५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

संक्रमितसँगै घर फर्किनेको संख्या बढ्दै

कोरोनाको इपिसेन्टर बन्दै क्वारेन्टिन

सिरहास्थित सूर्यनारायण सत्यनारायण मरबैता यादव क्याम्पस क्वारेन्टिन । तस्बिरःनागरिक

कोरोना संक्रमण पुष्टि भएकाको संख्या लगातार बढ्दा त्रसित प्रदेशवासीका लागि निको भएर घर फर्किनेहरुको संख्याले राहत संचार गरेको छ । प्रदेश २ मा संक्रमितको संख्याको अनुपातमा निको भएर घर फर्किनेको संख्या पनि बढ्दा जनतामा त्रास घटेको हो ।

आइतबारसम्म २ हजार ९ सय २ जनामा संक्रमण पुष्टि भएकोमा ९ सय ५२ जना निको भएर घर जान पाएका हुन् । पुष्टि भएका कुल संक्रमितमध्ये निको हुने करिब ३५ प्रतिशत छ ।

समाजिक विकास मन्त्रालयका अनुसार सबैभन्दा बढी रौतहटबाट २ सय ४७ जना डिस्चार्ज भएका छन् । रौतहटमा १ हजार ४५ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न आइसोलेसन केन्द्रमा २ सय ९४ जना संक्रमित उपचाररत्त छन् । एक जना संक्रमितको क्वारेन्टिनमै मृत्यु भएको थियो । प्रदेश २ स्वास्थ्य निर्देशनालयका अनुसार सप्तरीबाट ५३, सिरहाबाट ४८, धनुषाबाट १ सय ५०, महोत्तरीबाट ८६, सर्लाहीबाट १ सय ६३, रौतहटबाट २ सय ४७, बाराबाट ७५ र पर्साबाट १ सय २५ जना र अन्य ५ जना गरी ९ सय ५२ जना डिस्चार्ज भएका छन् । अहिले ८ सय ७३ जना आइसोलेसनमा छन् ।

जिल्ला अस्पताल सिरहाका प्रमुख डा. नागेन्द्र यादवका अनुसार प्रायः सबैजसो संक्रमितहरूमा बाहिरी लक्षण नदेखिँदै दोस्रो रिपोर्ट नेगेटिभ आएको छ । ‘स्वास्थ्य मन्त्रालयले १४ दिनसम्म लक्षण नदेखिएकालाई परीक्षणबिनै घर पठाउन सकिने भने पनि यहाँका बिरामीको पीसीआरपछि पठाइएको छ,’ उनले भने, ‘लामो समय लक्षण नदेखिएका संक्रमितमा भाइरस जीवित रहने अवस्था पनि रहँदैन ।’

प्रादेशिक स्वास्थ्य निर्देशनालायका प्रवक्ता विजयकुमार झाका अनुसार अहिलेसम्म यस प्रदेशमा कोहि पनि संक्रमितलाई आयूसीयू र भेन्टिलेटर आवश्यक परेको छैन ।  

चैत २९ गत्ते वीरगंज महानगरपालिकाको छपकैयामा तीन जनामा देखिएको संक्रमण प्रदेश २ का लागि पहिलो केस थियो । त्यसयता यस प्रदेशका ८ वटै जिल्लामा संक्रमण फैलिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार आइतबारसम्म ३० हजार ३ सय ४ जनाको स्वाब परीक्षण गरिएको छ । संक्रमण पुष्टि भएकामध्ये २ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाको इपिसेन्टर बन्दै क्वारेन्टिन

सिरहाको शूर्यनारायण सत्यनारायण मरवैता यादव क्याम्पस क्वारेन्टिन कोरोनको इपिसेन्टर बन्दै छ । यस क्वारेनिटनबाट आइतबार एकै दिन ५२ जनामा संक्रमण पुष्टि भएकोे छ । यसअघि यस क्वारेन्टिनका ३३ जनामा संक्रमण पुष्टि भइसेको क्वारेन्टिन संयोजक सुरेश चोरबारले बताए । यो क्वारेन्टिन कोरोना संक्रमणको कारखाना बन्नुको कारण हो, अव्यवस्था । भारतबाट आएकाहरुलाई अव्यवस्थित तरिकाले राखिएकै कारण यो क्वारेन्टिन संक्रमणको घर बनेको छ । भारतबाट आउने सिरहाबासीलाई सीमाबाट टिपरमा कोचेर यस क्वारेन्टिनमा पुर्याइन्छ । क्वारेन्टिनमा पनि उनीहरु सामूहिक रुपमै एकअर्कासँग घुलमिल गर्छन् । एकले अर्काको मोबाइल चलाउँछन् । एकले माडेर दिएको सुर्ती अर्कोले खान्छन ।    

क्वारेन्टिन संयोजक सुरेश चोरबारका अनुसार जती भन्दा पनि उनीहरु आपसमा घुलमिल गरिहाल्दो रहेछ । यस क्वारेन्टिनमा संक्रमितको संख्या बढ्दै गएपछि व्यवस्थापन चौतीपूर्ण बनेको चोरबारको भनाई छ । संक्रमित थपिँदै गएपछिसबै डराएका छन ।

जिल्ला स्वास्थ्य प्रमुख कृष्णदेव यादवका अनुसार असार ४ गते यस क्वारेन्टिनका करिब २ सय ६ जनाको स्वाब संकलन गरिएको थियो । आइतबार रिपोर्ट आउँदा ५२ जनामा संक्रमण पुष्टि भएको छ । यसै क्वारेन्टिनका २ सय ४९ जनाको पिसिआर परीक्षण रिपोर्ट एक महिना हुन लाग्दा समेत आएको छैन । उनीहरुलाई घर पठाइसकिएको यादवले भने ।

प्रकाशित: ७ असार २०७७ १४:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App