७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

करेन्ट लागेर बर्सेनि ज्यान गुमाउँदै स्थानीय

विद्युत् प्राधिकरणको लापरबाहीका कारण जिल्लाका सर्वसाधारणले अनाहकमा ज्यान गुमाउँदै आएका छन् ।  विद्युत् कार्यालय र सर्वसाधारणले नै लापरवाही गर्दा करेन्ट लागेर ज्यान जाने गरेको प्रहरीको तथ्यांकले देखाएको छ ।           

डोटीमा विभिन्न कारणले करेन्ट लागेर स्थानीयको बर्सेनि अकालमै ज्यान जाने गरेको भए पनि सम्बन्धित निकायले त्यसको रोकथामका लागि कुनै पहल चाल्न नसकेको स्थानीयको आरोप छ । जिल्ला प्रहरी कार्यालय डोटीको एक तथ्याङ्कअनुसार जिल्लाका अधिकांश ठाउँमा विद्युत् विस्तार भएको  २०७१ बाट हालसम्म २० जनाको करेन्ट लागेर मृत्यु भएको पाइएको छ ।           

अधिकांश घटनामा विद्युत् कार्यालय नै बढी जिम्मेवार रहेको उक्त तथ्याङ्कले देखाएको छ । यही असार ६ गते खानीपानीको धारामा करेन्ट प्रवाह गर्दा आदर्श गाउँपालिका–७ नवाघरकी २६ वर्षीया तुलसी थापा बागको करेन्ट लागेर मृत्यु भयो । भारतबाट गाउँमा आएका कोरोना सङ्क्रमितले पानी भर्ने गरेको भन्दै सोही वडाका स्थानीय १९ वर्षीय सुर्ज किमाडीले पानीट्याङ्कीमा करेन्ट प्रवाह गरेका कारण निज महिला थापा बागलाई करेन्ट लागेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) दिलीपसिंह देउवाले जानकारी दिए ।     

त्यसैगरी,  २०७१ मा सायल गाउँपालिकाको वडा नं १ खातीवडाका भानबहादुर साउदको भुईमा खसेको विद्युतकाे तार छुँदा घटनास्थलमै मृत्यु भयो । लत्रिएको तार व्यवस्थापन गर्न पटकपटक आग्रह गर्दा पनि विद्युत् कार्यालयले सुनुवाइ गरिएको थिएन । भुलबस साउदले लत्रिएको तार छुँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।       

त्यस्तै २०७१ कै फागुनमा विद्युत् कार्यालयका कर्मचारीको काम गर्दा गर्दै मृत्यु भयो । बाजुरा गोत्री घर भई दिपायलस्थित विद्युत् कार्यालयमा करार सेवामा काम गर्ने राजेन्द्र खत्रीले जिजौडामाण्डौमा विद्युत् लाइन तान्नका लागि पोलमा चढेका बेला कार्यालयबाट करेन्ट छोडी दिएपछि मृत्यु भएको थियो । २०७३ मा डोटीकै दिपायल सिलगढी नगरपालिका पाकरीमा इन्सुलेटर पड्केर तार झर्दा विद्यालय गइरहेका दुई बालिकाको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए ।       

उक्त घटनामा दिपायल सिलगढी नगरपालिका पाकरीका गणेश आउजीको छोरी १० वर्षीया रोजा र ८ वर्षीया रेश्माको मृत्यु भएका थियो । सोही गाउँकी १० वर्षीया कालु आउजी, ८ वर्षीया ईश्वरा आउजी, १० वर्षीया सन्तु आउजी, ७ वर्षीया सीता आउजी घाइते भएका थिए । त्यसैगरी २०७७ साल जेठ महिनामा सेती प्राविधिक शिक्षालयका एक विद्यार्थीको क्रिकेट खेल्ने क्रममा अत्तरिया दिपायल जोड्न १,१०० केभिएको हाइटेन्सन लाइनको तार छुँदा घटनास्थलमै मृत्यु भयो । उहाँले पर्खाल बाहिर रहेको क्रिकेटको बल ल्याउन पर्खाल नाघ्न खोज्न हाइटेन्सनको लाइन छुइएको थियो ।           

