coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

विदेशमा अलपत्र परेकाको उद्धार जारी

दुई एयरलाइन्सले विभिन्न मुलुकबाट दैनिक औसत पाँचदेखि छवटा अन्तर्राष्ट्रिय उडान गरी समस्यामा परेका नेपालीलाई उद्धार जारी राखेका छन्। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी क्षेत्रको हिमालय एयरलाइन्सले चार्टर्ड उडान गरी उनीहरुलाई स्वदेश फर्काइरहेका हुन्।

नेपाल एयरलाइन्सले दैनिक तीनदेखि चार र हिमालयले दैनिक दुईदेखि तीन उडान भर्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। यी उडानमा कहिलेकाहीँ गन्तव्य तथा उडान सङ्ख्यामा पनि तलमाथि हुने गरेको छ। दुवै एयरलाइन्सले जुलाई महिनामा हुने उडान तालिका बनाएर धमाधम चार्टर्ड उडान गरिरहेका छन्। नेपाल एयरलाइन्सले जुलाई ११ तारिखसम्मको उडान तालिका सार्वजनिक गरेको छ। यसैगरी  हिमालयले जुलाई दुईदेखि १० सम्मको उद्धार उडान तालिका निर्धारण गरेको छ। नेपाल एयरलाइन्सले यसअघि जुन पहिलो सातादेखि महिनाभर विभिन्न मुलुकमा चार्टर्ड उडान गरी नेपालीलाई स्वदेश ल्याएको थियो।  

त्यस्तै हिमालयले जुन १६ देखि अन्तिमसम्म उद्धार उडान गरेको थियो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जुलाई महिनाको १२ तारिखसम्म मात्रै उद्धार उडान हुने जानकारी दिए। यसपछि एक÷दुई साता चार्टर्ड उडान नहुने उनले बताए। उनका अनुसार जुन महिनामा छुटेकासहित उद्धार उडान जुलाईको ११ देखि १२ तारिखसम्म हुनेछ। यसपछि दुई साता उडान हुनेछैन। सरकारले निर्णय गरेमा थप उडान हुनसक्ने जनाइएको छ।

नेपाल एयरलाइन्सका अपरेशन विभाग प्रमुख दीपुराज ज्युहार्चनले निगमको पूर्वनिर्धारित तालिकाअनुसार दैनिक तीनदेखि चार उडान भइरहेको जानकारी दिए। पछिल्लो पटक निगमको एक वाइड बडी जहाज ग्राउन्डेड भएकाले अहिले दैनिक सरदर तीन उडान भइरहेको छ। निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई वाइड बडी र दुई न्यारोबडी जहाज छन्। हिमालयसँग तीन न्यारो बडी जहाज छन्।

हिमालयले औसतमा दैनिक दुईदेखि तीन चार्टर्ड उडान गरिरहेको कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए। उनले यात्रु चार्टर्ड र केही कार्गो उडानबाहेक अहिलेलाई कुनै योजना नभएको जानकारी दिए। एयरलाइन्सले विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि जुलाई २ देखि १० सम्मको उद्धार उडान निर्धारण गरी चार्टर्ड उडान गरिरहेको छ। कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल ल्याउन सरकारले दिएको अनुमतिअनुरूप दुवै एयरलाइन्सले उडान तालिका बनाएर चार्टर्ड उडान गरिरहेका हुन्। यी एयरलाइन्सले चीनका विभिन्न गन्तव्य, बङ्गलादेश, मलेसियाको क्वालालम्पुर, साउदी अरेबियाको रियाद, दमाम, युएईको अबुधाबी, कतारको दोहा, बहराइन, कुवेत, जापानलगायत मुलुकबाट नेपाली स्वदेश फर्काउन चार्टर्ड उडान गरिरहेका छन्।

अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले दैनिक नौदेखि १६ वटा चार्टर्ड उडान हुँदै आएका छन्। असार महिनामा धेरै सङ्ख्यामा उडान भएको विमानस्थलको विवरण छ। यही असार १२ गते एकै दिन १६ अन्तर्राष्ट्रिय उडान भएको थियो। यसअघि असार १० र ११ मा दैनिक १५ उडान भए। शनिबार र आइतबार दैनिक ११ उडान भएको विमानस्थलले जनाएको छ।

प्रकाशित: २१ असार २०७७ ०८:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App