coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

यसरी भयो जनकपुरकी कंचनको बलात्कारपछि हत्या, आरोपीत भारतीय नागरिक पक्राउ

जनकपुरधाम उपमहानगरपालिका—२१ कुर्थाकी ११ वर्षीया कंचन पंजियारलाई बलात्कार गरी हत्या गरेको अभियोगमा प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको मलिहावाद जिल्ला काकोरी ग्राम पञ्चायतका ३२ वर्षीय दिपु सिंह रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाले सोमवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। पक्राउ परेका सिंह सोही स्थानमा रहेको मिश्र र चौधरी इन्डस्ट्रिजमा कार्यरत थिए। गएको असार १७ गते पाडापाडी चराउन आँप बगैँचामा गएको बेला स्थानीय विनोद पंजियारकी छोरी कञ्चनलाई उनले आँप दिने बहानामा ललाइफकाइ बलात्कार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए।  

इन्ड्रट्रिजकै पछाडिको बगैँचामा बालिका कञ्चनको बलात्कार गरी मुख थुनेर हत्या गरेको सिंहले स्वीकार गरेको उनको भनाइ छ। गत असार १७ गते दिउँसो १ बजे कंचन घरबाट पाडापाडी चराउन निस्केकी थिइन्। तर साँझसम्म समेत घर नर्फिएपछि परिवार तथा आफन्तले उनको खोजतलास सुरु गरेको थियो। तर नभेटिएपछि १८ गते विहान उनका बुवा विनोद पंजियारले प्रहरीलाई खबर गरेका थिए। असार १९ गते दिउँसो साढे ११ बजे खेतमा काम गरिरहेकी स्थानीय महिलाले दुधमती नदीको किनार सिकटको झाडीमा कंचनको शव मृत अवस्थामा देखेकी थिइन्। स्थानीयले प्रहरीलाई खबर गरे लगतै प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले घटनस्थल पुगेर अनुसन्धान अघि बढाएको थियो। अर्धनग्न अवस्थामा भेटिएको उनको शव दुर्गन्धीत भइ शरीरको सम्पूर्ण भाग कालो भइसकेको अवस्थामा शव फेला परेको प्रहरी उपरीक्षक बस्नेतले बताए। ‘केही अंगहरुमा छाला फुलेको, छालाहरु खुइलिएको अवस्थामा शव भेटिएको थियो,’ उनले भने।  

यसरी भयो हत्या

चौधरी र मिश्र इन्डस्ट्रिज छेउमै रहेको बँगैचामा कंचन पाडापाटी चराउँदै थिइन्। दिपु सोही बगैँचामा आँप टिप्न पुगेका थिए। उनले आँप दिन्छु भनेर फकाउँदै कंचनलाई इन्डस्ट्रिजको पछाडि पट्टी बगैँचाको एकान्त कुनामा लगी बलात्कार गरे।  

बलात्कार गरिरहेको अवस्थामा चिच्चाएपछि मुख थुनेर कंचनको हत्या गरदिए। प्रहरी उपरीक्षक बस्नेतका अनुसार दिपुले मृत लास सोही ठाउँमा लुकाइ आफुले प्रयोग गर्दै आएको ब्लांकेटमा बेरी १८ गते विहान ३ बजे नजिकै रहेको दुधमती नदीकोे झाडीमा फालदिए। उनले उक्त कम्बल लास देखि ५० फिट पश्चिममा स्थानीय दिलिप चौधरीको धानबालीमा फालेर माथिबाट माटोले पुरेको अवस्थामा बरामद भएको थियो।  

सिसिटिभी र अन्य स्रोतहरुबाट अनुसन्धान गर्दै जाँदा दिपुले हत्या गरेको प्रहरीले सुइको पाएपछि खोजतलासको क्रममा २१ गते दिउँसो उनलाई प्रहरीले सोही इन्डस्ट्रिजबाट नियन्त्रणमा लिएको थियो। सोधपुछको क्रममा दिपुले घटना आफुले गरेको स्वीकार गरेको प्रहरी उपरिक्षक बस्नेतले बताए। कंचनको शव पोष्टमार्टमपछि उनको परिवारलाई जिम्मा लगाइएको तर रिपोर्ट आउन बाँकी रहेको उनको भनाइ छ। उनका अनुसार प्रदेश प्रहरी र संघीय प्रहरी इकाइ जनकपुरबाट संयुक्त रुपमा घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: २२ असार २०७७ ०६:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App