्रमा कार्यरत प्रहरीको पिसिआर परीक्षण र संक्रमितको हेरचाह गर्ने जिम्मा पनि सम्बन्धित प्रहरी कार्यालयकै रहेको डिआइजी शाहीले बताए।  

सडकबाट सचेतना फैलाउँदै ट्राफिक प्रहरी
लकडाउन खुलेपछि ट्राफिक प्रहरीले पनि नियमित काम सुरु गरेको छ। सडकमा सवारीसाधनको चाप बढेसँगै पुरानै अवस्थामा ट्राफिक व्यवस्थापन गर्नुपर्ने भएकाले उच्च सतर्कता अपनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले सबै ट्राफिक प्रहरीलाई निर्देशन दिएको छ। सवारी नियम उल्लंघन गर्नेलाई कारबाही गर्दा वा अन्य अवस्थामा व्यक्तिको नजिक हुँदा ख्याल गर्न महाशाखाले निर्देशन दिएको छ। महाशाखाका एसएसपी भीमप्रसाद ढकालले ट्राफिक प्रहरी बढी जोखिम रहेकाले सकेसम्म भौतिक दूरी कायम राखेर काम गर्न निर्देशन दिइएको बताए। उनका अनुसार अहिले मापसे जाँच गर्नुपरे शंकास्पद चालकलाई अस्पताल पठाउने गरिएको छ। उनले भने, ‘लकडाउन खुल्यो, जोखिम झन् बढ्दो छ तर ट्राफिक नियम मिच्नेले छुटकारा पाउँदैनन्, लेन, मापसे, ओभरटेक, तीव्र गति, जथाभावी पार्किङलगायत नियम पुरानै अवस्थामा पालना गराएका छौं, केही कारबाहीमा पनि परेका छन्, मापसेचाहिँ अस्पतालमा लगेर गराउँछौं।’ उनका अनुसार हालसम्म ट्राफिक प्रहरी संक्रमित भएका छैनन्। आफू र अरुलाई सचेत गराउन ट्राफिक प्रहरीले ठाउँ ठाउँमा प्लेकार्ड देखाउने र सचेत गराउने गरेको छ।

प्रधान कार्यालय स्रोतका अनुसार आइतबार संक्रमित हुने चारजनामा सवारी व्यवस्थापन शाखामा कार्यरत एक हबल्दार र सञ्चार निर्देशनालयमा कार्यरत तीन जवान छन्। एक प्रहरी अधिकृतका अनुसार थप प्रहरीमा पनि संक्रमणको आशंका गरिएको छ। केही दिनअघि उनीहरूलाई ज्वरो आएपछि पिसिआर परीक्षण गरिएको थियो। उनीहरूको सम्पर्कमा आएका १७ जना प्रहरीलाई आइसोलेसनमा राखी पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ। विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालयका १९ जना संक्रमित भएसँगै कार्यालयमा सिल गरिएको जानकारी प्रहरी प्रमुख डिआइजी ईश्वरबाबु कार्कीले दिए।  

प्रकाशित: १२ श्रावण २०७७ ०१:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App