त्यस्तै गरी यही महिना मात्रै आदर्श गाउँपालिकाको वडा नं १ चासीमा चार युवाको मृत्यु भयो । उनीहरुले आफैँ विद्युत्को पोल सार्न खोज्दा उक्त घटना भएको थियो । स्थानीयले विद्युत् कार्यालयलाई पटकपटक सो पोल सार्न जानकारी दिँदा पनि सुनुवाइ नगरेपछि युवाले आफैँ पोल सार्न लागेका कारण करेन्ट लागेर मृत्यु भएको थियो । यद्यपि विद्युत् कार्यालयले पोल सार्नेबारे कार्यालयलाई कुनै जानकारी नदिएको दाबी गरेको थियो । घटनापछि विद्युत् कार्यालयले क्षतिपूर्तिसमेत दिएको थियो ।           

जिल्लामा बर्सेनि करेन्ट लागेर अनाहकमा स्थानीयको ज्यान जाने गरेको भए पनि विद्युत् कार्यालयले त्यसको रोकथामका लागि कुनै पहल नचालेको दिपायलका स्थानीयवासी सुदीप बोहराले बताउनुभयो । 

उनले भने, ‘डोटीमा बर्सेनि करेन्ट लागेर अनाहकमा स्थानीयले ज्यान गुमाउँदासमेत यहाँको विद्युत् कार्यालय तथा प्रहरी प्रशासनले त्यसको रोकथामका लागि कुनै पहल चालेको छैन, गैरजिम्मेवार बनेको छ ।’ 

उता शिखर नगरपालिका–१ कपल्लेकी माथि रहेको विद्युत् तार अहिले पनि भुईमा झरेको अवस्थामा रहेको छ । हावाहुरीका कारण केही महिना पहिले भुइँमा लत्रिएको उक्त तार अहिलेसम्म मर्मत नगरिएको स्थानीयवासी रमेश ऐरले बताए । साना बालबालिकाले पनि उक्त तार छुन सक्ने भएकाले करेन्ट लाग्ने सम्भावना बढी रहेको उनको भनाइ छ । विद्युत् कार्यालयमा पटकपटक उक्त पोल ठड्याउन र तार बनाउन आग्रह गरे पनि सुनुवाइ नभएको स्थानीयको आरोप छ ।           

विद्युत् कार्यालयमा भएको न्यून जनशक्ति, पुराना उपकरण, कर्मचारीको लापरवाही तथा सर्वसाधारणको जनचेतनाको कमी कमजोरीका कारण करेन्ट लागेर वर्षेनि सर्वसाधारणको मृत्यु हुने गरेको काँग्रेस नेता दीपकबहादुर विष्टले बताए  । जनचेतनाका नाममा विद्युत् कार्यालयले औपचारिता मात्र पूरा गर्ने गरेका कारण करेन्ट लागेर बर्सेनि स्थानीयको ज्यान जान थालेको उहाँको आरोप छ । उता डोटी साना जल विद्युत् कार्यालय दिपायल सवस्टेशनका प्रमुख टेकबहादुर खड्काले विद्युत् कार्यालयका केही कमजोरी भए पनि सर्वसाधारणले समेत विद्युत् र करेन्टका विषयमा सचेत हुन जरुरी रहेको बताए । 

उनले भने, ‘जिल्लाका गाउँगाउँमा विद्युत् विस्तार भएको छ, हामीसँग जनशक्ति पनि कमी छ, विद्युत् र करेन्टका विषयमा नागरिकनै चनाखो हुनु जरुरी भएको छ ।’ आगामी दिनमा विद्युत्सम्बन्धी गाउँगाउँमा जनचेतनामूलक कार्यक्रम सञ्चालनका लागि पहल भइरहेको उनले जानकारी दिए ।

प्रकाशित: १२ असार २०७७ ०५:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App