१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बन्दाबन्दी खुकुलो : बाँकेका किसान खुशी

बन्दाबन्दी खुकुलो भएसँगै नेपालगञ्जको फलफूल तथा तरकारीको थोक बजार पुनः सञ्चालनमा आएको छ । लामो समयको बन्दाबन्दीले बाँकेमा उत्पादन भएको फलफूल तथा तरकारीले सहज तथा थोक बजार पाउन नसक्दा गाउँमा उत्पादन भएको फलफूल तथा तरकारी खेतबारीमै कुहिएपछि किसान मर्कामा परेका थिए ।

स्थानीय प्रशासनले बाँकेमा थोक बजार सञ्चालनको अनुमति दिएसँगै बजार र कृषकको खेतसम्मको दूरी कम गर्न ढुवानी यातायातलाई पनि खुकुलो पारेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए । बन्दाबन्दीका कारण उत्पादन भएको तरकारीले लामो समय बजार नपाउँदा चिन्ताग्रस्त कृषक थोक बजार सञ्चालनमा आएपछि खुशी भएका छन् ।

बाँके कोहलपुरका किसान लक्ष्यबहादुर खड्का भन्छन्, 'लगानी नै डुब्ने र परिवारकै उठिबास हुने चिन्ताबाट बल्ल मुक्ति मिलेको छ ।' यहाँका फलफूल तथा तरकारी व्यवसायी कृषकले अहिले आफ्नो उत्पादन थोक बजारसम्म सहजै पुर्‍याउन सक्ने व्यवस्थाका लागि स्थानीय प्रशासनले संयन्त्र नै निर्माण गरी काम गरिरहेको छ ।

यतिबेला बाँकेमा एक हजार ७५० हेक्टरमा तरकारी खेती हुन्छ भने सरदर २१ हजार मेट्रिक टन उत्पादन हुने गरेको छ । बाँकेमा लौका, करेला, भिन्डी, बोडी, गोलभेंडा, काँक्रा, सागलगायतको तरकारी अधिक उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र, बाँकेले जनाएको छ । फलफूलतर्फ यो याममा यहाँ आँप, लिची, अम्बा, तरबुजा सबैभन्दा बढी उत्पादन हुने गर्दछ । बन्दाबन्दी खुकुलो भएसँगै विभिन्न कारणले थोक बजारसम्म तरकारी तथा फलफूल पुर्‍याउन नसकेका किसानलाई कृषि प्राविधिकले समेत सहजीकरण गर्दै आएको केन्द्र प्रमुख सागर ढकालले बताए ।

नेपालगञ्जदेखि टाढा कोहलपुर, बैजानाथ, नरैनापुर र राप्तीसोनारीको तरकारी बजार पठाउन किसानलाई अझै त्यति सहज हुन सकेको छैन । सार्वजनिक यातायातका साधन सञ्चालनमा नआउँदा नेपालगञ्जदेखि टाढाका कृषकलाई यस्तो समस्या भएको छ ।

प्रकाशित: ६ श्रावण २०७७ १२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App