८ वैशाख २०८१ शनिबार
समाज

वर्षौंदेखि नबनेको बाटो लकडाउनमा बन्यो

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) केहिलाई अवसर पनि भएको छ । महामारीको रुपमा फैलिएको कोरोना भाइरस कसैकसैलाई अभिषाप बनेपनि पोखरा–२३ मार्गिस्थित मौरेबगर र धर्मडाँडाबासीलाई भने अवसर बनेर आएको हो । पोखराको नजिक भएरपनि वत्ति मुनिको अँध्यारो भनेझैं भएर बसेको यी दुई गाउँमा वर्षौंदेखि बन्न नसकेको बाटो लकडाउनमै बनेपछि कोरोनालाई अभिषाप मात्रै होइन अवसरका रुपमा पनि परिणत गर्न सकिदो रहेछ भन्ने पुष्टी भएको छ ।

महानगर भएरपनि १ मिटरपनि पिचबाटो नभएको पोखरा महानगरपालिका वडा नम्बर–२३ मार्गिस्थित धर्मडाँडा र मौरेबगरबासीले संयुक्त रुपमा मौरेबगरदेखि हर्पनखोलासम्मको ग्रामिण कृषि सडक निर्माण गरेका हुन् । मौरेबगरदेखि हर्पनखोलासम्म करीब १ किलोमिटर सडक ६ लाख खर्चिएर निर्माण गरिएको समितिका अध्यक्ष नन्दलाल लामिछानेले जानकारी दिए ।

हामीले शत प्रतिशत जन श्रमदानबाट बाटो निर्माण गरेका छौं,‘अध्यक्ष लामिछानेले भने,‘कोरोना भनेर घरमै बस्नु भन्दा सामाजिक दुरी कायम गर्दै मास्क र सेनिटाइजर आवश्यक मात्रामा प्रयोग गरेर सडक निर्माणमा जुट्यौं, जसको फलस्वरुप आज वर्षौंदेखि बन्न नसकेको सडक लकडाउनमै बनाउन सफल भयौं ।’ उनले कोरोना भाइरस र लकडाउनलाई आफूहरुले अवसरको रुपमा परिणत गर्न सफल भएको बताए । लकडाउन अघि नै काम सुरु गरेका थियौं,‘बाटो निर्माण समितिका अध्यक्ष लामिछानेले भने,‘तर लकडाउन भएको केहि दिन बाटो निर्माण अलपत्र पर्‍यो, तर हामीले प्रशासनबाट पास बनाएर निर्माण सामग्री मगायौं र बाटो निर्माणलाई निरन्तरता दियौं ।’ उनले कोरोना कसैलाई अभिसाप भएर आएपनि आफूहरुको लागि अवसर भएर आएको बताए ।

जन श्रमदानबाट निर्माण भएको कृषि सडकको शनिबार गण्डकी प्रदेश सांसद राजिव पहारीले उद्घाटन गरे । उद्घानका अवसरमा स्थानीयले पोखराको कोर सिटीसँग जोडिएको र फेवातालको सबैभन्दा नजिकको क्षेत्र भएरपनि मौरेबगर, धर्मडाँडालगायतका क्षेत्रले विकासको मुख देख्न नपाएको गुनासो गरे । उनीहरुले जन श्रमदानबाट निर्माण भएको सडकलाई अझ मजबुत बनाउनका लागि तटबन्धन गर्नुपर्ने भन्दै त्यसका लागि बजेट पारिदिन जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

सो अवसरमा बोल्दै प्रदेश सांसद राजिव पहारीले लकडाउनलाई अवसरको रुपमा सदूपयोग गर्न सकिन्छ भनेर मौरेबगर र धर्मडाँडाबासीले उदाहरण प्रस्तुत गरेको बताए । उनले यहाँबाट अन्यले पनि सिकेर घरभित्र गुम्सिएर बस्नुभन्दा यसको सिको गरेर देश विकासमा जुट्नुपर्ने बताए । सांसद पहारीले भदौ भित्रमा जन श्रमदानबाट निर्माण भएको बाटो थप बलियो बनाउनका लागि बजेट पार्ने आश्वासन दिए । म अहिले यति नै बजेट त भन्न सक्दिनँ,‘सांसद पहारीले भने,‘तर जन श्रमदान जति भएको छ त्यो भन्दा बढी रकम प्रदेश सरकारको तर्फबाट बजेट पार्ने प्रतिबद्धता जनाउँछु ।’ उनले बाटोको अलावा खानेपानी समस्या समाधान र सामुहिक खेतीका लागि चक्लाबन्दी गर्ने हो भने त्यसका लागि ४०/५० लाख बजेट पारिदिने बताए ।

कार्यक्रममा बोल्दै कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) जीवनकुमार श्रेष्ठले पोखराको कोरसिटी नभई गाउँबस्तीमासमेत सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता जनाए । उनले सुरक्षा, विकास र समृद्धिमा सरकार, जनता र सुरक्षा निकायले हातेमालो गर्दै सहकार्य गर्नुपर्ने बताए । कार्यक्रममा जन श्रमदान गर्ने स्थानियलाई सम्मान पत्र र दोषल्ला ओढाएर सम्मान गरिएको थियो ।

प्रकाशित: २७ असार २०७७ ११:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App